इलाम— मोफसलका ५ भेटमा ४ नतिजा आफ्नो हात पारेको सिएमजी संकटा क्लब सशस्त्र प्रहरीको एपिएफ क्लबसँग मंगलबार तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको अन्तिम क्वार्टरफाइनलमा भिड्दैछ। व्यक्तिगत रूपमा नेपालकै ‘सेलिब्रेटी’ विमल घर्ती मगरसहित मैदान उत्रिन लागेको संकटालाई एपिएफ सामना गर्नु ‘जटिल नभएपनि’ खेलाडीबीचको तालमेल चुनौतीपूर्ण हुनेछ।
‘टिममा खेलाडी त एकसे एक छन् तर व्यक्तिगत रूपमा फुटबलका जादुगर नै भएपनि अभ्यास कम भएकाले टिममा हुनुपर्ने तालमेल पर्याप्त नहोला कि भन्ने मात्रै हो,’ उनले भने, ‘एपिएफसँग एउटा खेलमा पराजित भएकाले पनि हामी विपक्षीलाई कमजोर ठान्दैनौं।’
इलामको ठूलो टुँडिखेलमा पहिलोपटक उत्रिन लागेको संकटा र चिरपरिचित एफिएफ क्लबबीच दिउँसो साढे २ बजे खेल सुरु हुनेछ। विशु अधिकारीको कप्तानीमा संकटाले चर्चित स्ट्राइकर विमलसहित विक्रम लामा, अनन्त तामाङ, विशाल श्रेष्ठलगायतलाई मैदान उतार्ने टिम म्यानेजर राजेश तुलाधरले नागरिकन्युजलाई बताए।
‘टिममा खेलाडी त एकसे एक छन् तर व्यक्तिगत रूपमा फुटबलका जादुगर नै भएपनि अभ्यास कम भएकाले टिममा हुनुपर्ने तालमेल पर्याप्त नहोला कि भन्ने मात्रै हो,’ उनले भने, ‘एपिएफसँग एउटा खेलमा पराजित भएकाले पनि हामी विपक्षीलाई कमजोर ठान्दैनौं।’
काँकडभिट्टा गोल्डकपमा संकटालाई सेमिफाइनलमा पराजित गरेको एपिएफका लागि मंगलबारको भेट भने ‘निकै प्रतिस्पर्धात्मक’ साबित हुनेछ। मिलन राईको कप्तानीमा नवीन लामा, राजेन्द्र रावल, रमेश दंगाललगायतलाई प्रतिस्पर्धामा उतार्न लागेको एपिएफका प्रशिक्षक कुमार थापाले संकटासँग हार र जितकै इतिहास रहेकाले आफूहरू जित्ने योजनासाथ उत्रिन लागेको बताए।
‘हामीले ५ पटकमा ४ पटक हार्यो तर त्यसयता हामी नयाँ रणनीतिसाथ अघि बढेकाले आजको नतिजा आफ्नो पक्षमा पर्छ भन्नेमा ढुक्क छौं,’ उनले मंगलबार भने, ‘टिमका सबै खेलाडी निकै अनुभवी पनि छन्’, उनले भने।
यसअघिका भेटमा संकटाले सिमरा, बूढासुब्बा, नेपालगञ्जलगायत गोल्डकपमा एपिएफलाई पराजित गरेको थियो। काँकडभिट्टा गोल्डकपमा भने एपिएफले संकटालाई सेमिफाइनलमा हराएको थियो। मंगलबारको खेलपछि माइभ्याली गोल्डकपको सेमिफाइनल समीकरण पूरा हुनेछ।
मंगलबारको विजेताले आउँदो २४ गते रमपम झापा–११ सँग सेमिफाइनल खेल्नेछ । झापा–११, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । पुलिस र आर्मीबीचको पहिलो सेमिफाइनल बुधबार हुनेछ।
प्रकाशित: २२ चैत्र २०७३ ०७:४६ मंगलबार