१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

आर्मी र एपिएफ लिग च्याम्पियन

काठमाडौं- ओपन स्पाइकर धनबहादुर भट्ट र मानबहादुर श्रेष्ठको सानदार प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई हराउँदै आरबिबी एनभिए पुरुष लिग भलिबल जितेको छ। महिलातर्फ भने एपिएफले न्यु डायमन्ड एकेडेमीलाई हराउँदै लिग च्याम्पियन बनेको छ।

सोमबार त्रिपुरेश्वरमा आर्मीले पुलिसलाई २५–१८, २५–१६, २७–२५ ले हरायो। सुरुआती सेटबाट खेलमा नियन्त्रण लिएको आर्मीले अन्तिम सेटमा मात्र दबाबको सामना गरेको थियो। प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट स्पाइकर बनेका धनबहादुरले २१ बलमा १२ अंक जोडे। प्रतियोगिताभर गरेको प्रदर्शनका आधारमा धनबहादुरले १२४.९९ अंक बटुल्दै उत्कृष्ट खेलाडीको पुरस्कार पाए। फाइनलमा आर्मीका लागि भने मानबहादुरले सर्वाधिक अंक जोडेका थिए। उनले ३० बलमा  १६ अंक प्राप्त गरे। प्रतियोगितामा यसअघिको खेलमा आर्मी पुलिससँग ५ सेट खेलेर पराजित भएको थियो।

आर्मीका प्रशिक्षक जगदीश भट्टले पुलिसको मुख्य स्पाइकरलाई ब्लक गरेपछि सफलता हात लागेको बताए। उनले भने, ‘उनीहरूको स्पाइकलाई रोक्ने हामीले रणनीति बनाएको थियौं। मुख्य स्पाइकरलाई फ्री भएर खेल्न दिएनौं। त्यसले पुलिसलाई अप्ठ्यारो भयो।'

पुलिसका प्रशिक्षक सरोज श्रेष्ठले लिगको खेलतालिकाका बारेमा असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘पुलिस लिग च्याम्पियन भइसकेको टिम हो। तर तालिका निर्माण गर्दा हामीलाई झुक्याएर बनाइएको छ। लिगमा दोस्रो हुने टोलीले फाइनल खेल्न पाउने नियम हामीले कतै भएको थाहा पाएका छैनौं। तालिकाले हाम्रा खेलाडीको आत्मविश्वास घटाएको छ।'

आर्मी पछिल्लो समय घरेलु भलिबलमा उत्कृष्ट नतिजा निकाल्दै आएको टोली हो। ८ राष्ट्रिय टोलीका खेलाडीको साथ पाएको आर्मीले अनुभवी पुलिसलाई सोमबार हरेक सेटमा खुलेर खेल्न दिएको थिएन। तेस्रो सेट मात्र पुलिसले अग्रता लिन सफल भएको थियो। तर अन्त्यमा त्यो अग्रतालाई भने पुलिसले जितमा बदल्न सकेन।

राष्ट्रिय खेलाडी बाहुल्य एपिएफ महिला टोलीले अपराजित यात्रालाई जारी राख्दै लिग जित्न सफल भयो। एपिएफले आइतबार भएको खेलमा डायमन्डलाई ३–१ को सेटमा हराएको थियो। तर सोमबार भने सहजै सोझो सेटमा हराउन सफल भयो। एपिएफले डायमन्डलाई ३-१ ले हराएको थियो। खेलमा डायमन्डकी स्पाइकर प्रतिभा मालीले ३२ अंक जोडे पनि टोलीलाई सफलता दिलाउन सकिनन्। एपिएफकी सरस्वती चौधरीले २२ अंक जोडिन्। एपिएफका प्रशिक्षक प्रकाश थपलियाले ब्लक राम्रो हुँदा सोझो सेटमा सफलता प्राप्त गरेको बताए। उनले भने, ‘डायमन्डको ओपन स्पाइकर बलियो छ। हाम्रो ब्लक राम्रो भयो। नकारात्मक अंक कम दिएका कारण हामी बलियो भएका थियौं।'

डायमन्डका प्रशिक्षक कुमार राईले टोलीमा नयाँ ब्लकर र अलराउन्डर स्पाइकरको कमी भएको बताए। उनले भने, ‘हाम्रो डिफेन्स र स्पाइक बलियो पक्ष हो। दुवैमा हामी कमजोर देखियौं।'

क्लब लिगको पुरुषतर्फ हेल्प नेपाल तेस्रो र एपिएफ चौथो भए। महिलातर्फ पुलिसले तेस्रो र पश्चिमाञ्चलले चौथो स्थान हासिल गरे। लिगविजेता पुरुष, महिला टोलीले समान २ लाख, दोस्रो १ लाख, तेस्रोले ७५ हजार र चौथोले ३० हजार प्राप्त गरे। सर्वोत्कृष्ट खेलाडीले समान २० हजार र विधागत रूपमा उत्कृष्ट हुनेले समान १० हजार पाए।

यसै गरी आइतबार आर्मी र हेल्प नेपाल क्लबबीचको खेलमा रेफ्रीको निर्णयलाई लिएर गलत प्रचार गरिएको रेफ्री कपिल जिसीले बताएका छन्। हेल्प नेपालका प्रशिक्षक अरुण श्रेष्ठले सञ्चारमाध्यमलाई खेल भावनाविपरीत अभिव्यक्ति दिएको जिसीले प्रतिक्रिया दिए।

प्रकाशित: ५ वैशाख २०७४ ०५:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App