१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

इङ्ल्यान्डलाई २० वर्षमुनिको विश्वकप

सुवोन- इङ्ल्यान्डले ५१ वर्षपछि कुनै अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि हासिल गर्ने क्रममा आइतबार भेनेजुएलामाथि १–० को नतिजा निकाल्दै २० वर्षमुनिको विश्वकप जितेको छ।

फ्रेडी उडम्यानले पेनाल्टी बचाएको खेलमा डोमिनिक काल्भर्ट लेविनले गोल गरेपछि इङ्ल्यान्डको लामो उपाधि प्रतीक्षामा पूर्णविराम लागेको थियो। एभर्टनका स्ट्राइकर काल्भर्ट लेविन विश्वकप फाइनलमा गोल गर्ने इङ्ल्यान्डका तेस्रो खेलाडी बनेका छन्। यसअघि १९६६ मा इङ्ल्यान्डको राष्ट्रिय टोलीले सिनियर विश्वकप जित्दा फाइनलमा जियोफ हर्स्ट र मार्टिन पिटर्सले गोल गरेका थिए। इङ्ल्यान्डले यसअघि जितेको त्यो एक मात्र विश्वकप उपाधि थियो।

आइतबारको कठिन खेलमा गोलकिपर उडम्यानले समय सकिन १६ मिनेट बाँकी रहँदा भेनेजुएलाका एडाल्बर्टो पेनारान्डाको पेनाल्टी बचाएर इङ्ल्यान्डको उपाधि जित्ने सम्भावना जीवित राखेका थिए। इङ्ल्यान्डले सुरुमा खेलमा नियन्त्रण राखे पनि पाएका अवसरमा चुक्दा गोल गर्न सकेको थिएन। खेल सुरु भएको केही मिनेटमै लिभरपुलका खेलाडी डोमिनिक सोलाङ्केले लामो दूरीबाट गरेको कडा प्रहार वुल्कर फारिनेजले बचाउँदा इङ्ल्यान्ड सुरुमै अग्रता लिने अवसरबाट चुकेको थियो। 

सिनियर विश्वकपमा अहिलेसम्म छनोट हुन नसकेको भेनेजुएला पहिलो पटक विश्वस्तरीय प्रतियोगिताको फाइनल पुगेको थियो। जहाँ अनुभवी इङ्ल्यान्डसामु कमजोर पारामा सुरु गरेको खेलमा फर्किन टोलीले २४औं मिनेटसम्म कुर्नुपर्‍यो। रोनाल्डो लुसिनाले २४औं मिनेटमा प्रहार गरेको कडा फ्रि–किक इङ्ल्यान्डको पोस्टमा लागेर फर्किंदा टोली निराश हुनुपरेको थियो।

तर सुरुमै गोलको एउटा राम्रो मौका खेर फालिसकेका काल्भर्ट लेविनले मध्यान्तर हुन १० मिनेट बाँकी रहँदा गोल गरेर इङ्ल्यान्डलाई अग्रता दिलाए। अन्तिम समयमा भेनेजुएलाले नतिजा उल्टाउने मौका पाएको भए पनि उडम्यान त्यसमा बाधक बने। दोस्रो हाफमा भेनेजुएलाले सिर्जना गरेका थुप्रै अवसर उडम्यानले विफल पारेका थिए। सर्जियो कोर्डोभाको प्रहार उडम्यानले बचाउँदा काउन्टरमा इङ्ल्यान्डले पनि गोलको मौका पाएको थियो। तर जोस ओनोमाहको प्रहार क्रसबारमा लागेर फर्कियो। भेनेजुएलाको दबाब कायम रहने क्रममा टोलीले ७४औं मिनेटमा पेनाल्टी पायो। इङ्ल्यान्डका ज्याक क्लार्क साल्टरले पेनारान्डालाई लडाएपछि रेफ्री बिजोर्न कुइपर्सले भेनेजुएलाको पक्षमा पेनाल्टी दिएका थिए। पेनारान्डा आफैंले पेनाल्टी प्रहार गरे। तर उनले फितलो पारामा प्रहार गरेको बल उडम्यानले बचाएर इङ्ल्यान्डलाई ऐतिहासिक उपाधि जिताए।

 पेनारान्डाको पेनाल्टी प्रहार उडम्यानले बचाएर इङ्ल्यान्डलाई ऐतिहासिक उपाधि जिताए।

प्रकाशित: २९ जेष्ठ २०७४ ०३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App