२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

लगातार चौथो उपाधि जित्ने लक्ष्यमा सिटी

म्यानचेस्टर सिटीले शुक्रबार बर्नलीविरुद्ध प्रतिस्पर्धा गर्दा इङ्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु भएसँगै लगातार चौथो उपाधि जित्ने लक्ष्यमा हुनेछ।  

आर्सनल पनि सिटीले पछिल्ला समय प्रभुत्व जमाइरहेको इङ्लिस फुटबलमा आफ्नो स्थान बनाउने लक्ष्यका साथ मैदान मैदानमा उत्रनेछ। घरेलु मैदानमा शनिबार नटिङ्घम फरेस्टविरुद्ध प्रतिस्पर्धा गर्दा आर्सनल पनि जित निकाल्दै नयाँ सिजनको सुखद सुरुआत गर्ने लक्ष्यमा हुनेछ। यता, सिजनको सुरुआतमा नै चेल्सी र लिभरपुल भिड्दा आफूलाई प्रमाणित गर्ने अवसर पाउनेछन्। आइतबार चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा दुई भिड्दै छन्। पछिल्ला सिजन सुखद नरहेको यी दुई टोली बलियो प्रतिद्वन्द्वीसँगको खेलबाट यस पटक आफू बलियो रहेको संकेत दिन चाहन्छन्।  

गत सिजन नाटकीय रूपमा सिटीका लागि यादगार रह्यो। यस क्रममा सिटीले प्रिमियर लिग, एफए कपसहित च्याम्पियन्स लिगको उपाधि उचाल्दै इतिहास कायम गरेको थियो। सोही लय जारी राख्न पनि सिटी शुक्रबार उत्कृष्ट नतिजा निकाल्ने योजनामा छ। यद्यपि, पेप ग्वार्डिओलाको टोली सिटीका लागि यो समर सिजन त्यति सहज भने हुने छैन। किनकि सिटीका स्टार खेलाडी एवम् कप्तान इल्के गुन्डोगान बार्सिलोना गएका छन् भने अर्का स्टार रियाद महारेजले साउदी अरबको लिग रोजे। अहिले सिटी कायल वाल्कर र बर्नाडो सिल्भालाई टोलीमा नै राख्न संघर्ष गरिरहेको छ। यस सिजन सिटीले दुईवटा खेलाडी मात्र अनुबन्धित गरेको छ।

यस सिजन क्रोएसियाका स्टारद्वय माटिओ कोभासिच र यस्को भार्डिओल सिटीमा अनुबन्धित भएका छन्। शुक्रबार ग्वार्डिओलाको सिटीले इतिहाद बाहिर बर्नलीको सामना गर्दै छ। एक समय सिटीकै सफलताका स्टार फुटबलर भिनसेन्ट कोम्पनी बर्नलीको प्रशिक्षकको जिम्मेवारीमा छन्। बेल्जियमका पूर्वकप्तान समेह रहेका कोम्पनीले आर्थिक संकटबाट गुज्रिरहेको बर्नलीलाई सात खेल बाँकी छँदा नै प्रिमियर लिगमा फर्काएका थिए। त्यसैले पनि उनी बर्नलीका उत्कष्ट प्रशिक्षक हुन्, जो पूर्वक्लब सिटीको पहिलो चुनौती बन्न सक्छन्।

ग्वार्डिओलाबाटै प्रभावित कोम्पनीले पनि बर्नलीमा उनकै रणनीति अवलम्बन गरेका छन्। त्यसकारण बर्नलीले जतिसक्दो धेरै बल आफ्नो पक्षमा राख्दै विपक्षीविरुद्ध दबाब बनाउन सक्नेछ। ‘सिटीकै स्तरका टोलीसँग हरेक हप्ता, महिना र वर्ष खेल्नेछौं। त्यो माध्यमबाट नै हाम्रो स्तर सुधार आउनेछ,’ कोम्पनीले भने, ‘अहिले नै बलियो टोली सिटीविरुद्ध हराउन सक्छौ भन्दैनौं। किनकी सम्भवतः उनीहरू विश्वकै उत्कृष्ट टोली हुन्। तर, उनीहरूभन्दा फरक भने हुने छैन।’ गत सिजन एफए कपको क्वार्टरफाइनलमा सिटीसँग ६–० को लज्जास्पद हार बेहोरेको बर्नली यस पटक भने बदला लिने योजनामा छ। 

प्रकाशित: २६ श्रावण २०८० ०२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App