१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

यु–१९ साफ च्याम्पियनसिपको तयारी सुरु

आयोजक नेपालले साफ यु–१९ फुटबल च्याम्पियनसिप २०२३ को तयारी सुरु गरेको छ।

दोस्रो संस्करणको यु–१९ साफ च्याम्पियनसिप नेपालले आयोजना गर्दैछ। आगामी असोज चार गते दशरथ रंगशालामा हुने च्याम्पियनसिपका लागि नेपालले तयारी थालेको हो।

सोही प्रतियोगितालाई लक्षित गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले जिल्ला, प्रदेश र केन्द्रको छनोटबाट कुल ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा समेत राखेको छ।

मुख्य प्रशिक्षक सुनिलकुमार श्रेष्ठको नेतृत्वमा खेलाडी छनोट गरिएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए। एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले फिफाको कन्ट्रोल फण्डिङ रहेको र उमेर समूहको प्रतियोगिता प्रायोजक पाउने कठिनाई भएकाले प्रतियोगिता बिना नै खुला छनोट टिम निर्माण गर्न बाध्य भएको बताए।

खेलाडीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबारदेखि नै प्रशिक्षण सुरु गरेका छन्। यस संस्करणको यु–१९ साफ च्याम्पियनसिपमा नेपाल समूूह ‘ए’ मा छ। उक्त समूहमा नेपालले पाकिस्तान र माल्दिभ्सको सामना गर्नेछ। अर्को समूह ‘बी’ मा भारत, भुटान र बंगलादेश छन्। नेपालले आगामी सेप्टेम्बर २१ मा पाकिस्तानबिरुद्ध दशरथ रंगशालामा खेल्दै च्याम्पियनसिपको शुरुवात गर्नेछ। त्यसपछि नेपालले सेप्टेम्बर २३ मा माल्दिभ्ससँग खेल्ने तय छ।

पछिल्लो संस्करणको यु–१९ साफ च्याम्पियनसिप सन् २०१५ मा नेपालमा नै आयोजना भएको थियो। उक्त संस्करणमा नेपालले फाइनलमा भारतलाई हराउँदै उपाधि जितेको थियो। त्यतिबेला नेपाललाई उक्त उपाधि दिलाउन सफल विमल घर्तीमगर, अञ्जन विष्ट, अनन्त तामाङ, सुनिल बल र तेज तामाङ हुन्। यही टोलीका अधिकांश खेलाडीले पछि सिनियर राष्ट्रिय टोलीमा समेत वर्चस्व राखेका थिए। यो टोली अहिलेसम्मकै उत्कृष्ट ब्याच मानिने गरिन्छ।

यस पटक पनि घरेलु मैदानमा नै यु–१९ साफ च्याम्पियनसिप हुने भएकाले नेपालले यसको दाबेदारी प्रश्तुत गर्ने लक्ष्य राखेको छ। एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले पनि घरेलु मैदानमा हुने प्रतियोगितामा नेपालको पनि दाबेदारी रहने विश्वास व्यक्त गरे।

एन्फाले यस प्रतियोगिताका लागि टिकेटिङ अधिकारलगायत अन्य व्यवस्थापकीय पाटोमा सूचना जारी गरिसकेको जनाएको छ। साथै सहभागी टोलीलाई पनि नेपाल आर्मीको खेल मैदान भद्रकाली र च्यासलस्थित खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था मिलाउने जनाएको छ। प्रतियोगिताका लागि करिव दुई करोड ७७ लाख ३२ हजार बराबर खर्च हुने एन्फाको अनुमान छ।

प्रकाशित: ४ भाद्र २०८० १३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App