१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

डेब्युमा नेपालको निरस प्रदर्शन

ऐतिहासिक भेट: नेपालविरुद्ध ब्याटिङ गर्दै पाकिस्तानका मोहम्मद रिजवान। यो नेपालको एसिया कपमा डेब्यु खेल पनि हो । तस्बिर: एएफपी

आइसिसी एकदिवसीय वरीयताको शीर्ष टोली पाकिस्तानसँग बुधबार २३८ रनको पराजय बेहोरेसँगै नेपाल एसिया कपको डेब्यु खेल यादगार बनाउन असफल भएको छ।

बुधबार एसिया कपमा डेब्यु गरेको नेपालले ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रदर्शन गर्न सकेन र मुल्तानमा घरेलु टोली पाकिस्तानसँग फराकिलो हार बेहोर्न बाध्य भयो। ३४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमा नै अलआउट हुन पुग्यो। पहिलो ओभरमा नै दुई विकेट गुमाएको नेपाल समालिन नै सकेन। ओपनर कुशल भुर्तेल ८ रनमा आउट हुँदा त्यसपछि आएका कप्तान रोहित पौडेल पनि खाता खोल्न नै असफल भए। दुवै पाकिस्तानका तीव्र गतिका बलर साहिन साह अफ्रिदीको शिकार भए। त्यसपछि अर्का ओपनर आसिफ शेख पनि ५ रनमा नै पवेलियन फर्किए। यससँगै १.४ ओभरमा नेपाल १४÷३ नाजुक अवस्था पुग्यो।  

तर, चौथो विकेटका लागि सोमपाल कामी र आरिफ शेखले ५९ रनको साझेदारी गर्दै नेपालको इनिङ उकास्ने प्रयास गरे। पाकिस्तानका अर्का तीव्र गतिका बलर हरिस रउफले आरिफलाई २६ रनमा पवेलियन फर्काउँदै यो साझेदारी तोडे। त्यसपछि फेरि सुरु भयो नेपालको धरासायी ब्याटिङ। १६.६ ओभरमा सोमपाल पनि पवेलियन फर्किए। उनी २८ रनमा रउफकै बलमा आउट भए। त्यसपछि गुल्सन झाले १३ रन जोडे। त्यसबाहेक कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन् र नेपाल १०४ रनमा नै समेटियो। पाकिस्तानको बलिङमा सादब खानले सर्वाधिक चार विकेट तथा अफ्रिदी र रउफले समान दुई विकेट लिँदै नेपालको इनिङ धरासयी बनाए।  

नसिम साह र मोहम्मद नवाजको खातामा समान एक विकेट निकाल्दै नेपाललाई फराकिलो हार चखाए। यससँगै सन् २०१८ एकदिवसीय मान्यता पाएको नेपालले यो फरम्याटमा अहिलेसम्मकै फराकिलो हार सामना ग¥यो। यद्यपि, टस हारेर पहिले बलिङ गर्ने निम्तो पाएको नेपालले राम्रो सुरुआत गरेको थियो। विश्व नम्बर एक टोली पाकिस्तानविरुद्ध नेपालले पहिलो पावरप्लेमा राम्रै बलिङ प्रदर्शन गर्दै आशा दिलाएको थियो। नेपालले पहिलो पावर प्लेमा कसिलो बलिङ गर्दा पाकिस्तान ४४÷२ को अवस्थामा थियो। नेपालले पहिलो सात ओभरभित्र नै पाकिस्तानका ओपनरद्वय फखर जमानलाई १४ रन र इमाम उल हकलाई ५ रनमा आउट गर्दै घरेलु टोलीमाथि दबाब बनायो।

तर, विश्व नम्बर एक ब्याटर बाबर आजम र इफ्तिखर अहमद चम्किँएपछि पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाउँदै ३४२ रनको योगफल खडा ग¥यो। कप्तान बाबरले १३१ बलमा १५१ रन  जोड्दा इफ्तिखरले ७१ बलमा  १०९ रनको सतकीय इनिङ खेले। एकदिवसीयमा इफ्तिखरको यो पहिलो सतक पनि हो। नेपालले २८ ओभरसम्म पाकिस्तानलाई १२४÷४ मा रोकेको थियो। तर, अन्तिम २२ ओभरमा पाकिस्तानका बाबर र इफ्तिखर आक्रामक बने। यो जोडीले पाँचौं विकेटका लागि २१४ रन बनाए। पाँचौं विकेटका लागि यो साझेदारी पाकिस्तानको अहिलेसम्मकै ठूलो हो।  

बाबरले १४ चौका र चार छक्का हिर्काए। नटआउट रहेका इफ्तिखरले ११ चौका र चार छक्का प्रहार गरे। पाकिस्तानले अन्तिम १० ओभरमा १२९ रन जोडेको थियो। अन्तिम पाँचौं ओभरमा ६७ रन खर्चिएपछि नेपाल विशाल लक्ष्य सामना गर्न बाध्य भयो। खराब फिल्डिङ गरेको नेपालका करण केसीले बाबरलाई ५५ रनमा कट एन्ड बोल्ड गर्ने अवसर गुमाउन पुगे। त्यस अघि बाबरले तेस्रो विकेटका लागि मोहम्मद रिजवानसँग ८६ रनको साझेदारी गरे। रिजवान ४४ रनमा रनआउट हुनपुगे। आघा सलमान ५ रनमा नै सन्दीप लामिछानेद्वारा आउट भए। यससँगै पाकिस्तानले २८ ओभरमा चार विकेटको क्षतिमा १२४ रन मात्र जोडेको थियो। तर, नेपालका बलरले त्यो लय कायम राख्न सकेनन्। नेपालको बलिङमा सोमपाल कामीले सर्वाधिक दुई विकेट लिँदा ८५ रन खर्चिए।  

१० ओभर बलिङ गरेका सोमपालको यो करियरकै खर्चिलो प्रदर्शन पनि हो। करण र सन्दीपले समान एक विकेट लिए पनि खर्चिलो साबित भए। नेपालले आफ्नो समूह ‘ए’ को दोस्रो खेल सोमबार श्रीलंकामा भारतविरुद्ध खेल्नेछ। त्यसअघि पाकिस्तान र भारतबीच श्रीलंकामा नै शनिबार प्रतिस्पधा हुनेछ। 

प्रकाशित: १४ भाद्र २०८० ०१:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App