१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

महिला टोलीमा तीन खेलाडीको पुनरागमन

नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले असार अन्तिम साता बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गर्दा तीन खेलाडीले पुनरागमन गरेका छन्।  

चीनमा असोज ६ गतेबाट सुरु हुने १९औं एसियाली खेलकुदको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय टोलीले त्यसैको तयारीस्वरूप असार २८ र ३१ गते गरी बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। दुवै खेल बंगलादेशको ढाकामा हुनेछ।  

प्रशिक्षक थापाले एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा घोषणा गरेको टोलीमा गीता राना, प्रीति राई र अञ्जली वाइबाले पुनरागमन गरेका हुन्। नेपालले वैशाखमा एसियन कप छनोट २०२३ अन्तर्गत दशरथ रंगलशालमा भियतनामविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो। सो खेलमा गीता र प्रीति अनुपस्थित थिए। भियतनाविरुद्धको दुई लेगको खेलमा नेपाल दुवै खेलमा निराश भएको थियो।  

विभागीय क्लब एपिएएफले अखिल नेपाल फुटबल संघ (एन्फा) आफूहरूको मागमा मौन बसेको भन्दै महिला खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी हुन नदिने निर्णय गरेको थियो। जसले महिला टोलीको प्रशिक्षण प्रभावित बनेको थियो।  

मंगलबार मात्र एपिएफ आफ्ना खेलाडीलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पठाउन सहमत भएको थियो। एपिएफले सहिद स्मारक ‘ए’डिभिजन लिगअन्तर्गत १३औं चरणमा चर्च ब्वाइज युनाइटेड र थ्री स्टार क्लबले खेलमिलेमतो गरेको तथा थ्री स्टारले दुई विदेशी खेलाडीको भिसा अवधि सकिए पनि कीर्ते श्रम स्वीकृति बनाएर मैदान उतारेकाले त्यसमाथि छानबिन गर्न माग गरेको थियो। एन्फाले यस विषयमा अहिलेसम्म केही बताएको छैन।

प्रकाशित: २३ असार २०८० ०२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App