३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

स्कुल टु ओलम्पिक कार्यक्रमलाई प्रदेश सरकारको १० लाख

गण्डकी प्रदेशमा सातजना ओलम्पियन छन्। गएको महिना मात्रै गण्डकी प्रदेशको राजधानी पोखरामा ओलम्पियनहरुको पुर्नमिलन तथा सम्मान गरिएको थियो।

पोखरामा ओलम्पियनहरुलाई स्वागत गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशका ओलम्पियनलाई नगद भत्ता उपलब्ध गराउने निर्णय गरेका थिए। त्यसको लागि ५ लाख ५५ हजार रुपैयाँ बजेटमै समेटिएको छ।  

विद्यालयदेखि नै खेलकुदको प्रवद्र्धन गर्नुपर्ने खाँचो औल्याउँदै आइएको छ। प्रदेश सरकारले पनि स्कुल टु ओलम्पिक कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। प्रदेश सरकारले स्कुल टु ओलम्पिक कार्यक्रमलाई १० लाख रुपैयाँ छुट्टाएको छ। यसले विद्यालयमा पुगेर ओलम्पियनले आफनो अनुभव साट्दै विद्यालयका बालबालिकालाई खेलकुदप्रति उत्प्रेरणा जगाउने छन्।  

त्यतिमात्रै नभई प्रदेश सरकारले पछिल्लो समय चर्चामा रहेको मुआथाई खेलकै लागि समेत आवश्यक बजेट छुट्टाउँदै मार्शल आर्ट खेललाई अझ बढ्वा दिन खोजेको छ। गतसाता मात्रै पोखरामा गण्डकी प्रदेशस्तरीय मुआथाई च्याम्पियनसिप आयोजना गरिएको थियो। प्रतियोगिताले पनि पोखरालाई मार्शल आर्टको गन्तव्य मात्रै नभई खेलकुदको हबको रुपमा विकास गर्न समेत प्रेरित गरेको गण्डकी प्रदेश मुआथाई संघका अध्यक्ष दिपकबहादुर गोदारले जनाए।  

उनले प्रदेश सरकारले राष्ट्रिय मुआथाई च्याम्पियनसिपको लागि ८ लाख रुपैयाँ छुट्टाएको प्रति आभार जनाउँदै प्रतियोगितासँगै मुआथाईको लागि आवश्यक रिङ बनाउन समेत बजेट छु्टाईदिनुपर्ने उल्लेख गरे। उनले मुआथाई प्रतियोगिताको लागि आवश्यक रिङको लागि तत्कालिन युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले बजेट विनियोजन गरेपनि कार्यान्वयनमा आउन नसकेको गुनासो गरे। उनकै पहलमा पोखरामा २०६६ सालदेखि मुआथाई खेलको विधिवत शुरुवात भएको थियो। गोदार गण्डकी प्रदेशका लागि मुआथाई खेलका संस्थापक समेत हुन्।  

प्रदेश सरकारले पोखरामा आयोजना हुने म्याराथन प्रतियोगितालाई १० लाख छुट्टाएको छ। पोखरामा विशेष गरी सफल पोखरा म्याराथन, अन्नपूर्ण म्याराथन र लेखनाथ क्षेत्रमा हुने लेखनाथ हाफ म्याराथन आयोजना हुदैं आएको छ। अन्नपूर्ण म्याराथन भने ४ हजार १ सय मिटरको उचाईबाट दौड शुरु भई घान्द्रुकमा झरेर टुंगिने छ। आहा रारा गोल्डक, बगर भाइखलकको भेट्रान राष्ट्रिय फुटबल प्रतियोगिता, टाईगरकप भलिबल प्रतियोगिता, लिगलिगे साईकल दौडलाई समेत आवश्यक बजेट विनियोजन गरिएको प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले जनाए।

 राष्ट्रिय राफ्टिङ प्रतियोगिता आयोजना गर्दै वाटर स्पोर्टसलाई समेत प्रोत्साहन गर्ने प्रदेश सरकारको अभियान छ। जसको लागि १० लाख रुपैयाँ छ। प्रदेश सरकारले प्रदेश स्थापनाको दिवस पारेर आयोजना गर्नेगरी प्रदेशस्तरीय भलिबल प्रतियोगितालाई समेत आवश्यक बजेट विनियोजन गरेको छ। जिल्लाहरुमा एथलेटिक्स प्रतियोगितासँगै सडक दौडको लागि समेत प्रदेश सरकारले रकम छुट्टाएर राखेको छ।  

प्रकाशित: १६ असार २०८० ०९:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App