२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

बलिङ नचल्दा नेपाल असफल

बलिङ गर्दै नेपालका गुल्सन झा । तस्बिर सौजन्य: आइसिसी

टेस्ट राष्ट्र जिम्बाब्वेविरुद्ध आशालाग्दो ब्याटिङ गरे पनि बलिङमा साथ नपाएपछि नेपालको विश्वकप छनोटमा सुखद सुरुआत हुन सकेन।

हरारे स्पोर्ट्स क्लबमा आइतबार घरेलु टोली जिम्बाब्वेसँग आठ विकेटले पराजित भएसँगै नेपालको विश्वकप छनोट यात्राको सुखद सुरुआत हुन नसकेको हो। ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेखको कीर्तिमान साझेदारीमा नेपालले जिम्बाब्वेलाई २ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। यद्यपि, बलिङमा साथ नपाएपछि जिम्बाब्वेले ४४.१ ओभरमा मात्र दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। जिम्बाब्वेका कप्तान क्रेग इर्भिन र सिन विलियम्सले शतक प्रहार गर्दै ३५ बल अगावै घरेलु टोलीलाई जित सुरक्षित गराए।

इर्भिन १ सय २१ रन र विलियम्स १ सय २ रनमा अविजित रहे। जिम्बाब्वेले सुरुदेखि आक्रामक ब्याटिङ गरेको थियो। यद्यपि, आठौं ओभरको अन्तिम बलमा सोमपाल कामीले ओपनर जोयलर्ड गुम्बीलाई २५ रनमा एलबिडब्लु आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए। तर, अर्का ओपनर इर्भिनले दोस्रो विकेटका लागि वेस्ले मेधेभेरसँग ८२ रनको साझेदारी गर्दै इनिङ उकासे। २३.२ ओभरमा गुल्सन झाले वेस्लेलाई ३२ रनमा क्याच आउट गराउँदै दोस्रो विकेट लिए। त्यसपछि भने इर्भिन र विलियम्स हाबी भए।

यो जोडीले १ सय ६४ रनको अजिवित साझेदारी गरे। इर्भिनले १५ चौका र एक छक्का हिर्काए। विलियम्सको इनिङमा १३ चौका र एक छक्का रह्यो। नेपालले आठ बलर प्रयोग गरे पनि लक्ष्यलाई रक्षा गर्न सकेन। सोमपालले ५.३ ओभरमा एक मेडनसहित एक विकेट लिए। दीपेन्द्रसिंह ऐरीले १० ओभर बलिङ गर्दा एक मेडनसहित ५८ रन खर्चिए। नेपालको बलिङमा प्रमुख हतियार मानिएका सन्दीप लामिछाने विकेटविहीन रहे। १० ओभर बलिङ गरेका सन्दीप ७७ रन खर्चिंदै महँगा साबित भए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पूरै ओभर खेल्दै आठ विकेटको क्षतिमा २ सय ९१ रनको लक्ष्य प्रस्तुत गर्यो। नेपालका ओपनरद्वय कुशल र आसिफले १ सय ७१ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए। यो साझेदारी नेपालको एकदिवसीय क्रिकेटमा अहिलेसम्मकै ठूलो हो। यसअघि ज्ञानेन्द्र मल्ल र आसिफ सेखको नाममा १ सय ३९ रनको साझेदारी थियो। कुशल र आसिफको यो कीर्तिमानी साझेदारी प्रेरणामा नेपालले राम्रो योगफल पनि खडा गर्यो। नेपालले ३१.५ ओभरमा पहिलो विकेट गुमाको थियो। ओपनर कुशल ९९ रनमा आउट भए।  

नेपालको खातामा थप २ रन जोड्दा अर्का ओपनर आसिफ ६६ रनमा पवेलियन फर्किए। यी दुवै ब्याटर वेलिङ्टन मासाकाड्जाद्वारा आउट हुन पुगे। ९५ बल खेलेका कुशलले १३ चौका र दुई छक्का हिर्काए। आसिफको इनिङमा सात चौका रह्यो। यी दुई ब्याटर आउट हुँदा ३३.५ ओभरमा नेपाल १७४÷२ को राम्रो स्थितिमा थियो। त्यसपछि आएका दुई ब्याटर कुशल मल्ल र कप्तान रोहितले पनि राम्रो ब्याटिङ गर्दै नेपालको इनिङलाई चुनौतीपूर्ण लक्ष्यतर्पm डोर्याएका थिए। ४४औं ओभरमा रोहित ३१ रन र ४५औं ओभरमा कुशल ४१ रनमा आउट हुन पुगे।

नेपालको चौथो विकेट पतन हुँदा २ सय ५५ रन थियो। यद्यपि, त्यसपछि आएका ब्याटरले उल्लेख्य रन बनाउन नसक्दा नेपालले तीन सय रनको आँकडा पार गर्न सकेन। अन्तिम सात ओभरमा नेपालले ६ विकेट गुमाउन पुग्यो। जिम्बाब्वेको बलिङमा रिचार्ड एनगराभाले सर्वाधिक चार विकेट, मासाकाड्जाले दुई तथा टेन्डाई चतरा र ब्लेसिङ मुजारबानीले समान एक विकेट निकाले। पाँच टोली रहेको समूह ‘ए’ मा नेपालले पहिलो खेलमा हार बेहोर्यो। यही समूहको अर्को खेलमा वेस्ट इन्डिजले अमेरिकालाई ३९ रनले पराजित गर्यो। नेपालले समूहको दोस्रो खेलमा मंगलबार अमेरिकाविरुद्ध खेल्नेछ।  

प्रकाशित: ४ असार २०८० ०१:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App