१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

‘विश्वकप छनोटमा नेपाली खेलाडीको प्रदर्शन सकारात्मक’ :मोन्टी देसाई

जिम्बाबेमा भएको विश्वकप छनोट खेल सकेर नेपाल स्वदेश फर्किएको छ।आज बिहान नेपाली टोली स्वदेश फर्किएको हो। स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकपमा छनोट हुन नसके पनि केही खेलाडीको प्रदर्शनले सकारात्मक सन्देश दिएको बताए।

 जिम्बाबेमा भएको छनोट खेलेर शुक्रवार स्वदेश फर्किएको नेपाली टोलीका प्रशिक्षक देसाईले लक्ष्य प्राप्ति नभए पनि केही खेलाडीहरूको प्रदर्शन सम्झनालायक रहेको उल्लेख गरे। 

भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुने लक्ष्यसहित जिम्बाबे पुगेको नेपाली क्रिकेट टोली दोस्रो चरण (सुपर सिक्स) मा नै स्थान बनाउन असफल रह्यो। सातौँ स्थानका लागि भएको अन्तिम खेलमा पनि नेपाल टेस्ट राष्ट्र आयरल्यान्डसँग साँघुरो अन्तरमा पराजित हुन पुग्यो। 

छनोटमा आशाअनुरूपको नतिजा नआए पनि टेस्ट खेल्ने राष्ट्रविरुद्ध खेल्दा धेरै कुरा सिक्ने अवसर मिलेको नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलको भनाइ छ। खेल अगाडि टेस्ट राष्ट्र जिम्बाबे र वेस्ट इण्डिजले कस्तो बलिङ र ब्याटिङ गर्छ भन्ने चासो रहे पनि उनीहरू र आफूहरूबिच अनुभवको मात्र फरक रहेको कप्तान पौडेलको बुझाइ छ। नेदरल्याण्ड्स विश्वकपमा छनोट हुनुले नेपाल जस्तो एसोसिएट राष्ट्रलाई हामी पनि गर्नसक्छौं भन्ने प्रोत्साहन मिलेको बताए।

नेपालका युवा अलराउण्डर गुलसन झाले टेस्ट राष्ट्र र आफूहरूबिच खासै फरक नरहेको उल्लेख गरे। यद्यपि, उनीहरूको खेल शैली केही अनुशासित र अनुभवी रहेको उनको भनाइ छ। उनीहरूसँगको खेलपछि धेरै कुरा सिक्ने अवसर मिलेको गुलसनको विश्वास छ।

विश्वकप छनोटका लागि जिम्बाब्वे पुगेको नेपाली टोलीले कुल ६ खेल खेल्दा दुई नतिजा मात्र आफ्नो पक्षमा पारेको थियो। तीन वटा टेस्ट राष्ट्र जिम्बाबे, वेस्ट इण्डिज र आयरल्याण्डसँग नतिजा सुम्पिएको नेपालले विश्वकपमा छनोट भएको एक मात्र एशोसिएट राष्ट्र नेदरल्याण्डसँग पनि हार व्यहोरेको थियो। बाँकी दुई वटा एसोसिएट राष्ट्र संयुक्त अरब इमिरेट् (युएई) र अमेरिकासँग भने नेपालले जित निकाल्यो। 

नेपालले केही दिन आराम गरेपछि एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंका जानेछ। एसिया कपमा नेपाल भारत ‘ए’ र पाकिस्तान ‘ए’ सँग खेल्नेछ। नेपालको समूह ‘बी’ मा युएई पनि छ। जुलाई १४ मा पाकिस्तानबिरुद्धको खेलसँगै नेपालले एसिया कपको यात्रा थाल्नेछ। यद्यपि, उक्त खेलमा नेपाली टोलीका महत्वपूर्ण बलर सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी अनुपस्थित रहने कप्तान रोहित पौडेलले बताए।

प्रकाशित: २२ असार २०८० ११:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App