काठमाडौं– युनिभर्सिटी क्रिकेट क्लबले मंगलबारबाट युनिभर्सिटी क्रिकेट कप प्रतियोगिता गर्ने भएको छ। ट्वान्टी–२० स्वरूपमा खेलाइने प्रतियोगितामा १६ टोलीको सहभागिता रहनेछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ८ दिनसम्म चल्ने प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय तथा पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कजेलहरूले प्रतिस्पर्धा गर्ने संयोजक सन्दीप शर्माले जनाकारी गराए । उनले कलेजहरूबाट खेलाडी उत्पादन होऊन् र विश्वविद्यालय क्रिकेट थप व्यावसायिक होस् भन्ने उद्देश्यले यस्तो प्रतियोगिता गर्न लागेको बताए।
नकआउटका आधारमा हुने प्रतियोगितामा नेपाल इन्जिनियरिङ कलेज ‘ए’ र ‘बी’ टोलीका साथै पाटन मल्टिपल क्याम्पस, निस्ट कलेज, सहिद स्मारक कलेज, पाटन एकेडेमी अफ हेल्थ साइन्स, कसमस कलेज, नेपाल कमर्स क्याम्पस, ग्लोबल कलेज, सेन्ट लोरेन्स कलेज, शंकरदेश क्याम्पस, राजश्री कलेज, के एन्ड के कलेज, गोल्डेन गेट कलेज र काठमाडौं युनिभर्सिटी स्कुल अफ आर्ट सहभागी हुँदै छन्।
प्रतियोगिताका विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् भने उपविजेताले ५० हजार रुपैयाँ नगद पाउनेछन् । त्यस्तै म्यान अफ दी म्याच, म्यान अफ दी सिरिज, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डर तथा उदीयमान खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले बतायो।
प्रकाशित: २२ चैत्र २०७३ ०२:०४ मंगलबार