७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

फ्रान्सको सम्भावना जीवन्त

ब्राजिलविरुद्ध दोस्रो गोल गरेपछि फ्रान्सकी वेन्डी रेनार्ड। तस्बिर: एपी

फ्रान्सले दक्षिण अमेरिकी प्रतिद्वन्द्वी ब्राजिलमाथि जित निकाल्दै महिला विश्वकपको नकआउट चरणको सम्भावना जीवन्त राख्दा स्विडेनले अन्तिम १६ मा स्थान बनाएको छ।

करिब ५० हजार समर्थकले भरिएको ब्रिसबेन स्टेडियममा कप्तान वेन्डी रेनार्डले खेल सकिन सात मिनेट बाँकी छँदा गरेको गोल नै निर्णायक बनेपछि फ्रान्सले ब्राजिलमाथि २–१ को जित निकाल्यो। यो जितसँगै समूह ‘ए’ मा तीन अंक बटुलेको फ्रान्सले नकआउट चरणको सम्भावना जीवन्त राखेको हो। फ्रान्सको जितपछि समूह ‘ए’ बाट नकआउट चरणको सम्भावना खुला भएको छ। समान दुई खेलबाट फ्रान्सले दुई अंक र ब्राजिलले तीन अंक बटुलेका छन्। अघिल्लो खेलमा फ्रान्स अप्रत्याशित रूपमा जमैकासँग गोलरहित बराबरीमा रोकिँदा ब्राजिलले भने पानामालाई ४–० ले हराएको थियो।

यो हेभिवेट प्रतिस्पर्धामा जितपछि फ्रान्सको पहिलो पटक विश्वकप जित्ने आशा पनि जीवन्त बनेको छ। फ्रान्सले पहिलो हाफ पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राख्यो र खेलको सुरुआतमा नै भेट्रान स्ट्राइकर इयुगेनिले सोमरको गोलबाट अग्रता लियो। यससँगै ३४ वर्षीया सोमरले फ्रान्सबाट १८१औं खेलमा ९० गोल पूरा गरेकी छन्। ब्राजिलले दोस्रो हाफमा खेलमा फर्किने प्रयास गर्‍यो। ब्राजिलकी ३१ वर्षीया डेबिन्हाले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याइन्। यद्यपि, खेल सकिन लाग्दा फ्रान्सले अग्रता लियो।

फ्रान्सले दक्षिण अमेरिकी प्रतिद्वन्द्वी ब्राजिलमाथि जित निकाल्दै महिला विश्वकपको नकआउट चरणको सम्भावना जीवन्त राख्दा स्विडेनले अन्तिम १६ मा स्थान बनाएको छ।

८३औं मिनेटमा सेल्मा बछाको कर्नर प्रहारमा डिफेन्डर रेनार्डले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाइन्। विश्वकप सुरु हुनुअघि चोटका कारण रेनार्डको खेल्नेबारे दुबिधा नै थियो। यद्यपि, चोटबाट फर्किदै उनले फ्रान्सका लागि महत्वपूर्ण जितसमेत दिलाइन्। फ्रान्सका प्रशिक्षक हेर्भे रेनार्डले आफ्नो टोली लयमा फर्किनेमा आफू विश्वासमा रहेको बताए।

‘तयारीका क्रममा सबैले दोस्रो खेलमा मात्र ध्यान केन्द्रित गरेका थिए। त्यसपछि मलाई हामी खेलमा फर्किन्छौं भन्ने लागेको थियो,’ प्रशिक्षक रेनार्डले भने, ‘अब हाम्रो लक्ष्य भनेको समूहको शीर्ष स्थानमा उक्लिने हो। त्यसैले अब आगामी खेलमा ध्यान केन्द्रित गर्नेछौं।’

अमन्डाको दुई गोल

स्विडेनले इटालीमाथि ५–० को रबाफिलो जित निकाल्दै एक खेलअगावै अन्तिम १६ मा स्थान बनाएको छ। यो सफलतापछि स्विडेन उपाधिको दाबेदार स्पेन र पूर्वच्याम्पियन जापानसँगै नकआउट चरणमा पुगेको हो।

वेलिङ्टनमा भएको खेलको पहिलो हाफमा स्विडेनले सात मिनेटको अन्तरमा तीन गोल गर्दै इटालीमाथि दबाब बनाएको थियो ।यता, इटालीले भने स्विडेनको आक्रमण रोक्न निकै संघर्ष गर्नुपर्‍यो। आर्सनलकी डिफेन्डर अमन्डा इलेस्टेडले स्विडेनका लागि दुई गोल गरिन्। दुवै गोल हेडरबाट सम्भव भयो। त्यस्तै फ्रिडोलिना रोल्फो, स्टिना ब्लाकस्टेनियस र रिबेका ब्लोमभिस्टले गोल गरेका थिए। अमन्डाले पहिलो खेलमा स्विडेनका तर्फबाट दक्षिण अफ्रिकाविरुद्ध गोल गरेकी थिइन्। उनकै प्रेरणामा स्विडेनले दक्षिण अफ्रिकालाई २–१ ले हराएको थियो।

जमैकाको ऐतिहासिक जित

फ्रान्सले समूहको तेस्रो तथा निर्णायक खेलमा विश्वकपमा डेब्यु गरेको पानामाविरुद्ध चुनौती प्रस्तुत गर्नेछ। पानामाले यसअघि समूहको दुवै खेल गुमाइसकेको छ।

शनिबार भएको दोस्रो खेलमा पनि पानामा अफ्रिका टोली जमैकासँग १–० ले स्तब्ध भएको छ। महिला विश्वकप इतिहासमा पहिलो जित निकाल्दै जमैका अन्तिम १६ नजिक पनि पुगेको हो। कप्तान एलिसन स्वाबीको हेड गोल नै जमैकालाई ऐतिहासिक जित दिलाउन पर्याप्त बन्यो। विश्वकपको पाँचौं प्रयासमा जमैकाले जित निकालेको हो।

जमैकाले आगामी बुधबार ब्राजिलसँग खेल्नेछ। त्यो खेलमा बराबरीको नतिजाले पनि जमैकालाई विश्वकपको अन्तिम १६ मा स्थान बनाउन पर्याप्त हुनेछ। 

प्रकाशित: १४ श्रावण २०८० ०१:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App