२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

इङ्ल्यान्डविरुद्ध स्पेन कसले रच्ला इतिहास ?

‘इट्स कमिङ होम’ भन्ने नारा वास्तविकताबाट एक खेल टाढा रहँदा विश्वकप फुटबलमा पनि इङ्ल्यान्डको ५७ वर्षको उपाधि खडेरीको अन्त्यनजिक छ।

फुटबलको जन्मभूमिमा आइतबार सन् १९६६ पछि विश्वकप ट्रफी फर्कन सक्छ। यो खुसी इङ्ल्यान्डको पुरुष होइन महिला टोलीले दिलाउने भएको हो। महिला विश्वकपको पहिलो फाइनलमा इङ्ल्यान्डको महिला टोलीले आइतबार स्पेनविरुद्ध चुनौती प्रस्तुत गर्नेछ। सन् २००३ मा जर्मनीले स्विडेनलाई हराएपछि पहिलो पटक महिला विश्वकपका दुवै फाइनलिस्ट युरोपियन हुन्। यहाँसम्मको यात्रा तय गर्न दुवै टोलीले अदभुत प्रदर्शन गरेका छन्। गत वर्ष युरोपियन च्याम्पियन जितेपछि इङ्ल्यान्ड महिला फुटबलमा बलियो टोलीका रूपमा उभिँदै आएको छ।  

स्पेन भने पहिलो पटक महिला फुटबलको ठूला प्रतियोगितामा फाइनल पुगेको हो। गत सेम्टेम्बरमा १५ खेलाडीले प्रशिक्षकको खेल्ने शैली र छनोट प्रक्रियाप्रति प्रश्न उठाउँदै विद्रोह गरेका थिए। त्यससँगै ती खेलाडीमध्ये धेरैलाई टोलीबाट हटाइएको थियो। यता, इङ्ल्यान्डलाई भने यो विश्वकपमा दाबेदारमध्ये एकका रूपमा हेरिएको थियो। त्यसैले पनि इङ्ल्यान्डका समर्थक ‘इट्स कमिङ होम’ अर्थात् विश्वकप ट्रफी घरमा आउने भन्दै गाउने गर्छन्।  

इङ्ल्यान्डले सन् १९६६ पछि विश्वकपको ट्रफी जित्न सकेको छैन। त्यति बेला पुरुष टोलीले त्यो सफलता दिलाएको थियो भने ५७ वर्षपछि महिला टोली त्यो इतिहास दोहोर्याउने लक्ष्यमा छ। जुन उनीहरूका लागि पहिलो महिला विश्वकप फाइनल पनि हो। इङ्ल्यान्डलाई यो यात्रामा प्रशिक्षक सरिना विगमेनले डोर्याएकी हुन्, जो सन् २०२१ मा पहिलो गैरबेलायती प्रशिक्षकका रूपमा भित्रिएकी थिइन्। उनै विगमेनले टोलीलाई लगातार दोस्रो ठूलो प्रतियोगिताको फाइनल पुर्याएकी हुन्। विगमेन लगातार दोस्रो पटक आफ्नो प्रशिक्षणमा रहेको टोलीलाई फाइनलसम्म पुर्याउन सफल भइन्।  

उनको यो विश्वकपको इतिहासमा पहिलो पटक हो, जसले दुई राष्ट्रलाई फाइनलमा पुर्याइन्। विगमेनकै प्रशिक्षणमा नेदरल्यान्ड्स सन् २०१९ को महिला विश्वकपको फाइनलमा पुगेको थियो। त्यो फाइनल भने डच टोलीले २–० ले गुमाउन पुग्यो र विगमेन रित्तो हात फर्क बाध्य भइन्।  

