१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

महिला फुटबल टोलीलाई युनिलिभरको साथ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई एक वर्षका लागि युनिलिभर नेपाल लिमिटेडले प्रायोजन गरेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र युनिलिभरले मंगलबार एक कार्यक्रमका बीच नेपाली महिला फुटबल टोलीका लागि एक वर्षको प्रायोजनसम्बन्धी सम्झौता गरेका हुन्। एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ र युनिलिभर नेपाल लिमिटेडका म्यानेजिङ डाइरेक्टर अमलान मुखर्जीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार युनिलिभरले वार्षिक २५ लाख रुपैयाँ महिला फुटबल टोलीलाई प्रदान गर्नेछ। सो अवसरमा नेपाली महिला फुटबल टोलीकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले यस किसिमको प्रायोजनले नेपाली महिला फुटबललाई हौसला बढाउने विश्वास व्यक्त गरिन्।

साथै उनले एन्फा र युनिलिभरले पुरुषलाई जस्तै महिला फुटबल टोलीलाई पनि हौसला बढाउने प्रयत्न गरेकामा धन्यवाद दिइन्। एन्फाका अध्यक्ष नेम्बाङले महिला फुटबल विकासमा सहयोग पु¥याउने उद्देश्यअनुरूप युनिलिभरको सहयोग रहेको बताए। युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले सीमित स्रोत र साधनका बीच पनि नेपाली खेलाडीले देशका लागि धेरै सफलता दिलाएको उल्लेख गर्दै उनीहरूको प्रशंसा गरे।

युनिलिभर नेपाल लिमिटेडका डाइरेक्टर अमलान मुखर्जीले सन् २०२७ को महिला विश्वकप खेल्ने नेपालको लक्ष्यमा यो प्रायोजनले सहयोग पुग्ने विश्वास व्यक्त गरे। यसै हप्ता मात्र बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल सिरिज जितेको नेपाली महिला फुटबल टोली आगामी सेप्टेम्बर २३ देखि चीनमा सुरु हुने १९औं एसियाडको तयारी गर्दैछ। 

प्रकाशित: ३ श्रावण २०८० ०३:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App