२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

मनाङलाई १-० हराउँदै पुलिस क्लब सेमिफाइनलमा

तस्विरः भीम

इलाम— चिरपरिचित प्रतिद्वन्द्वी लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दीलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लबले माइभ्याली गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। बहुसंख्यक दर्शकको अपेक्षालाई गलत साबित गर्दै पुलिसले मनाङलाई सिजनको पहिलो भेटमै १–० ले घर फर्कायो।

पुलिसको जितमा अभिषेक रिजालले ३६औं मिनेटमा निर्णायक र आकर्षक गोल गरे। डि–बक्समा निकैबेरको ड्रिबलिङपछि आएको पासलाई सदुपयोग गर्दै उनले गोललाई जाली चुमाएका हुन्। पूर्वार्धमा निकै सनसनीपूर्ण प्रतिस्पर्धा देखाउन चम्किएको मनाङलाई पुलिसले उत्तरार्धमा निकै चुनौती दियो। मनाङका विदेशी खेलाडी डेनीको निकै आकर्षक प्रहार गोलमा परिणत हुन सकेन।

उत्तरार्धमा मनाङका सुजल श्रेष्ठ र विशाल राईले विपक्षीको गोल पोस्टनजिकैबाट गरेका आकर्षक प्रहार खेर गएका थिए। मनाङकै खेलाडी डेनीले डि–बक्स छेउबाटै गरेको प्रहारसमेत गोल हुन नसकेपछि मनाङले हार व्यहोर्न बाध्य भयो। राष्ट्रिय फुटबल टोली कप्तान विराज महर्जन, विशाल राई बी, सुजल श्रेष्ठ, कमल श्रेष्ठ र ३ विदेशी खेलाडीसहित पहिलोपटक मनाङ इलामे मैदानमा उत्रिएपछि नतिजा आफ्नो पक्षमा पार्न सकेन।

पुलिसको जितमा अभिषेक रिजालले ३६औं मिनेटमा निर्णायक र आकर्षक गोल गरे। डि–बक्समा निकैबेरको ड्रिबलिङपछि आएको पासलाई सदुपयोग गर्दै उनले गोललाई जाली चुमाएका हुन्।

पहिलोपटक इलामे ठूलो टुँडिखेलको अनुभव लिँदा आफ्ना खेलाडीलाई असहज भएकाले पराजित हुनुपरेको मनाङमा प्रशिक्षक छिरिङलोम्बाङ गुरुङले बताए। ‘यो मैदानमा हामीले प्राविधिक रूपले सजिलोगरी खेल्नै सकेनौं,’ उनले भने, ‘तैपनि, निकैपटकको अवसर खेर जाँदा विजयी हुन सकिएन।’ धनगडी, आहा, झापा र भर्खरै सर्लाहीमा भएका प्रतियोगिता जितेको मनाङले मौसमले साथ नदिनु पनि पराजयको कारण ठम्याएको छ। बाक्लो हुस्सु लागेका कारण सोमबारको खेल उत्तरार्धमा २ पटकसम्म स्थगित गरिएको थियो। हुस्सुले बल नदेख्दा निर्णायक लब खत्रीले करिब १०–१० मिनेट खेल स्थगित गरेर पुनः खेलाएका थिए।

भोला सिलवालको कप्तानीमा मनाङविरुद्ध उत्रिएको पुलिसमा स्ट्राइकर जुमानु राई खेल सकिन करिब ५ मिनेटअघि मात्रै मैदान प्रवेश गरे। पुलिसको खम्बाका रूपमा उदाएका भोला सोमबारको ‘म्यान अफ् दि म्याच’ भए। कप्तान सिलवालले जुन रणनीतिले पुलिस मैदानमा उत्रिएको थियो, त्योभन्दा राम्रो प्रदर्शनले सफलता दिलाएको बताए। ‘आजको खेल सोचेभन्दा राम्रो भयो,’ उनले भने, ‘आउँदो खेल अझ सुधार्नेछौ।’ उनले जुनसुकै खेलको पूर्वार्धमा पुलिसलाई लापर्बाहीको आरोप लाग्ने गरेको र सोमबार पनि त्यही भएको बताए। ‘फस्ट हाफमा हाम्रो जहिले पनि नेक्लिजेन्स देखिन्छ, आज पनि त्यस्तै भयो,’ उनले सुनाए, ‘यो रणनीति होइन, किन–किन त्यस्तो भइहाल्छ।’

स्ट्राइकर जुमानुले ढाडको समस्याले आफू पूरा समय खेल्न नपाएको बताए। ‘हड्डी दुखेर लामो समय खेल्न सकिनँ तर आइपरेपछि २ वटा पेनकिलर खाएर भएपनि खेलमा नपसी मन मानेन,’ उनले भने, ‘आइपरेका बेला टिमलाई साथ दिन शारीरिक कष्टसमेत बिर्सिइएछ ।’ पुलिसले २०५१ सालदेखि ठूलो टुँडिखेलमा सञ्चालित भूकम्प स्मृति कपका तीनै संस्करणको उपाधि उचालेकाले पनि इलामले दर्शक पुलिसलाई आसलाग्दो टिम सम्झिन्छन् ।

पुलिस आयोजक माइभ्याली फुटबल क्लबलाई उद्घाटन खेलमा पराजित गर्दै क्वार्टरमा आएको हो । मनाङले भने सीधै क्वार्टरमा मौका पाएको थियो । तेस्रो क्वार्टरफाइनल विजेता पुलिसले नेपाली सेनाको त्रिभुवन आर्मीसँग आउँदो २३ गते सेमिफाइनल खेल्नेछ । मंगलबारको अन्तिम क्वार्टरफाइनलमा सिएमजी संकटा र सशस्त्र प्रहरीको एपिएफ क्लब आमने–सामने हुँदैछन् । मंगलबारको विजेताले झापा–११ सँग आउँदो २४ गते दोस्रो सेमिफाइनल खेल्नेछ । पहिलो र दोस्रो क्वार्टरफाइनलबाट त्रिभुवन आर्मी र झापा–११ सेमिमा प्रवेश गरिसकेका छन् । ४ लाख रुपैयाँ नगद पुरस्कार राशिको माइभ्याली गोल्डकपको फाइनल चैत २६ मा हुँदैछ । 

प्रकाशित: २१ चैत्र २०७३ १३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App