१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सुदूर पश्चिम र दिल्ली युनाइटेड भिड्दै

नेपालगन्ज- नेपालगन्जमा हुने ‘टुबोर्ग दोस्रो नेपालगन्ज गोल्डकप' फुटबल प्रतियोगितामा साबिक विजेता सुदूर पश्चिम–११ र दिल्ली युनाइटेड क्लब भिड्ने भएका छन्। दुवै टोली पहिलो पटक नेपालगन्ज रंगशालामा आमने–सामने हुन लागेका हुन्। दिल्ली युनाइटेट इन्डियन लिगको बी डिभिजन क्लब हो भने सुदूर पश्चिम–११ मोफसलको उदीयमान फुटबल क्लब हो। बिहीबार दिउँसो साढे १ बजे हुने उद्घाटन खेलमा दुुवै टोलीबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताका लागि दुवै टोलीले आआफ्नो तयारी गरेका छन्। सुदूर पश्चिम यस पटक पनि उपाधि जित्ने दाउमा छ। सुदूर पश्चिमका टिम म्यानेजर सुरेश हमालले आफ्ना खेलाडीले राम्रै तयारी गरेको बताए। पहिलो पटक टिममा ३ जना विदेशी खेलाडी समावेश गरेको जानकारी दिँदै हमालले भने, ‘विदेशी खेलाडीसहितको टोलीले यस पटक पनि  उपाधि जित्ने आशा छ।’

उनका अनुसार सुदूर पश्चिम–११ दुई दिनअघि मात्र भारतमा सम्पन्न प्रतियोगितामा उपाधि जितेर फर्केको थियो। टिमका कप्तान प्रणय अन्जनले दोस्रो पटक नेपालगन्ज रंगशालामा खेल्न पाउँदा अत्यन्तै खुसी भएको बताए।

दिल्ली युनाइटेडका प्रशिक्षक अन्सुलले पहिलो पटक नेपालगन्ज आएको र उपाधि जितेरै फर्किने लक्ष्य बोकेको बताए। ‘तयारी राम्रै गरेका छौं, तर खेल हो हार/जित केही भन्न सकिन्न,’ अन्सुलले भने ‘खेलाडीले नियमित रूपमा अभ्यास गर्दै आएको हुनाले नतिजा हाम्रै पक्षमा आउला।’ उक्त टिमका कप्तान डनछिरिङ लेप्चाले आफ्ना सबै खेलाडी क्षमतावान् रहेको दाबी गरे।

आगामी चैत ४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल प्रहरीको विभागीय टिम पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ तथा सिएमजी संकटा, मनाङ मर्स्याङ्दी, नेपालगन्ज–११, रूपन्देही–११, सुदूर पश्चिम–११ र दिल्ली युनाइटेड क्लब सहभागी हुने निश्चित भएको आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए। ‘आर्मी क्लबले अन्तिम समयमा आएर प्रतियोगितामा सहभागी हुन नसक्ने जबाफ दियो,’ उनले भने। प्रतियोगिताका विजेतालाई यस पटक ५ लाख र उप–विजेतालाई २ लाख ५१ हजार नगद पुरस्कार दिइने आयोजकले जनाएको छ।

प्रतियोगितालाई मध्यनजर गर्दै नेपालगन्ज रंगशाला दुलहीझैँ सिंगारिएको छ। प्रतियोगिता सञ्चालन अवधिभरको व्यवस्थापन जिम्मा अन्तरालले लिएको छ।

प्रकाशित: २६ फाल्गुन २०७३ ०४:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App