१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

रुपन्देहीको तिलोत्तमामा ४० करोडको निजी लगानीमा क्रिकेट रङ्गशाला बन्दै

रुपन्देहीको तिलोत्तमामा ४० करोडको निजी लगानीमा  क्रिकेट रङ्गशाला बन्ने भएको छ। तिलोत्तमा नगरपालिका वडा नं. १७ स्थित पूर्व दरखसवामा २५ हजार दर्शक क्षमताको रङ्गशाला निर्माणका कार्य सुरु भएको हो। 

गुल्मीको मदाने गाउँपालिका ४ काभ्रे घर भई हाल अस्ट्रेलियाको सिड्नीमा सूचना प्रविधि सम्बन्धी व्यवसाय गर्दै आएका  विनोद कुँवरले निजी लगनीमा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान बनाउन लागेका हुन। ५ बिघा क्षेत्रफलमा निर्माण गर्न लागीएको यो रङ्गशालालाई निजी लगानीमा बन्ने नेपालकै पहिलो क्रिकेट रगंशाला भएको दावी गरिएको छ। 

अस्ट्रेलियाको सिड्नीमा रहेको आइटी ट्रेनिङ इन्सिच्युट एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक विनोद कुँवर र चिफ अप्रेटिङ अफिसर सुदिक्षा गौतमको स्वमित्वमा यो रगंशालाको  रहेको छ। 

।  एक्स्ट्राटेक ओभल क्रिकेट मैदान नाम दिइएको  रगंशालाको सोमबार एक कार्यक्रमका बिच तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शिलान्यास गरे। क्रिकेट मैदानको शिलान्यास गर्दै नगरप्रमुख खाँणले तिलोत्तमामा निर्माण गर्न लागिएको रङ्गशालालाई स्थानीय सरकारको पूर्ण साथ सहयोग रहने बताए। 

नगरपालिकाले यसलाई नगरकै गहनको रुपमा लिएर संरक्षण गर्ने र  संचालनमा आवश्यक सहयोग गर्ने बताए। कार्यक्रममा प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई,नेपाल ओलम्पिक कमिटीका केन्द्रीय सदस्य दिर्घबहादुर केसी,नेपाल क्रिकेट संघ क्यानका सचिव प्रशान्तविक्रम मल्ल  लगायतले  बोल्दै  क्रिकेटका लागि उर्वर रहेको रुपन्देहीमा एकेडेमी सहितको रगंशाला बन्दा क्रिकेटले थप फडको मार्ने बताए।

 पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचन एक्स्ट्राटेक  क्रिकेट मैदानको ब्रान्ड एम्बासडर रहेका छन। रंगशालामा हुने एकेडेमी तर्फको जिम्मेवारी क्रिकेटर गौचनलाइ दिइएको छ। 

आफू सानै देखि क्रिकेट खेलको पारखी भएकाले यो खेलको विकासमा योगदान दिने उद्देश्यले आम्दानीको केही प्रतिशत छुट्टाएर क्रिकेट मैदान निर्माण गर्न कसीएको एक्स्ट्राटेक ओभल प्रालिका प्रबन्ध निर्देशक  विनोद कुँवरले बताए।उनका अनुसार आयोजना सम्पन्न गर्न ४० करोड लागत अनुमान गरिएको  छ। अनुमानित लागत सुनिश्चिता संगै आयोजना अगाडी बढाइएको कुँवरले बताए। 

निर्माण सुरु भएको पहिलो वर्ष ५ हजार दर्शक क्षमताको मैदान तयार हुने र हरेक वर्ष पाँच हजार क्षमता थप्दै लगेर ५ वर्षमा २५ हजार क्षमताको रगंशाला तयार हुने संचालक कुँवरले बताए। रगंशालालाइ क्रिकेट तालिम केन्द्र सहितको बनाइने र त्यसकालागि एकेडेमी भवन,होस्टेल सहितका आवश्यक सबै पूर्वाधार तयार गरिने उनले बताए। 

 रङ्गशालाको कम्पाउन्ड भित्र होस्टेल सहितको चार तले एकेडेमी भवन बन्ने छ।  एक सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिने लक्ष्य राखिएको सुदिक्षा गौतमले बताइन। क्रिकेट मैदान निर्माण कालागि एक वर्ष अघि देखि प्रक्रिया थालिएको जानकारी दिँदै कुँवरले  दरखसवाका २९ जना किसानबाट ५ बिघा जमिन किनेर मैदान बनाउन सुरु गरेको जानकारी दिए। पछिल्लो दुईसातामामा मात्रै ८ सय ट्रक माटोले मैदान सम्याइएको र बाँकी काम तीव्र रुपमा अगाडी बढ्ने उनले बताए। आगामी पाँच वर्ष भित्रमा योजना सफल बनाएरै छोड्ने दावी कुँवरले गरेका छन। 

क्रिकेट रगंशाला,अस्पताल र आइटी कलेज स्थापना गर्ने आफ्नो मुख्य सपना रहेको उल्लेख गर्दै कुँवरले ती सपनाहरूलाई साकार पार्ने बताए ।  क्रिकेट खेलाडी उत्पादन कालागि उर्वर मानिएको रुपन्देहीमा निजी लगानीमा अन्तर्राष्ट्रिय स्तरकै क्रिकेट मैदान बन्ने भएपछि यसले क्रिकेटको विकास तथा खेलाडी उत्पादनमा महत्त्वपूर्ण भुमिका खेल्ने अपेक्षा क्रिकेटप्रेमीहरुले लिएका छन।

प्रकाशित: ३० जेष्ठ २०८० ०९:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App