३ पुस २०८१ बुधबार
image/svg+xml
खेल

पुलिस र संकटाको फराकिलो जित

नेपाल पुलिस क्लब र संकटा क्लबले जारी एन्फा यु–१६ युथ फुटबल लिगमा फराकिलो जित निकालेका छन्।  

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा शनिबार पुलिसले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबमाथि ६–१ र संकटाले एफसी खुमलाटारमाथि ५–१ को फराकिलो जित निकालेका हुन्। ललितपुरस्थित च्यासल स्टेडियममा शनिबार पुलिसले विभागीय डर्बीमा रबाफिलो जित आत्मसात् गरेको हो। पुलिसको जितमा सुवास बम र नवीन ओलीले दुई गोल तथा निश्चिल मगर र लक्ष्मण थामीले समान एक गोल गरे। खेलको १८औं मिनेटमा नै नवीनले गोल गर्दै पुलिसलाई अग्रता दिलाए।  

तर, ३४औं मिनेटमा अनुभव पुरीले गोल फर्काउँदै आर्मीलाई खेलमा फर्काए। दोस्रो हाफमा भने पुलिसले गोलको वर्षा नै गर्दै पाँच गोल गर्यो। ५२औं मिनेटमा लक्ष्मण थामीले गोल गर्दै अग्रता दोब्बर पारे। त्यसको दुई मिनेटमा नै नवीन ओलीले पुलिसको तेस्रो गोल थपे। अन्तिम १० मिनेटमा पुलिसले तीन गोल थपेपछि रबाफिलो जित निकाल्यो। सुवासले ८१औं मिनेट र ९०औं मिनेटमा गोल गरेका थिए। खेलको इन्जुरी समयमा निश्चिल मगरले गोल थप्दा पुलिस विभागीय टोलीमाथि पूर्ण हाबी भयो।  

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको अर्को खेलमा संकटा क्लबले पनि एफसी खुमलटारमाथि ५–१ को फराकिलो जित निकाल्यो। संकटाको जितमा कृष्णबहादुर आलेले दुई गोल गर्दा दिलन लिम्बु, सौरभ तामाङ र रूपेश भुजेलले समान एक गोल थपे। खेलको २३औं मिनेटमा आर्यनकाजी थापाले गोल गर्दै खुमलटारलाई बराबरीमा ल्याए पनि टोलीले त्यसलाई जोगाउन सकेन। शनिबार भएको तेस्रो खेलमा एपिएफ र चर्च ब्वाइज क्लबले १–१ को बराबरीमा खेले। एपिएफले अग्रता जोगाउन नसक्दा चर्च ब्वाइजले एक अंक प्राप्त गरेको हो।

खेलको ३२औं मिनेटमा अबिन बस्यालले उत्कृष्ट फ्रिकिकमार्फत गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए। खेलको इन्जुरी समयमा कुनाल जिम्बाले गोल फर्काउँदै चर्च ब्वाइजलाई एक अंक दिलाए। कुल १० टोली सहभागी युथ लिग आगामी ६ महिनासम्म चल्नेछ। लिगमा मनाङ मस्र्याङ्दी र पुलिससहित एफसी खुमलटार, संकटा, आर्मी, एपिएफ, फ्रेन्ड्स, चर्च ब्वाइज, न्युरोड टिम र मच्छिन्द्र एफसीले प्रतिस्पर्धा गर्दै छन्। लिगका खेलहरू एन्फा कम्प्लेक्स, च्यासल स्टेडियम र नेपाल आर्मीको खेलमैदान सल्लाघारीमा भइरहेका छन्। उक्त खेलहरू शनिबार र सार्वजनिक बिदामा मात्र सञ्चालन हुनेछन्।  

प्रकाशित: २१ श्रावण २०८० ०१:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App