२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

मुस्ताङमा अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव

प्रकृति, संस्कृति र सिर्जनशीलताको उत्सव मनाउने उद्देश्यका साथ हिमाली जिल्ला मुस्ताङमा आगामी अक्टोबर १८–२४ तारिख (कार्तिक २–८ गते) सम्म पहिलो अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव आयोजना हुने भएको छ।

मुस्ताङ यहाँको पारम्परिक संगीत, नृत्य, विभिन्न सांस्कृतिक परम्पराका लागि प्रख्यात छ। सोही कलालाई चित्रकारहरूमाझ बाँड्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजक समितिका ट्रिपल पी गुरुङले बताए। महोत्सवमा मुस्ताङका मार्फा, थिनी, कागबेनी र जोमसोम लगायतका स्थानमा यी कार्यक्रमहरू गरिने छ।

महोत्सवमा आउटडोर चित्रकला कार्यशालासँगै फोसिल हन्ट एन्ड स्टोन आर्ट, साउन्ड हिलिङलगायत विभिन्न सांस्कृतिक र सांगीतिक कार्यक्रम गरिने छ। महोत्सवको अर्को आकर्षण ‘ट्राभलिङ किम्फ’ रहेको छ। अक्टोबर २० देखि २४ तारिखसम्म हरेक साँझ दुई घन्टा हिमाली क्षेत्रका नामी चलचित्रहरू देखाइने यो कार्यक्रमलाई काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) ले संयोजन गर्ने छ।

महोत्सवमा अन्तर्राष्ट्रिय चित्रकारहरू थाइल्यान्डबाट डिरेक किङ्नक र काराज डब्लुएसपी, पोल्यान्डबाट इवा क्रुएजकोस्का, रोमानियाबाट स्टेफन बालोग, भुटानबाट जामपेल छेदा, इन्डोनेसियाबाट एमी गो र ताइवानबाट छेङ हान–वेनलगायतले सहभागिता जनाउने भएका छन्।

यस्तै नेपालका चित्रकार सिर्जन राजभण्डारी, एरिना ताम्राकार, हरेराम जोजु, एनबी गुरुङ, वाङ लामा, ध्वज गुरुङ, मनोज तामाङ, नविन नाल्बो र आकाश गुरुङले पनि आफ्नो प्रतिभा बाँड्नेछन्। नेपाल पर्यटन बोर्ड प्रवद्र्धन साझेदार रहेको महोत्सवको प्रायोजन ओम्स होम, रेडहाउस र ठमेल भिल्ला होटलले गरेका छन् भने सहयोगीमा युरोपियन युनियन, स्विस सरकार विकास सहयोग एसडीसी, दलाइ ला, यति एयरलाइन्स, शेर्पा ब्रुअरी, हार्मोनिक लिबरेसन, होटल मस्र्याङ्दी रहेका छन्।  

प्रकाशित: २४ आश्विन २०८१ १०:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App