१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

आयोजकलाई विजय यूथ गोल्डकपको उपाधि

(फोटो: उपाधिका साथ विजय यूथका खेलाडी तथा अफिसियल ।)

हेटौंडामा सञ्चालन भएको दोस्रो संस्करणको विजय यूथ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक विजय यूथ क्लवले जितेको छ । आज भएको फाइनल भिडन्तमा पदमपोखरी युनाइटेडलाई २–१ ले पराजित गर्दै आयोजकले लगातार दोस्रो पटक उपाधि जितेको हो । पहिलो संस्करणको उपाधि पनि आयोजकले नै जितेको थियो । 

विजय यूथलाई जित दिलाउन हिसुव थपलिया नायक बने । पहिलो हाफमा १–० गोलले पछि परेको अवस्थामा उत्कृष्ट कम्ब्याक गर्दै विजय यूथले उपाधि जितेको हो । पदमपोखरीका लागि दिपेश आले मगरले गोल गरेका थिए । विजय यूथका लागि थपलियाले ७९ र खेलको अन्तिमतिर गोल गरेका हुन् । थपलिया नै खेलको म्यान अफ द म्याच भए । विजय यूथले चाइना पब्लिक यूथ क्लवलाई र पदमपोखरीले हेटौंडा फुटबल एकेडेमीलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो ।

 दुवै टिमले ए डिभिजनबाट खेलिसकेका खेलाडीहरुलाई मैदान उतारेको थियो । प्रतियोगिताको विजेता विजय यूथले २ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता पदमपोखरीले एकलाख रुपैयाँमै चित्त बुझाउन बाध्य भएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजय यूथका हिसुब थपलिया घोषित हुँदा विजय यूथकै सरोज ब्लोन उत्कृष्ट गोलरक्षक, रुपेश केसी उत्कृष्ट मिडफिल्डर, अजायी मार्टिन उत्कृष्ट फरवार्ड र ज्ञानु क्षेत्री उत्कृष्ट प्रशिक्षक घोषित भए । पदमपोखरीका सुरज बिष्ट उत्कृष्ट डिफेण्डर भए ।

 सर्वोत्कृष्टले ५ लाखको बीमा तथा नगद १० हजार रुपैयाँ प्राप्त गर्दा अन्य विधागत उत्कृष्टले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । विजेता उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्की, हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरे र आयोजक विजय यूथ क्लवका अध्यक्ष सुदीप राजबाहकले पुरस्कार वितरण गरेका हुन् । प्रतियोगितामा मकवानपुरका १६ वटा क्लवको सहभागिता रहेको थियो ।  

(फोटो ः उपाधिका साथ विजय यूथका खेलाडी तथा अफिसियल ।)

 

 

 

प्रकाशित: १५ असार २०८० १३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App