१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मलेसियासँग अपराजित यात्रामा पूर्णविराम

काठमाडौं- नेपाली राष्ट्रिय महिला टोलीले मलेसियाविरुद्ध राखेको अपराजित यात्रामा बुधबार पूर्णविराम लागेको छ। कोटा किनाबालुस्थित सबाव रंगशालमा घरेलु टोलीले नेपालमाथि पहिलो जित दर्ता गराउने क्रममा बुधबार ४–१ को सफलता हासिल गर्‍यो। यसअघि दुई टोलीबीच भएका दुई खेलमा नेपालले एक जित तथा एक बराबरी नतिजा निकालेको थियो। पाँच महिनाअघि सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा नेपाली महिला टोलीले मलेसियामाथि १–० को जित हासिल गरेको थियो। सावित्रा भण्डारीको गोलमा मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय खेल जितेको नेपालले सोमबार सबाब रंगशालामा १–१ को बराबरीमा चित्त बुझाएको थियो। दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्न हाल मलेसिया भ्रमणमा रहेको नेपालका लागि सोमबार पनि सावित्राले नै गोल गरेकी थिइन्।

अर्को वर्ष हुने महिला साफ च्याम्पियनसिपको तयारीका लागि मलेसिया भ्रमण गरेको नेपाल बुधबार सुरुदेखि नै निरीह साबित भयो। अघिल्लो पटक पनि नेपालले साफ च्याम्पियनसिपको तयारीकै लागि मलेसियालाई घरमा निम्त्याएको थियो। सेरेलिन इली पियुसले नेपाली रक्षापंक्तिलाई असफल पार्दै चौथो मिनेटमै गोल गरेर घरेलु टोलीको खाता खोलिन्। मध्यान्तर हुन तीन मिनेट बाँकी रहँदा नुर अथिराह महतले अर्को गोल गरेपछि घरेलु टोली २–० ले अघि बढ्यो। मध्यान्तरअघिको प्रदर्शनलाई निरन्तरता दिने क्रममा मलेसियाले दोस्रो हाफ सुरु भएको नवौं मिनेटमै अर्को गोल थप्यो। सेरेलिनले ५४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि मलेसियाली महिला टोली नेपालमाथि पहिलो अन्तर्राष्ट्रिय जितको बाटोमा लम्कियो। जहाँ नेपालकी कप्तान सजना रानाले समय सकिन आठ मिनेट बाँकी रहँदा एक गोल फर्काए पनि पुनरागमनका लागि त्यो पर्याप्त भएन। समय सकिन दुई मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी पुतेरी नोरालिसा विल्किन्सनले व्यक्तिगत गोलको खाता खोलेर मलेसियाको जितलाई रबाफिलो औपचारिकता प्रदान गरिन्।

नेपालले मलेसियाको मैत्रीपूर्ण भ्रमण निराशाजनक रह्यो। तर घरेलु टोलीले भने तीन महिनापछि हुने दक्षिणपूर्वी एसियाली (एसइए) खेलकुदको तयारीमा मनोबल जुटाएको छ। मलेसियाले अगस्ट १५ देखि ३० सम्म एसइए खेलकुद आयोजना गर्दै छ। मलेसियाले त्यही प्रतियोगिताको तयारीका लागि नेपाललाई दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका लागि निम्त्याएको थियो।

मलेसियाली टोलीका प्रशिक्षक मोहदासिराफ फोग अब्दुल्लाहले एसइए खेलकुदको तयारीमा नेपालविरुद्धका मैत्रीपूर्ण खेलबाट धेरै फाइदा पुग्ने बताए। 'नेपाल बलियो टोली हो। नेपालजस्तो विपक्षीसँग हासिल गरेको सकारात्मक नतिजाले हाम्रो तयारीमा महŒवपूर्ण अर्थ राख्छ,' उनले भने, 'नेपालमाथिको जित र बराबरीबाट हाम्रो टोलीको मनोबल अकासिनेछ। साथमा हामीले यी दुई खेलबाट आफ्ना कमजोरी सुधार्ने पनि थप मौका पायौं। पहिलो खेल बराबरीपछि दोस्रो खेलमा फराकिलो जित हासिल गर्नुले त्यही संकेत गर्छ।'

गत वर्ष फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको साफ च्याम्पियनसिप खेल्दाकै टोलीका अधिकांश खेलाडीलाई निरन्तरता दिएको नेपाली टोलीका प्रशिक्षक कुमार थापाले शारीरिक रूपमा कमजोर हुँदा हार भोग्नुपरेको प्रतिक्रिया दिए।

मलेसिया जानुअघि यात्राले साफ च्याम्पियनसिप तयारीमा सहयोग गर्ने बताउँदै थापाले पुरानो नतिजामा सुधार गर्ने लक्ष्य राखेको जनाएका थिए। तर नेपालले मलेसियामा लक्ष्यअनुसार नतिजा भने हासिल गर्न सकेन। 

प्रकाशित: ११ जेष्ठ २०७४ ०३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App