१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

बक्सिङको विशेष प्रशिक्षण भारतमा

१९औं एसियाली खेलकुद

उन्नाइसाैं एसियाली खेलकुदमा पदक जित्न सक्ने खेलको सूचीमा पहिलो प्राथमिकतामा रहेको नेपाली बक्सिङ टोलीले विशेष प्रशिक्षण सुरु गर्ने भएको छ।

आगामी सेप्टेम्बर २३ देखि चीनको हानझाउ सहरमा १९औं एसियाड सुरु हुँदै छ। उक्त एसियाडमा नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्दा बक्सिङसहित तेक्वान्दो र कराते पदक सम्भावनाको खेलका रूपमा समावेश छन्। अन्यभन्दा यी तीन खेलको तयारी पनि विशेष गर्ने पूर्वघोषित योजनाअनुरूप राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विशेष प्रशिक्षण थालेको हो। पछिल्ला केही महिनादेखि नेपाली बक्सिङ टोलीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका साथै प्रशिक्षणलाई पनि तीव्रता दिँदै आएको छ।

राखेपले १९औं एसियाडमा सहभागी खेलको टुङ्गो लगाउँदा नै प्राथमिकतामा रहेका तीन खेललाई विशेष तयारी गराउने घोषणा थियो। उक्त विशेष तयारीअन्तर्गत आवश्यक परेको खण्डमा विदेशी प्रशिक्षक, वैदेशिक प्रशिक्षण र म्याच एक्सपोजरजस्ता मुख्य पक्षहरू समावेश गर्नेलगायत राखेपका योजनामा थिए। सोही योजनाअनुरूप नेपाली बक्सिङमा अनुभवी भारतीय प्रशिक्षक शिव सिंह नियुक्त भएका हुन्। उनको नेतृत्वमा रहेको प्रशिक्षण टोलीमा दीपक महर्जन, राज श्रेष्ठ र प्रवीण तुलाधर छन्।

उन्नाइसाैं एसियाली खेलकुदमा पदक जित्न सक्ने खेलको सूचीमा पहिलो प्राथमिकतामा रहेको नेपाली बक्सिङ टोलीले विशेष प्रशिक्षण सुरु गर्ने भएको छ।

राखेपले पहिलो प्राथमिकतामा रहेका तीन खेलमा पूर्ण कोटामा प्रतिस्पर्धा गराउँदै छ। जसको कारण नेपालका १३ बक्सरले आगामी एसियाडमा प्रतिस्पर्धा गर्नेछन्। पोखरामा एक हप्ताको प्रशिक्षण र भारतको पन्जाबका बक्सरसँग मैत्रीपूर्ण प्रतियोगिता खेलेपछि नेपालको बक्सिङ टोली वैदेशिक प्रशिक्षणमा जान लागेको हो। १९औं एसियाली खेलकुदको तयारीका लागि नेपाली बक्सिङ टोलीले भारतमा एक महिनाको विशेष प्रशिक्षण गर्नेछ।

पन्जाब इन्स्टिच्युट अफ स्पोर्ट्स पटियालाको टोलीसँग प्रशिक्षण र मैत्रीपूर्ण खेल पनि खेल्ने योजनामा रहेको नेपाली प्रशिक्षक दीपक महर्जनले जानकारी दिए।

उक्त विशेष प्रशिक्षणका क्रममा नेपाली टोलीले भारतका लागि क्युबाका प्रशिक्षक फर्नान्डेज र अन्य भारतीय प्रशिक्षकसँग पनि प्रशिक्षण लिने कार्यक्रम रहेको नेपाल बक्सिङ महासंघले जनाएको छ। सोही विशेष प्रशिक्षणमा जाने नेपाली टोलीलाई बुधबार राखेपमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरिएको थियो। उनीहरूलाई राखेप सदस्यसचिव टंकलाल घिसिङले बिदाइ गरेका थिए।

सो अवसरमा सदस्यसचिव घिसिङले एसियाली खेलकुदमा नेपाली बक्सिङको गर्विलो इतिहासलाई फर्काउनका लागि पछिल्लो समय आफूले काम गरिरहेको उल्लेख गरे। साथै उनले संघलाई पनि पदक जित्ने लक्ष्यका साथ ठोस योजना ल्याउन पटकपटक निर्देशन पनि दिँदै आएको बताए। सन् २०१० मा चीनकै गोङ्झाउमा सम्पन्न १६औं एसियाली खेलकुदमा नेपालको बक्सिङले पदक जितेको थियो। हाल नेपाली टोलीको प्रशिक्षणमा रहेका दीपक महर्जनले कांस्य पदक जितेका थिए। त्यसयता भने नेपाली बक्सिङको एसियाली प्रतिस्पर्धामा सुखद बन्न सकिरहेको छैन।

यस पटक भने नेपाली बक्सिङले पुरानो साख फर्काउने विश्वास सदस्यसचिव घिसिङको छ। १९औं एसियाड अगाडि चीनको हान्झाउमा विभिन्न देशका प्रतिनिधिहरूले गर्ने टर्च र्‍यालीमा गोङ्झाउ एसियाडका पदकविजेता दीपकले नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने घिसिङले जानकारी दिए। बक्सिङकै खेलाडीलाई प्रोत्साहन हुने उद्देश्यअनुरूप बक्सिङकै प्रशिक्षकलाई त्यो अवसर सुम्पिएको उनको भनाइ थियो।

पन्जाब इन्स्टिच्युट अफ स्पोर्ट्स पटियालाको टोलीसँग प्रशिक्षण र मैत्रीपूर्ण खेल पनि खेल्ने योजनामा रहेको नेपाली प्रशिक्षक दीपक महर्जनले जानकारी दिए।

सदस्यसचिव घिसिङले प्राथमिकतामा रहेका तीन खेलमध्ये बक्सिङबाट आफू र समग्र राज्यले नै धेरै आशा गरेको बताएका छन्। तयारीअगाडि खेलिने ससाना प्रतियोगितालाई पनि एसियाड नै सम्झेर मिहिनेत गर्दै आफूलाई पूर्ण रूपमा तयार राख्न उनले खेलाडीलाई आग्रह गरेका छन्।

साथै उनले प्रशिक्षकहरूका लागि पनि यो ठूलो अवसरसँगै जिम्मेवारी पनि प्राप्त भएको धारणा राखे। सदस्यसचिव घिसिङले यो जिम्मेवारी पूर्णरूपमा पालना गर्न प्रशिक्षकलाई निर्देशनसमेत दिएका छन्। १९औं एसियाडमा सेप्टेम्बर २४ देखि बक्सिङको प्रतिस्पर्धा सुरु हुनेछ। जहाँ नेपालका सात पुरुष र ६ महिला बक्सरले चुनौती प्रस्तुत गर्दै छन्।

पुरुष ५१ केजीमा रविन थापा, ५७ केजीमा बुद्ध लामा, ६३ केजीमा भूपेन्द्र थापा, ७१ केजीमा दीपेश लामा, ८९ केजीमा दीपक श्रेष्ठ, ९२ केजीमा रविन नेपाल र ९२ केजीमाथि आशिष दुवाडी छन्। महिला ५० केजीमा सुष्मा तामाङ, ५४ केजीमा मीनु गुरुङ, ५७ केजीमा चन्द्रकला थापा, ६० केजीमा संगीता सुनार, ६६ केजीमा विनीता थापामगर र ७५ केजीमा सरस्वती रानाले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन्।  

प्रकाशित: ११ श्रावण २०८० ००:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App