काठमाडौं- सन्दीप सुनारको ब्याटिङप्रेरित सशस्त्र प्रहरी बल (एपिएफ)ले शुक्रबार मध्य पश्चिममाथि ५ विकेटको विजय हासिल गरेसँगै प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेल्ने टोलीको टुंगो लागेको छ।
समूह ‘ए’बाट एपिएफ र पश्चिमाञ्चलले अन्तिम चारमा स्थान पक्का गर्दा समूह ‘बी’बाट यसअघि नै त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरिसकेका थिए। त्रिभुवन आर्मी समूह ‘बी’ को विजेता हो भने नेपाल पुलिस क्लब उप विजेता हो। शनिबार हुने एपिएफ र मध्यमाञ्चलबीचको खेलले समूह ‘ए’को विजेता र उप विजेता टुंगो लगाउनेछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको मध्य पश्चिमले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो। यस प्रतियोगितामा ११ खेल सकिँदा कुनै पनि टोलीले पूरै ५० ओभर खेलेको यो दोस्रो खेल हो। यसअघि पश्चिमाञ्चल र मध्यमाञ्चलबीचको खेलमा पश्चिमाञ्चलले ५० ओभर खेलेको थियो।
ओपनर प्रज्वल शाही र सुशान्त थापा चाडै पवेलियन फर्किएपछि कप्तान शुबेन्दु पान्डे र राजबीर सिंहले मध्य पश्चिमको इनिङ सम्हाल्ने प्रयास गरेका थिए। दुईले तेस्रो विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए। शुबेन्दुले १ चौका र १ छक्कासहित २३ रन बनाएका थिए।
२१औं ओभरको अन्तिम बलमा सुबेन्दु पान्डेलाई ज्ञानेन्द्र मल्लले सुवास खकुरेलमार्फत क्याच गराएपछि मध्य पश्चिमले लगातार थप २ विकेट गुमायो। प्रनित थापामगर १ र अमरसिंह रौतेला खाता खोल्न नसक्दै पवेलियन फर्किए। ३ चौकासहित ३७ रन बनाएका राजबीरले अनुपम सिंहसँग सातौं विकेटका लागि २७ रनको साझेदारी गरे। राजबीरलाई अविनाश बोहराले आउट गरेका थिए। त्यसपछि ६ चौकासहित ५६ रन जोडेका अनुपमले सिद्धान्त शाहीसँग आठौं विकेटका लागि ३२ रनको साझेदारी गरे। सिद्धान्तले २ चौका र २ छक्कासहित अविजित ३५ रन जोडे।
एपिएफका भुवन कार्कीले तीन विकेट लिँदा अविनाशले दुई विकेट लिए। सन्दीप झोरा र ज्ञानेन्द्र मल्लले १/१ विकेट लिए।
१ सय ८२ रनको लक्ष्य एपिएफले २८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो। एपिएफका लागि सन्दीपले ८३ बलमा ७ चौका र ५ छक्कासहित ८७ रन बनाए भने आसिफ शेखले ३ चौका र १ छक्कासहित ४० रन जोडे। ओपनर सुवास खकुरेलले १२ रन बनाउँदा पृथु बास्कोटा १५ रनमा अविजित रहे।
मध्य पश्चिमका अमरसिंह र विजय चौधरीले समान २/२ विकेट लिँदा आकाश विष्टको नाममा १ विकेट रह्यो।
प्रकाशित: २० जेष्ठ २०७४ ०२:२६ शनिबार