१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

इङ्ल्यान्डलाई अविश्वसनीय अवसर

इङ्लिस महिला फुटबल टोलीकी कप्तान मिली ब्राइटले सन् १९६६ मा पछि विश्वकप जित्न असफल आफ्नो राष्ट्रलाई त्यो सफलता दोहोर्याउन अविश्वसनीय अवसर प्राप्त भएको बताएकी छन्।

महिला विश्वकप फाइनलमा आयोजक अस्ट्रेलियालाई ३–१ ले पराजित गरेको इङ्ल्यान्डले आइतबार स्पेनको सामना गर्दै छ। यससँगै इङ्ल्यान्डलाई ५७ वर्षअघि बबी मोरेले दिलाएको विश्वकप फुटबल उपाधिको सफलता दोहोर्याउन इङ्लिस महिला टोलीलाई अवसर प्राप्त भएको छ। ‘हाम्रो देश र समर्थकहरूका लागि खुसी छु,’ चेल्सीकी स्ट्राइकर ब्राइटले भनिन्, ‘अहिले यहाँसम्म आउन पाउनु विशेष हो। यसअघि हामीले यो सफलता लामो समयसम्म पाउन सकेनौं। तर, अहिले हामीलाई अविश्वसनीय अवसर प्राप्त भएको छ।’  

युरोपियन च्याम्पियन इङ्लिस महिला टोलीले अट्याकिङसँगै डिफेन्समा पनि राम्रो गर्दै फाइनलसम्मको यात्रा तय भएको छ। महिला टोलीको यो सफलता उनीहरूमा रहेको क्षमताबाट प्राप्त गरेको हो। साथै गत वर्ष  

इङ्ल्यान्डलाई युरोपियन च्याम्पियन बनाएकी सेरेना विगमेनको उत्कृष्ट रणनीतिले पनि यस किसिमको सफलता मिलेको थियो।

‘हामीले यहाँ हरेक किसिमले विजय प्राप्त गर्यौं। सँगै धेरै चुनौती पनि सामना गर्नुपर्यो,’ब्राइटले भनिन्,‘यहाँसम्म आइपुग्ने हामीले केके गर्यौं भन्ने खेलाडीलाई मात्र थाहा छ। हरेक खेलमा हामीले केही फरक गरेका छौं। हाम्रो क्षमतामा कसरी सुधार गर्न सक्छौं भनेर हामीले धेरै काम गरेका छौं।’  

स्पेनका लागि पनि यो सफलता अद्भुत हो। किनकि अस्तव्यस्त वातावरणबीचको तयारीले पनि स्पेनलाई यो सफलता दिलाएको छ। गत सेप्टेम्बरमा स्पेनका १५ खेलाडीले टोली छनोटको विषयलाई लिएर असन्तुष्टि व्यक्त गर्दै फेडेरेसनलाई इमेल पठाएका थिए। इमेलमा उनीहरूले प्रशिक्षकको शैलीमा पनि प्रश्न उठाएका थिए। तर, खेलाडीको त्यो विद्रोहलाई प्रशिक्षक जर्ज भिल्डाले प्रतिक्रिया दिए। उनै भिल्डाले विद्रोह गरेका धेरै खेलाडीलाई हटाउँदै नयाँ टोली निर्माण गरे र सोही टोलीले यो सफलता प्राप्त गरेको हो। यता, विगमेनको टोलीलाई भने दाबेदारकै रूपमा हेरिएको थियो। योसँगै डच प्रशिक्षक विगमेन मुख्य चार प्रतियोगितामा फाइनलसम्म यात्रा तय गर्न सफल भएकी छन्। सन् २०१७ मा नेदरल्यान्ड्सलाई युरोपियन च्याम्पियन बनाएकी विगमेनले सन् २०१९ को विश्वकप फाइनलमा पनि पुर्याएकी थिइन्। तर, विश्वकप फाइनलमा भने उनको टोली अमेरिकासँग स्तब्ध बनेको थियो। त्यसपछि उनले इङ्ल्यान्डलाई घरेलु मैदानमा युरोपियन च्याम्पियनको सफलता दिलाइन्। विगमेनको त्यो सफलताको यात्रा त्यसैमा सीमित रहेन। जारी विश्वकपमा पनि उनी इङ्ल्यान्डलाई फाइनलमा पुर्याउन सफल भइन्। ‘सन् २०१७ पनि फाइनलमा पुगेका थियौं। त्यो मेरा लागि विशेष क्षण थियो। त्यस्तो अवसर बिरलै पाइन्छ,’विगमेनले भनिन्, ‘त्यसपछि दोस्रो, तेस्रो र चौथो पटक त्यस किसिमको सफलता पाएँ। अझ पनि यो सफलता पाउँदिनँ जस्तो लाग्छ। यो सफलताका लागि टोलीप्रति गर्व गर्न चाहन्छु।’ 

प्रकाशित: १ भाद्र २०८० ०१:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App