२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

प्रदेश सरकारले क्रिकेट रंगशाला बनाउने

कोसी प्रदेश सरकारले नेपाली क्रिकेट खेलाडीको सम्मानमा विराटनगर–१९ स्थित बैजनाथपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेटमा स्रोत सुनिश्चित गरी विराटनगर १९ स्थित बैजनाथपुरमा अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने तयारी गरेको हो।  

विराटनगरमा बुधबार आयोजित खेलाडी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि ३ वर्षभित्र सम्पन्न हुने गरी विराटनगरको बैजनाथपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्ने बताएका हुन्। ‘नेपाली क्रिकेटको राष्ट्रिय टोलीले प्राप्त गरेको सफलता ऐतिहासिक र गौरवपूर्ण भएकाले खेलाडीको सम्मानमा प्रदेश सरकारले विराटनगर–१९ स्थित बैजनाथपुरमा अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने तयारी गरेको छ,’ कार्कीले भने ‘आगामी आर्थिक वर्षदेखि निर्माण थालिने रंगशाला ३ वर्षमा सम्पन्न गर्ने गरी काम अघि बढाइनेछ।’ नेपालमा क्रिकेटको अन्तर्राष्ट्रिय स्तरको खेलमैदान नहुँदा क्रिकेट प्रतियोगिता आयोजना गर्न पनि गाह्रो हुने गरेको उनले बताए। मुख्यमन्त्री कार्कीले पहिलो चरणमा रंगशाला निर्माणलाई सरकारले प्राथमिकतामा राखेको र अर्को चरणमा क्रिकेटका खेलाडी उत्पादनका लागि निजी क्षेत्रसँगको सहकार्यमा क्रिकेट एकेडेमीहरू पनि सञ्चालनमा ल्याउने बताए। कार्यक्रममा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले नेपाली खेलाडीहरूले आर्थिक अभाव, पूर्वाधार अभाव र विभिन्न चुनौतीको सामना गरिरहेको बताए। उनले खेलकुदका पूर्वाधार विकासदेखि खेलाडीको मनोबल बढाउने नीति तथा कार्यक्रम प्रदेश सरकारले ल्याउने स्पष्ट पारे।  

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका नवनिर्वाचित अध्यक्ष राजेन्द्र राउतले क्रिकेट क्षेत्रमा सरकारको लगानी कमै भए पनि खेलाडीको मिहिनेतले ठूलो सफलता हासिल भएको बताए। राउतले खेलाडीलाई पनि सरकारले हेर्नुपर्ने धारणा राखे। उनले कोसी प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्न सरकारलाई आग्रह गर्दै आवश्यक खेलकुदको पूर्वाधार निर्माणका लागि सहयोग गर्न निजी क्षेत्र पनि तत्पर रहेको बताए। कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेल, क्रिकेटका पूर्वखेलाडी तथा उद्योगी पारस लुनियाँलगायतले क्रिकेटको विकासका लागि सुविधासम्पन्न रंगशालाको निर्माण गर्न सरकारलाई आग्रह गरे।  

कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक मोन्टी देसाईलगायत राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूलाई सम्मान गरिएको थियो। उद्योग वाणिज्य महासंघ कोसी प्रदेश, मोरङ व्यापार संघ र उद्योग संगठनले संयुक्त रूपमा नेपाली क्रिकेटको राष्ट्रिय टोलीलाई विराटनगरमा दिउँसो नगरपरिक्रमा र राति सम्मान कार्यक्रमको आयोजना गरेको हो। नेपाली क्रिकेट टिमका फिटनेस प्रशिक्षक अब्दुल सतारको उपचारका लागि पनि विराटनगरमा निजी क्षेत्रका तर्फबाट ७ लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो। यस्तै कार्यक्रममा लिलामी गरिएको ब्याटबाट उठेको डेढ लाख रूपैयाँ पनि अब्दुल सथारको उपचारमा खर्च गरिने आयोजक उद्योग संगठन मोरङले जनाएको छ। 

प्रकाशित: २९ वैशाख २०८० ०१:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App