coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

दोस्रो बाग्मती प्रदेश खेलकुद सुरु

दोस्रो बाग्मती प्रदेश खेलकुद प्रतियोगिताको एक भव्य समारोहका बीच आइतबार उद्घाटन भएको छ।

बाग्मती प्रदेशको राजधानी हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पानसमा दीप प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरेका हुन्। त्यसअघि उद्घाटन समारोहमा १३ जिल्लाका खेलाडी, तीन विभागीय टोली नेपाल आर्मी, पुलिस र सशस्त्र प्रहरी बल, खेल निर्णायक तथा प्रशिक्षक र विभिन्न जातजातीका समूहले मार्च पास्ट गरेका थिए। सो अवसरमा ठूलो आतिसीबाजी भएको थियो। उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल र आर्मीलगायतले विभिन्न जातजाति र वेषभुषा झल्कने नृत्य प्रस्तुत गरे।

प्रमुख अतिथि जमकट्टेलद्वारा हस्तान्तरण गरिएको ओलम्पिक टर्चलाई ओलम्पियनहरू भक्तबहादुर सापकोटा, जितबहादुर मोक्तान र रामबहादुर गिरीले टर्च र्याली गराएका थिए। एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द गुरुङले प्राविधिकको तर्फबाट शपथ लिए। आयोजक बाग्मती प्रदेशका सदस्यसचिव तथा प्रतियोगिता संयोजक सूर्यलाल भण्डारीले स्वागत गर्दै कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको रूपमा पनि यो प्रतियोगितालाई  

लिइएको बताए। मुख्यमन्त्री जमकट्टेलले जारी प्रतियोगिता मात्र नभई यो प्रदेशले अन्तरप्रदेश खेलकुद प्रतियोगिता पनि गर्नुपर्ने बताए। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले कर्णाली प्रदेशमा हुने राष्ट्रिय खेलकुदका लागि यो प्रदेशले आफूलाई उत्कृष्ट तयारी गराउन सक्ने औंल्याए।  

उद्घाटन समारोहमा बाग्मति प्रदेश खेलकुद परिषद्की अध्यक्ष तथा सामाजिक विकास मन्त्री कुमारी मोक्तान, बाग्मती प्रदेशका मन्त्रीहरू, राखेपका बोर्ड सदस्यद्वय अन्जन धमला, प्रकास कुसारी र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायत उपस्थित थिए। प्रतियोगितामा बाग्मती प्रदेशका १३ जिल्लाका कुल दुई हजार पाँच सय दुई खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।  

प्रतियोगितामा १४२७ पुरुष र १०७५ महिला खेलाडी रहेको प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले जनाएका छन्। काठमाडौंमा जुडो र उसु, ललितपुरमा पौडी तथा चितवनमा क्रिकेटका प्रतिस्पर्धा हुनेछन्। बाँकी ९ खेल मकवानपुरका विभिन्न खेल मैदानमा हुने आयोजकले जनाएको छ। प्रतियोगिता जेठ १३ गतेसम्म सञ्चालन हुनेछ। पहिलो दिन चितवनमा क्रिकेट खेल सुरु भइसकेको छ।

प्रकाशित: ८ जेष्ठ २०८० ०१:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App