२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

उपाधि खडेरी तोड्दा फुएन्टेलाई राहत

विजेता स्पेनिस फुटबल टोलीका साथ स्पेनका राजा फिलिप छैटौं (बीच) ।तस्बिरः एएफपी

एक दशकदेखिको अन्तर्राष्ट्रिय उपाधि खडेरी तोड्ने क्रममा युइएफए नेसन्स लिगको फाइनलमा क्रोएसियालाई टाइब्रेकरमा ५–४ ले पराजित गरेसँगै स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले आफ्नो भविष्यका बारेमा दुबिधा हटेको दाबी गरेका छन्।  

डिसेम्बरमा सम्पन्न कतार विश्वकप २०२२ लगत्तै स्पेनका प्रशिक्षक लुइस इनरिके बर्खास्त भएका थिए। स्पेनको यात्रालाई प्रि–क्वार्टरफाइनलमा मोरक्कोले पूर्णविराम लगाइदिएको थियो। उनको स्थानमा ६१ वर्षका डे ला फुएन्टेको नियुक्ति सबैका लागि आश्चर्यको विषय बनेको थियो।  

फुएन्टेको प्रशिक्षणमा स्पेनले पहिलो खेल नर्वेविरुद्ध खेलेको थियो। स्ट्राइकर इर्लिङ हाल्यान्डबिना मैदान उत्रिएको नर्वेमाथि स्पेनले ३–० को सहज जित निकालेको थियो। स्पेनको सिनियर टोलीको प्रशिक्षण सम्हाल्नुअघि उनले सन् २०१३ देखि निरन्तर स्पेनको विभिन्न उमेरसमूहको प्रशिक्षण सम्हाल्दै आएका थिए। २०२४ को युरोपियन छनोटमा मार्चमा स्कटल्यान्डलाई २–० को नतिजा सुम्पिएपछि डे ला फुएन्टे आलोचित बनेका थिए। स्पेनले सेमिफाइनलमा इटालीलाई हराएको थियो।  

लगातारको दोस्रो जितपछि भने फुएन्टेमाथिको दबाब हटेको अनुमान गरिएको छ। सन् २०१० को विश्वकप विजेता स्पेनले पछिल्लो पटक सन् २०१२ मा युरोपियन च्याम्पियनसिप जितेको थियो। सन् २०१४, २०१८ र २०२२ को विश्वकप तथा २०१६ र २०२० को युरोपियन च्याम्पियनसिपमा भने स्पेनले उपाधि दाबेदार छविलाई नतिजामा परिवर्तन गर्न सकेको थिएन। २००८ देखि २०१२ सम्मको स्पेनिस टोलीलाई स्वर्णिम पुस्ताका रूपमा लिइन्छ।  

नेसन्स लिगको यो तेस्रो संस्करण हो। पहिलो संस्करण पोर्चुगलले जितेको थियो। २०२१ को नेसन्स लिगको फाइनलमा भने स्पेन फ्रान्ससँग पराजित भएको थियो। डे ला फुन्टे नेसन्स लिगमा प्राप्त गरेको सफलताले टोलीको मनोबल बढाउने बताए।  

‘हामी योजनाअनुसार नै अघि बढिरहेका छौ र सफलता पनि मिलेको छ,’उनले भने, ‘यो उपाधिले टोलीको मनोबल बढेको छ। स्पेनिस टोली विश्व फुटबलमा पुनः उपाधि दाबेदार टोलीका रूपमा पुनरागमन गर्न सक्षम छ।’ स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबाइल्सले प्रशिक्षक फुएन्टेको भविष्यमा बारेमा यसअघि सार्वजनिक भएको सबै खबर झुटो भएको बताए।

‘हामीले मुख्य प्रशिक्षकको भविष्यका बारेमा कहिल्यै पनि दुबिधा व्यक्त गरेका थिएनौं,’लुइसले भने, ‘विभिन्न सञ्चारमाध्यममा उनलाई बर्खास्त गर्न लागेको खबर आएसँगै हामी आफँै अचम्ममा परेका थियांै। उनको भविष्यमा सार्वजनिक भएको सबै खबर झुटो हो।’  

प्रकाशित: ५ असार २०८० ०१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App