सेमिफाइनलमा आयोजक अस्ट्रेलियालाई ३–१ ले हराउँदै इङ्ल्यान्डले उपाधि भिडन्त तय गरेको हो। आफ्नो टोलीकी सर्वाधिक गोलकर्ता लाउरेन जेम्सबिना पनि इङ्ल्यान्डले लगातार दोस्रो जित निकालेको छ। नकआउट चरणमा नाइजेरियाकी खेलाडीमाथि निकै खराब ट्याकल हानेपछि उनी कोलम्बिया र अस्ट्रेलियासँगको खेलमा प्रतिबन्धमा परेकी थिइन्। २१ वर्षीया लाउरेनले त्यो घटनालाई लिएर आफ्ना सहकर्मीसँग माफी पनि मागेकी थिइन्। चेल्सीकै मिडफिल्डर लाउरेनले तीन गोल र तीन एसिस्ट गरिसकेकी छिन्। स्पेनले भने खेलाडीहरूको विद्रोहका बावजुद फाइनलमा पुगेर कयौं अपेक्षाभन्दा फरक नतिजा दिलायो।  

विद्रोह गरेका खेलाडीको मानसिक स्वास्थ्यसम्बन्धी चिन्ता व्यक्त गर्दै फेडेरेसनले नयाँ टोली बनाएको थियो। विद्रोह गर्ने खेलाडीमध्ये तीन सदस्य अहिले पनि स्पेनको टोलीमा छन्। मिडफिल्डर एटना बोनमटी, फरवार्ड मोरिओना काल्डेन्टे र डिफेन्डर ओना ब्याटललाई भने फेडेरेसनले टोलीमा राखेको थियो।

स्पेनले मंगलबार स्विडेनलाई २–१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो। यो जितमा साल्मा पारालुएलोले ८१औं मिनेटमा अग्रता दिलाएकी थिइन्। त्यसको केही समयमा नै स्विडेनले गोल फर्काए पनि अन्तिम क्षणमा स्पेनले दोस्रो गोल गर्दै जित निकाल्यो। १९ वर्षीया साल्मा शुक्रबार अभ्यासका क्रममा घुँडामा चोटको उपचार गराइरहेकी थिइन्। नेदरल्यान्ड्सविरुद्ध क्वार्टरफाइनलमा पनि अन्तिम समयमा नै गोल गरेकी साल्माको चोट कस्तो हो त्यसबारे स्पष्ट छैन।  

‘मैले उनी (साल्मा)विरुद्ध जहिल्यै पनि अभ्यासमा खेल्ने गरेकी छु। यो विश्वकपभन्दा अगाडि नै उनको क्षमताबारे जानकार छु। जसरी उनले स्पेनका लागि उत्कृष्ट गरिरहेकी छन् त्यो मैले अभ्यासमा नै देखेकी छु,’ बार्सिलोनाकी सहकर्मी एवम्  

इङ्ल्यान्डकी लुसी ब्रोन्जले भनिन्। स्पेनको टोलीमा रहेका धेरै नै बार्सिलोनाबाट खेल्छन्। यता, इङ्ल्यान्डका दुई खेलाडी पनि बार्सिलोनाकै हुन्। स्पेनबाट आशा गरिएकी एलेक्सिया पुतेयास अझै लयमा नफर्कनु टोलीका लागि चिन्ताको विषय बनेको छ।  

युरोपियन च्याम्पियनसिपअगाडि नै चोट बोकेकी बार्सिलोनाकी स्टार एलेक्सिया दुई पटक बालोन डि’अर विजेतासमेत हुन्। तर, उनको स्थानमा बोनमटीले प्लेमेकिङको भूमिका निर्वाह गर्दै आइरहेकी छन्। सन् २०१० मा स्पेनको पुरुष टोलीले जस्तै अप्रत्याशित रूपमा उपाधि जित्ने अवसर स्पेनको महिला टोलीले पनि पाएको छ। अहिलेसम्म महिला फुटबलका ठूला उपाधि जित्न नसकेको स्पेनको महिला टोली पनि नयाँ उपाधि देशमा भिœयाउने लक्ष्यमा छ।  

प्रकाशित: २ भाद्र २०८० ०१:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App