२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

केइराको चोटले इङ्ल्यान्डको जित छायामा

चोटग्रस्त भएपछि इङ्ल्यान्डकी केइरा वाल्सलाई मैदानबाहिर लाने क्रममा चिकित्सक टोली ।तस्बिरः एपी

बार्सिलोनाकी स्टारसमेत रहेकी केइरा चोटका कारण पहिलो हाफमा स्ट्रेचरमार्फत मैदानबाट बाहिरिएकी थिइन्। गत वर्ष इङ्ल्यान्डलाई युरो कप जिताउन महत्वपूर्ण भूमिका खेलेकी उनको चोट इङ्लिस टोलीका लागि घातक बन्न सक्छ।

सिड्नी, साउन १२ (एएफपी)– इङ्ल्यान्डले शुक्रबार महिला विश्वकपमा डेनमार्कमाथि १–० को साँघुरो जितसहित अन्तिम १६ को यात्रातर्फ अग्रसर भए पनि मिडफिल्डर केइरा वाल्सको घुँडामा चोटका कारण नतिजा छायामा परेको छ।  

सिड्नी मैदानमा लाउरेन जेम्सको एक मात्र गोल युरोपियन च्याम्पियन इङ्ल्यान्डलाई जितका लागि पर्याप्त बनेसँगै इङ्लिस टोली विश्वकपको नकआउट चरणनजिक पुगेको छ। यद्यपि, मिडफिल्डर केइराको चिन्ताजनक रूपमा घुँडामा लागेको चोटका कारण नतिजा छायामा परेको हो। खेलको छैटौं मिनेटमा नै लाउरेनले पेनाल्टी बक्सबाहिरबाट प्रहार गरेको सट गोलमा परिणत भएको थियो। सेरिना विगमेनको टोली बल पोसेसन र अवसर दुवैमा हाबी भए पनि धेरै गोल गर्न भने असफल रह्यो।  

खेलको अन्त्यतिर डेनमार्ककी एमालिया भेन्सगार्डको हेडर प्रहार पोस्टमा लागेपछि इङ्लिस टोली अंक बाँड्नबाट बच्यो। यससँगै समूह ‘डी’ को इङ्ल्यान्डले दोस्रो जित निकाल्दै शीर्ष स्थान ओगटेको छ। यद्यपि, दोस्रो चरणमा स्थान बनाउन इङ्लिस टोलीले समूहको अन्तिम खेलमा कम्तीमा चीनसँग हारबाट जोगिनुपर्नेछ। यी दुईबीचको खेल आगामी मंगलबार हुँदै छ। तर, यो खेलभन्दा पनि इङ्ल्यान्डलाई आफ्नो खेलाडीको चोटको चिन्ताले सताएको छ।

बार्सिलोनाकी स्टारसमेत रहेकी केइरा चोटका कारण पहिलो हाफमा स्ट्रेचरमार्फत मैदानबाट बाहिरिएकी थिइन्। गत वर्ष इङ्ल्यान्डलाई युरो कप जिताउन महत्वपूर्ण भूमिका खेलेकी उनको चोट इङ्लिस टोलीका लागि घातक बन्न सक्छ। ‘उनी मैदानमा हिँड्न नसक्दा म निकै चिन्तित छु,’ इङ्ल्यान्डकी प्रशिक्षक विगमेनले भनिन्, ‘यद्यपि, हामीलाई केइराको घुँडामा चोट कतिसम्म गहिरो हो भन्ने थाहा छैन। त्यसैले अहिले नै धेरै धारणा राख्न सक्दैनौं। अहिलेका लागि उनको रिपोर्टको पर्खाइसम्म कुर्नुको विकल्प छैन।’  

दक्षिण अफ्रिकाले गुमायो अवसर

त्यसअघि दक्षिण अमेरिकी टोलीले उत्कृष्ट पुनरागमन गर्दा दक्षिण अफ्रिकाले विश्वकपमा पहिलो जित निकाल्ने अवसर गुमाउन पुग्यो। न्युजिल्यान्डको डुनेडिनमा शुक्रबार भएको खेलमा अर्जेन्टिनाले पुनरागमन गरेपछि दक्षिण अफ्रिकाले २–२ गोलको नतिजा सामना गरेको हो। पहिलो हाफमा लिन्डा मोथालो र थेम्बी गाट्लानको गोलपछि दक्षिण अफ्रिका विश्वकपको पाँच खेलमा पहिलो जितको प्रतीक्षामा थियो। तर, अन्तिम १६ मिनेटमा अर्जेन्टिनाले दुई गोल फर्काउँदै दक्षिण अफ्रिकी टोलीको लक्ष्य पूरा हुन दिएन।

खेलको ७४औं मिनेटमा सोफिया ब्राउनले गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काउने संकेत गरेकी थिइन्। त्यसको पाँच मिनेटपछि नै रोमिना नुनेनले गोल गर्दै अर्जेन्टिनालाई २–२ को बराबरीमा पु¥याइन्। स्विडेनसँगको पहिलो खेलमा पनि दक्षिण अफ्रिकाले अग्रता जोगाउन नसक्दा हार बेहोरेको थियो। खेलको सुरुआती अग्रता लिएको दक्षिण अफ्रिकाले खेल सकिन एक मिनेट बाँकी छँदा पनि गोल बेहारेपछि स्विडेनसँग बराबरीको अवसर पनि गुमाएको हो।

चौथो विश्वकप खेलेको अर्जेन्टिनाले ११ खेलसम्म पनि जित निकाल्न सकेको छैन। यो बराबरीसँगै समूह ‘जी’ मा अर्जेन्टिना र दक्षिण अफ्रिकाको समान एक अंक छ। बलियो टोली मानिएको स्विडेन र इटालीको समान तीन अंक छ। शनिबार दुई यी दुई टोली नै एकआपसमा भिड्नेछन्। समूहको महत्वपूर्ण अर्को खेल अगस्ट दुईमा अर्जेन्टिना र स्विडेन भिड्नेछन्। शनिबार नै अर्को प्रतिस्पर्धामा फ्रान्स र ब्राजिलले गर या मरको अवस्थामा ब्रिसबेनमा प्रतिस्पर्धा गर्नेछन्। समूह ‘एफ’ को यही समूहको अर्को खेलमा जमैकाले पानामा सामना गर्नेछ। 

प्रकाशित: १३ श्रावण २०८० ०३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App