१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

घरेलु क्रिकेटमा सुन्यता चिर्ने प्रयास

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् र काठमाडौं क्रिकेट टे्रनिङ सेन्टर (केसिटिसी)को व्यवस्थापनमा जेठको दोस्रो साताबाट प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता हुने भएको छ।

आन्तरिक विवादका कारण घरेलु प्रतियोगिता सञ्चालन गर्न नसकेको क्यान निलम्बन पछि नेपालमा घरेलु क्रिकेट झण्डै शुन्यको अवस्था थियो। प्रधानमन्त्री कपले त्यो सुन्यता चिर्नेछ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा जेठ ९ देखि २४ गतेसम्म हुने प्रतियोगिताको पहिलो संस्करणमा पाँच विकास क्षेत्र र तीन विभागीय टोली गरी ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्। लिग कम नकआउट प्रणालीमा हुने प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आन्तरिक विवाद तथा सरकारी हस्तक्षेपको कारण देखाउँदै नेपाल क्रिकेट संघ (क्यान)को सदस्यता निलम्बनमा राखेको छ। आन्तरिक विवादका कारण घरेलु प्रतियोगिता सञ्चालन गर्न नसकेको क्यान निलम्बन पछि नेपालमा घरेलु क्रिकेट झण्डै शुन्यको अवस्था थियो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशबकुमार विष्टले शुन्यता हटाउन आफूहरुले अग्रसरता लिएको बताए।

‘क्यान निलम्बनपछि नेपालमा एक दिवसीय क्रिकेट हुन सकेको थिएन। त्यसैले हामीले यसका लागि अग्रसरता लियौं,’ विष्टले भने, ‘यसले क्रिकेटको विकासमा सहयोग पुग्ने आशा लिएका छौं। यो प्रतियोगिता नेपाली क्रिकेटमा कोशेढुंगा साबित हुनेछ। आगामी दिनमा यसलाई आमन्त्रण कपका रुपमा विस्तार गर्नेछौं। क्यान नभएका कारण हामीले यो वर्ष केसिटिसीलाई व्यवस्थापनको जिम्मा दिएका हौं। क्यान आएपछि क्यानकै प्राविधिक सहयोगमा प्रतियोगिता हुनेछ।'

प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउँनेछ भने उप विजेताले १० लाख तथा सेमिफाइनलमा पराजित हुने बाँकी दुई टोलीले ५० हजार रुपैयाँका दरले पाउनेछन्। त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट ब्याट्सम्यान र बलरले ५०/५० हजार तथा उदीयमान खेलाडीले २५ हजार रुपैयाँ नगद जित्नेछन्। प्रत्येक खेलका म्यान अफ दी म्याच ५ हजार रुपैयाँको भागिदार बन्नेछन्।

‘एक दिवसीय प्रतियोगिता हुनु आफैमा सुखद पक्ष हो। पुरस्कार राशीले झन उत्साहित बनाएको छ,’ राष्ट्रिय क्रिकेट टोलीका उप कप्तान ज्ञानेन्द्र मल्लले भने, ‘यस बीचमा ट्वान्टी–२० प्रतियोगिता धेरै भए पनि एक दिवसीय क्रिकेट हुन सकेको थिएन। यसले एउटा उत्सवको माहोल सिर्जना गर्नेछ र त्यहीअनुसारको सन्देश प्रवाह गर्नेछ।’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले तीन वर्षपछि हुन लागेको एक दिवसीय प्रतियोगितामा नयाँ खेलाडीले प्रतिभा देखाउन मौका पाउने बताए।

‘हामीलाई प्राय ३०, ४० जनाबाट राष्ट्रिय टोली छनोट गर्ने बाध्यता थियो। तर यो प्रतियोगितामा २ सय खेलाडीको सहभागिता रहनेछ,’ अक्टोबरमा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङविरुद्ध हुने खेलप्रति संकेट गर्दै मुख्य प्रशिक्षक टमाटाले भने, ‘हामीले यही प्रतियोगितालाई आधार बनाएर खेलाडी छनोट गर्नेछौं। हङकङविरुद्धको खेलका लागि यो प्रतियोगिताबाट तयारीको मौका पनि पाइनेछ।’

राष्ट्रिय टोलीका उपकप्तान एवं प्रतियोगिता व्यवस्थापनको जिम्मेवारी पाएको केसिटिसीका प्रमूख ज्ञानेन्द्रले पाँच विकाश क्षेत्रका टोलीले सम्भव भएसम्म छनोट प्रतियोगिता गराएर खेलाडी छान्ने तथा सम्भव नभएको ठाँउमा उपलब्ध खेलाडीबाट टोली बनाउने जानकारी गराए।

प्रकाशित: २९ वैशाख २०७४ ०४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App