१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

खेलाडी उत्पादन गर्न पौडी पोखरी निर्माण

बाँकेको खजुरामा पहिलोपटक निजी क्षेत्रबाट ठूलो लगानीमा पौडी पोखरी सञ्चालनमा आएको छ। खजुरा गाउँपालिका-४ स्थित मिनीपार्क उद्यानले पौडी पोखरी सञ्चालनमा आएको हो।

मनोरञ्जनका लागि मात्र नभई बाँकेमा पौडी खेलाडी उत्पादन गर्ने उद्देश्यले उक्त पोखरी निर्माण गरिएको छ। खजुराको पर्यटन प्रवर्द्धनमा पौडी पोखरीले उल्लेख्य भूमिका निर्वाह गर्ने गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले बताए।

उनले भने,‘उद्यानसहित मीठा परिकारले यहाँ आन्तरिक तथा बाह्य पर्यटक बढाउने छ, जिल्लाको ग्रामीण क्षेत्रमा खोलिने यस्ता पौडी पोखरीले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्छन्। यसलाई दीर्घकालीन रूपमा संरक्षण गर्न जरुरी छ।’

‘स्वास्थ्य र सुरक्षाका लागि, खेलाडी राष्ट्रका लागि’ नाराका साथ उक्त पोखरी सञ्चालनमा ल्याइएको उद्यानका सञ्चालक टेक श्रेष्ठले बताए।

उनले भने, ‘यो पौडी पोखरी मनोरञ्जनका लागि मात्रै नभएर खेलाडी उत्पादन गर्ने उद्देश्यले पनि निर्माण गरिएको हो।’

पोखरीको लम्बाइ २५ मिटर र चौडाइ १२ दशमलव पाँच मिटरको छ। उक्त पोखरीको गहिराइ तीन दशमलव पाँच फिटदेखि सात फिटसम्म छ भने बालबालिकाका लागि छुट्टै एक दशमलव पाँच फिट गहिराइको पोखरी निर्माण गरिएको छ।

करिब दुई करोड रुपैयाँभन्दा बढी लगानीमा पौडी पोखरी निर्माण गरिएको सञ्चालक श्रेष्ठले बताए। उक्त पोखरीमा प्रशिक्षणको समेत व्यवस्था गरिएको छ। प्रशिक्षक चन्दराम चौधरीले प्रशिक्षण दिने बताइएको छ। रासस

प्रकाशित: २० वैशाख २०८० ०५:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App