२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

दोस्रो सिजन पनि लयमा हालान्ड

इर्लिङ हालान्डले प्रिमियर लिगमा आफ्नो दोस्रो सिजन पनि उत्कृष्ट लय जारी राख्दै दुई गोल गरेपछि म्यानचेस्टर सिटीले उपाधि रक्षाको यात्रा सुखद बनाएको छ।

नर्वेली स्ट्राइकर हालान्डले आफ्नो उत्कृष्ट लय सिजनको सुरुआतमा पनि जारी राख्दा शुक्रबार सिटीले घरेलु टोली बर्नलीलाई ३-० ले स्तब्ध बनाएको हो। हालान्डले खेलको चौथो र ३६औं मिनेटमा गोल गरे।

डिफेन्सिभ मिडफिल्डर रोड्रीले तेस्रो गोल गरेपछि सिटीले बर्नलीमाथि सहज जित निकाल्यो। सिटीकै पूर्वस्टार खेलाडी भिनसेन्ट कोम्पनीले प्रशिक्षकका रूपमा शीर्ष डिभिजनमा डेब्यु गरेको खेलमा बर्नलीले सहज हार आत्मसात् गर्नुपर्‍यो।

कोम्पनीकै प्रशिक्षणमा बर्नली यसै सिजन मात्र प्रिमियर लिगमा बढुवा भएको हो। पछिल्ला सिजन म्यानचेस्टर सिटीको सफलतामा हालान्ड नायक रहे।

त्यो सिजन उनले सबै प्रतियोगितामा गरेर ५२ गोल गरेका थिए। जुन लिगमा मात्र उनको नाममा ३६ गोल रह्यो। उनकै प्रेरणामा पेप ग्वार्डिओलाको टोली सिटीले प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिगसहित तीन उपाधि जित्यो।

गत सिजन लिगको पहिलो खेलमा वेस्ट ह्यामविरुद्ध पनि हालान्डले दुई गोल नै गर्दै आफ्नो आगमन सुखद रहने संकेत दिएका थिए। यस पटक बर्नलीको मैदान टर्फ मुरमा पनि उनले सोही किसिमको लय जारी राख्ने संकेत गरेका छन्। म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओला पहिलो हाफ सकिएलगत्तै हालान्डतर्फ अगाडि बढे र उनीसँगै टनलबाट बाहिरिए।

‘हामी एउटा म्याराथनको सुरुआती चरणमा मात्र छौं। त्यसैले कुनै पनि तनाव छैन र आनन्द लिइरहेका छौं,’ हालान्डले भने, ‘मैले सुधार जारी राख्नुपर्छ र मैदानमा प्रदर्शन देखाउनुपर्छ।’

इङ्ल्यान्डको शीर्ष लिगमा लगातार चौथो उपाधि जित्ने लक्ष्यमा रहेको सिटीका लागि त्यति उत्कृष्ट सुरुआत भने रहेन। गत च्याम्पियन्स लिग फाइनलमा ह्यामस्ट्रिङ समस्यामा रहेका केभिन डी ब्रुएना खेलको २३औं मिनेटमा नै मैदानबाट बाहिरिन पुगे। प्रशिक्षक ग्वार्डिओलाले उनलाई पछिल्ला समस्याले सताइरहेको बताए।

खेलको पहिलो हाफमा सिटीका डिफेन्डर रिको लेविस बर्नलीका दर्शकबाट लेजर लाइट देखाएपछि लड्न पुगे। एक सिजनपछि प्रिमियर लिगमा फर्किएको बर्नलीले ती दर्शकलाई स्टेडियममा निकालेका थियो। पछिल्ला ६ खेलमा हालान्डले गोल गर्न सकेका थिएनन्।

गत आइतबार कम्युनिटी सिल्डमा आर्सनलसँग पेनाल्टी सुटआउट पराजित हुँदा पनि उनी गोल गर्न असफल रहे। गत च्याम्पियन्स लिग फाइनलमा इन्टर मिलानविरुद्ध गोल गरेका रोड्रीले सिजनको सुरुआतमा पनि गोल गरे। नजिकै दूरीबाट उनले सिटीको तेस्रो गोल गरेका हुन्।

आर्सनलको पनि सुखद सुरुआत

आर्सनलले पनि यस सिजनको प्रिमियर लिगमा आफ्नो दाबेदारी रहने संकेत गर्दा शनिबार नटिंघम फरेस्टमाथि २–१ को जित निकालेको छ।

पहिलो हाफमा इडिई एनकेटिया र बुकायो साकाको गोल नै आर्सनललाई इमिरेट्समा सुखद सुरुआत गर्न पर्याप्त बन्यो। खेल सकिन सात मिनेट बाँकी छँदा टाइयो एओनिइले गोल गर्दै खेलमा फर्किने संकेत गरे पनि नटिंघमले सफलता पाउन सकेन।

ई-टिकेटिङमा समस्या भएको भन्दै खेल ३० मिनेट ढिला गरी सुरु भएको थियो। ई-टिकेटिङका  कारण हजारौं समर्थकले सिट प्राप्त गर्न समस्या हुन पुग्यो। यो खेलमा डिक्लेन राइस, काई हाभाज्र्ट र युरियन टिम्बरले आर्सनलबाट डेब्यु गर्न पाए।

यी तीन कुल २५४ मिलियन डलरमा आर्सनलमा अनुबन्धित भएका हुन्। तर, टिम्बर दोस्रो हाफमा चोटका कारण बाहिरिन पुगे। यद्यपि, उक्त खेलमा मिकेल आर्टेटाको टोलीले तीन अंक प्राप्त गर्‍यो। गत सिजन लिगमा दोस्रो स्थानमा रहेको आर्सनलले यस सिजन पनि सुखद नतिजा ल्याउँदै दाबेदार दिने संकेत गरेको छ।  

प्रकाशित: २८ श्रावण २०८० ०४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App