५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

सातमहिनापछि प्रदेश खेलकुद परिषद्को सदस्य सचिव नियुक्त

गएको असोजपछि गण्डकी प्रदेश खेलकुद परिषदले नयाँ सदस्य सचिव पाएको छ।  प्रदेश सरकारले नवलपुरका श्रीधर शर्मालाई सदस्य सचिवमा नियुक्त गरेको हो।

गण्डकी प्रदेश सरकारको मन्त्री परिषदको गत बैशाख २८ गतेको निर्णयले उनलाई रिक्त सदस्य सचिव पदमा नियुक्त गरिएको हो। सदस्य सचिव शर्मालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको खेलकुद महाशाखा प्रमुख घनश्याम पौडेलले पद बहाली गराएका थिए।

त्यसअघि नेकपा एमालेको मुख्यमन्त्री खगराज अधिकारीको नेतृत्वमा बनेको प्रदेश सरकारले वीरेन्द्र खड्कालाई सदस्य सचिव नियुक्त गरेको थियो। खड्का सरकारी कर्मचारी हुन्। सरकारी कर्मचारी भएकै कारण लाभको पद लिएको व्यक्तिलाई सदस्य सचिव बनाउन कानूनले नदिएपछि शर्मालाई सदस्य सचिवमा नियुक्त गरिएको हो।  

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै पूर्वसन्ध्यामा सदस्य सचिवको जिम्मेवारीबाट उमेर हदकै कारण तेजबहादुर गुरुङ अवकाश पाएका थिए। गुरुङको अवकाशपछि गण्डकी प्रदेश सरकार गठनमा देखिएको फेरबदलले नयाँ सदस्य सचिव नियुक्तियको प्रक्रियामा ढिलाई भएको थियो। नयाँ सदस्य सचिव नियुक्त नहुँदा गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखा प्रमुख घनश्याम पौडेललाई जिम्मेवारी दिईएको थियो।  

नवनियुक्त सदस्य सचिव शर्माले पदभार सम्हालेका छन्। पदबहाली गर्दै सदस्य सचिव शर्माले आफूले संधै अनुशासनमा रही खेलकुद विकासलाई अघि बढाउने बताए। ‘प्रदेश सरकारले मलाई जुन जिम्मेवारी दिएको छ त्यसका लागि म आभार व्यक्त गर्न चाहन्छु। आफूबाट नै खेलकुदले दिएको अनुशासनलाई मार्गदर्शनको रुपमा अघि बढाउने छु,’ उनको भनाई थियो।

आफ्नो कार्यकालमा कुनै गल्ती नगर्ने प्रतिवद्धता जनाउँदै उनले खेलकुद र परिषदको गरिमालाई बचाउन सके परिषदले ठूलो फड्को मार्ने स्पष्ट पारे। प्रदेश खेलकुदका उपाध्यक्ष ध्वजकुमार गुरुङले सबै मिलेर नै खेलकुदको विकासलाई अघि बढाउन सकिने उल्लेख गरे। लामो समय पछि परिषदले सदस्य सचिव पाउनु सुखद रहेको बताउँदै उनले खेलकुदमा रहेका चुनौतिहरुलाई समाप्त गर्न सबैको एकता आवश्यता औंल्याए।  

मन्त्रालयका खेलकुद महाशाखा प्रमुख तथा यस अघि सदस्य सचिवको रुपमा कार्यरत पौडेलले नवनियुक्त सदस्य सचिवलाई पदबहाली गराउँदै खेलकुदमा संघियताको मर्म अझै प्राप्त नरहेको बताउँदै प्रदेश खेलकुदमा रहेका चुनौतिहरु चीर्न सबैको सहयोग र सहकार्य रहेको बताए। कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्यद्वय दिलबहादुर गुरुङ, तारामाया थापा मगर लगायत परिषदका सदस्यहरुले नवनियुक्त सदस्य सचिव शर्मालाई स्वागत गरेका थिए।

यस अघि परिषदको सदस्य सचिवको रुपमा तेज बहादुर गुरुङ कार्यरत रहेका थिए। उमेर हदका कारण गत २०७९ असोज २४ गते उनले अवकाश पाएका थिए। सदस्य सचिवको पद चार वर्षको रहने प्रदेश खेलकुद विकास ऐनले तोकेको छ। नवनियुक्त सदस्य सचिव शर्मा भलिबलका पूर्व राष्ट्रिय खेलाडी एवं अधिवक्ता समेत हुन्।  

प्रकाशित: २ जेष्ठ २०८० ०८:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App