१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पदक तालिकामा काठमाडौंको वर्चस्व

चार जिल्लामा प्रतिस्पर्धा भइरहेको दोस्रो बाग्मती प्रदेश खेलकुदमा पाँचौं दिनको खेल सकिँदा पदकतालिकामा डिफेन्डिङ च्याम्पियन काठमाडौंले वर्चस्व राखेको छ।

बाग्मती प्रदेश खेलकुद परिषद्को आयोजनामा जारी खेलकुदमा काठमाडौंले ३१ स्वर्ण, २१ रजत र २५ कांस्यसहित शीर्षता ओगेटेको हो। चितवन र काभ्रेले समान २२ स्वर्ण जितेका छन्।

तर, चितवनले २४ रजत र २५ कांस्य तथा काभ्रेले १३ रजत र १८ कांस्य प्राप्त गरेका छन्। ललितपुरले १९ स्वर्ण, २५ रजत र २७ कांस्य तथा सिन्धुपाल्चोकले १७ स्वर्ण, ८ रजत र १६ कांस्य पदक जिते। १३ जिल्लामध्ये धादिङ र रसुवाले अहिलेसम्म स्वर्ण पदकको खाता खोल्न सकेका छैनन्। बिहीबारसम्म तेक्वान्दो, कराते, भलिबल, आइटिएफ, ब्याडमिन्टन, बक्सिङ, उसु, जुडो, पौडी र एथलेटिक्सको प्रतिस्पर्धा सकिएका छन्। पौडीको २० स्वर्ण भने पदकतालिकामा गणना हुने छैन।

महिला क्रिकेट र महिला फुटबलको प्रतिस्पर्धा पनि सकिएको छ। महिला फुटबलमा काठमाडौंले सिन्धुलीलाई २–० ले पराजित गर्दै स्वर्ण जित्यो। विजयी टोलीका लागि सुजिता घलान र मनीषा थापामगरले गोल गरेका थिए। प्रतियोगितामा उत्कृष्ट खेलाडी र फरवार्डको पुरस्कार काठमाडौंकै सरस्वती ऐरले प्राप्त गर्दा सर्वाधिक गोलकर्ता काठमाडौंकी मनीषा थापामगर भइन्। मकवानपुरको पिप्लेस्थित क्याम्पा रंगशालामा उद्घाटन भएको खेलकुद आगामी जेठ १३ गते समापन हुनेछ। खेलकुदमा कुल दुई हजार पाँच सय दुई खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। आफ्ना स्पर्धा समापनकै दिन स्वर्ण विजेताले पाँच हजार, रजत विजेताले चार हजार र कांस्य विजेताले तीन हजार पुरस्कार प्राप्त गरिरहेका छन्।  

सोहन र पेमा उत्कृष्ट बक्सर

मकवानपुरका सोहन राई र काभ्रेकी पेमा लामा जारी दोस्रो बागमती प्रदेश खेलकुदको बक्सिङ प्रतियोगितामा उत्कृष्ट बक्सर घोषित भएका छन्।

हेटौडास्थित हेटांैडा कभर्डहलमा सम्पन्न बक्सिङ प्रतियोगितामा पुरुष ६३ केजी तौल समूहमा स्वर्णविजेता सोहन र महिला ५७ केजीमा स्वर्णविजेता पेमा उत्कृष्ट बक्सर भएका हुन्। सोहनले फाइनलमा सिन्धुपाल्चोकका प्रज्वल श्रेष्ठलाई ५–० ले हराउँदा पेमाले चितवनकी नतिसा थापामगरमाथि ५–० को जित निकालिन्। प्रतियोगितामा काभ्रे सात स्वर्ण, दुई रजत र दुई कांस्य साथ टिम च्याम्पियन बन्यो। समान तीन स्वर्ण, रजत र कांस्यसाथ काठमाडौं दोस्रो भयो। भक्तपुर तीन स्वर्णसहित तेस्रो भयो।

काठमाडौं र चितवनलाई स्वर्ण

काठमाडौं र चितवनले जारी दोस्रो बागमती प्रदेश खेलकुदमा बिहीबार भलिबल प्रतियोगितामा स्वर्ण जितेका छन्।

हेटौंडास्थित हुप्राचौर खेलमैदानमा सम्पन्न प्रतियोगितामा काठमाडौंले महिलामा र चितवनले पुरुषमा स्वर्ण पदक जितेका हुन्। काठमाडौंले फाइनलमा दोलखालाई २५–५, २५–६ र २५–१२ ले हरायो। चितवनले भने फाइनलमा धादिङमाथि २५–१७, २२–२५, २८–२६ र २५–१८ को जित निकाल्दै पुरुषतर्पm स्वर्ण जित्यो। तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धा भने बेस्ट अफ थ्रीमा भएको थियो। पुरुषमा काठमाडौंले सिन्धुलीलाई २–१ ले र महिलामा चितवनले धादिङलाई २–० ले हराउँदै कांस्य पदक प्राप्त गरे।  

प्रतियोगितामा पुरुषतर्पm चितवनका नवीन महतो र महिलामा काठमाडौंकी सलिना बुढा मगर उत्कृष्ट खेलाडी भए। पुरुषमा चितवनका रमेशचन्द्र विक उत्कृष्ट प्रशिक्षक चयन हुँदा विधागत उत्कृष्टअन्तर्गत स्पाइकरमा मनोज श्रेष्ठ, सेटरमा चितवनका मन्जिल गुरुङ, ब्लकरमा चितवनकै सुरेश महतो, लिबेरोमा चितवनका समीर थापा, सर्भरमा धादिङका अमन आले उत्कृष्ट घोषित भए। महिलामा भने काठमाडौंका कुमार राई उत्कृष्ट प्रशिक्षक चयन भए।  

महिलाको विधागत उत्कृष्टअन्तर्गत स्पाइकरमा चितवनकी आरती सुवेदी, सेटरमा काठमाडौंका भावना तामाङ, ब्लकरमा काठमाडौंकी सुमित्रा रेग्मी, लिबेरोमा काठमाडौंकी एन्जिला प्रधान र सर्भरमा काठमाडौंकी निशा महर उत्कृष्ट भए। विजेता खेलाडीलाई प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्यसचिव सूर्यलाल भण्डारीले पुरस्कृत गरे। 

प्रकाशित: १२ जेष्ठ २०८० ०२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App