७ वैशाख २०८१ शुक्रबार
खेल

नेपालद्वारा शृंखलामा पुनरागमन

सुधारिएको ब्याटिङ गरेपछि नेपाली महिला क्रिकेट टोलीले मंगलबार घरेलु टोली मलेसियामाथि सात विकेटको जित निकाल्दै ट्वान्टी–२० शृंखलामा पुनरागमन गरेको छ।

पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि मलेसिया भ्रमणमा रहेको नेपालले पहिलो खेलमा बिर्सनलायक ब्याटिङ गरेपछि लज्जास्पद हार बेहोरेको थियो। यद्यपि, मंगलबार भने नेपालले सुधारिएको ब्याटिङ गर्यो। मलेसियाको बांगी सहरस्थित वाइएसडी युकेएम क्रिकेट ओभलमा मलेसियामाथि सहज जितसहित नेपाल शृंखलामा फर्किएको छ। ९८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा मात्र तीन विकेट गुमाउँदै पूरा गर्यो। पहिलो खेलमा ५० रनमै खुम्चिएको नेपाल दोस्रो दिन भने समालिएर खेल्यो। ओपनरद्वय कविता कुँवर र सीता रानामगरले पहिलो विकेटका लागि ३३ रनको योगदान दिए।

नेपालले अनुभवी ब्याटर सीतालाई पहिलो विकेटका रूपमा गुमाउन पुग्यो। यद्यपि, सोमबार खाता नखोल्दै पवेलियन फर्किएकी सीताले २३ रन बनाइन्। त्यसपछि आएकी विन्दु रावल १७ रनमा आउट भइन्। नेपालले तेस्रो विकेटका रूपमा कवितालाई २६ रनमा गुमायो। तर, कप्तान रुबिना क्षेत्रीले २९ रनमा अविजित रहँदै अलराउन्ड प्रदर्शन गरिन्। रुबिना पहिलो खेलमा २ रनमै आउट भएकी थिइन्। दोस्रो खेलमा भने उनले सुधारिएको ब्याटिङ गरिन्। रुबिनाको इनिङमा तीन चौका र एक छक्का रह्यो।  

अलराउन्ड प्रदर्शन गरेकी रुबिना प्लेयर अफ दी म्याच घोषित भइन्। पहिलो खेलमा उत्कृष्ट बलिङ गर्दै नेपाली ब्याटरलाई निरीह बनाएका मलेसियन बलर दोस्रो दिन भने चल्न सकेनन्। मलेसियाका आइसा इलिसा, निक नुर र विनिफ्रेड दुरैसिंघमले समान एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको मलेसिया मध्यम सुरुआत गर्यो। निर्धारित २० ओभर खेल्दा पाँच विकेट मात्र गुमाएको मलेसियाले ९७ रनको योगफल खडा गर्यो। मलेसियाका शीर्ष चारका ब्याटरले दोहोरो अंकमा रन बटुले।  

ओपनरद्वय विनिपे्रmड र वान जुलियाले समान २० रन जोड्दा कप्तान मास इलिसाले २८ रन र आइना हामिजाहले १४ रन बनाए। नेपालको बलिङमा रुबिनाले दुई विकेट तथा कविता कुँवर र इन्दु बर्माले समान एक विकेट लिए। तीन ओभर बलिङ गरेकी अस्मिना कर्माचार्य र एक ओभर बलिङ गरेकी सरस्वती कुमार महँगा साबित भए। शृंखलाको तेस्रो खेल बिहीबार हुनेछ।

प्रकाशित: १७ जेष्ठ २०८० ०१:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App