एसीसी प्रिमियर कपको फाइनलमा युएईलाई हराउँदै नेपाल एसिया कपको लागि छनौट भएको छ।
आज युएई विरुद्ध जितको लागि १ सय १८ रनको झिनो लक्ष्य नेपालले ३० दशमलव ३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। हिजो सोमबार वर्षाको कारण २७ दशमलव ३ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ रन बनाएको अवस्थामा खेल रोकिँदा आज मंगलबार ११ रन जोड्दै युएई १ सय १७ रनमा अल आउट हुन पुगेको हो।
जवाफमा नेपालले ३० दशमलव ३ ओभरमा ३ विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्यो। नेपाली टिमलाई चाहिएका बेला गुल्सन झाले उत्कृष्ट प्रदर्शन गरे। नेपालको जितमा गुल्सन ८४ बलमा ३ चौका र ६ छक्कासहित ६७ रनमा अविजित रहे।
गुल्सनको यो एकवदिसीय करिअरको दोस्रो अर्ध शतक हो। उनले ७५ बलमा अर्ध शतक पुरा गरेका हुन्। अघिल्लो महिना गुल्सनले नेपालमा भएको आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय श्रृखलामा युएईविरुद्ध नै अर्ध शतक प्रहार गरेका थिए।
नेपालको जितका लागि आज गुल्सन झाले नै आधाभन्दा बढी रन बनाएका हुन्। अलराउन्डर गुल्सनले सेप्टेम्बर २०२१ मा अमेरिकाविरुद्धको खेलबाट नेपालको राष्ट्रिय टोलीमा डेब्यू गरेका हुन्।
सर्लाही मलंगवाका गुल्सनलाई क्रिकेटर बनाउन उनका बुवाको ठुलो भूमिका छ। क्रिकेटर गुल्सनका बुबा अखिलेश झाले आफ्नो छोराले देशको शिर उँचो बनाउने काम गरेकोमा खुसी व्यक्त गर्दै देशका लागि अझै उसले धेरै गर्न बाँकी रहेको सुनाए।

नेपालले युएईलाई हराउँदै एसिया कपको लागि छनौट हुँदा यती बेला गुल्सन झाको गृह सहर मलंगवामा विजयको उत्सव देखिएको छ। मलंगवाको हरेक घरमा क्रिकेटर गुल्सनकै चर्चाले मलंगवामा खुसीको माहोल रहेको छ।
११८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको तर्फबाट सर्वाधिक ६७ रन बनाउँदै मलंगवाका झाले नेपाललाई एसिया कपमा स्थान दिलाउन अहम भूमिका खेलेकाले मलंगवावासी अत्यधिक खुसी भएका हुन्।
मलंगवाका साहित्यकार रामचन्द्र महतो कुशवाहा भन्छन्– सम्पूर्ण नगरवासी दोहोरो खुसीमा बधाई साटासाट गरिरहेका छन्।
क्रिकेटमा गुलसनको सफलताले सर्लाही जिल्लामा क्रिकेटको क्रेज बढ्दै गएको छ।
झाका पिता अखलेश झाले सारा मलंगवा खुसीले गदगद भएको बताउँदै आफूलाई धेरै जनाले बधाई दिइसकेको बताउँछन्। छोराले नेपाललाई जित दिलाउन खेलेको खेल आफूले पनि हेरेको बताउँदै दर्शकहरुले देखाएको प्रेम आफ्नो लागि अवर्णनीय भएको उनले सुनाए।

क्रिकेटर झाकी आमा अन्जु झाले छोराको खेलले नेपाल जितेको सुन्दा आफ्नो छाती गर्वले उँचो भएको बताउँदै नेपालको जितसँगै आँखा रसाएको प्रतिक्रिया दिइन्।
क्रिकेटर गुल्सनकी आमा अन्जु झाले सानैदेखि अनुशासित रहेको क्रिकेटमा अत्यन्त लगनशील भएको कारण उसले चाहेको क्षेत्रमा नै उसलाई पठाइएको बताइन्। छोरा गुल्सनले क्रिकेट सिक्न र सँगसँगै पढ्नको भारतीय क्रिकेटका तत्कालीन कप्तान महेन्द्र सिंह धोनीको सहर नै जाने चाहना व्यक्त गरेकोमा उसको चाहनालाई सम्मान गर्दा सफलता पाएको उनले बताइन्।
राँचीमा रहँदा गुल्सनले निकै राम्रो प्रदर्शन गर्ने गरेको तथा धेरै पटक राँचीमा नै पुरस्कृत तथा सम्मानित भइसकेको माता पिता सुनाउँछन्। राँचीमा गुल्सनले जितेका पदकहरु मलंगवास्थित घरमा अझै पनि रहेका छन्।

सानैदेखि क्रिकेटमा रुचि लिने गरेकोले गुल्सनलाई भारतको झारखण्ड प्रदेशको राजधानी राँकीस्थित अरुणोदय क्रिकेट एकेडेमीमा राखेर पढाउनुका साथै क्रिकेटको प्रशिक्षण दिलाएको बताए। भारतीय क्रिकेटका प्रशिक्षक अरुण विद्यार्थीले गुल्सनको प्रतिभालाई देखेर भनेका थिए – यो मेरो खोटा सिक्का हो।
कोरोना महामारीको पहिलो लहरमाघर फिर्ता भएका गुल्सनले घरेलु मैदानमा खेल्न सुरु गरेका हुन्। बिल्कुलै गुमनाम रहेका गुल्सनलाई जिल्ला त चिन्दैनथ्यो, प्रदेशले कसरी चिन्नु ?
नेपाली मैदानमा कसरी चम्के गुल्सन ?
मलंगवास्थित घरेलु मैदानमा करिब तिन वर्ष अगाडि क्रिकेट खेल्दा राम्रो प्रदर्शन गरेको देखेपछि सर्लाही क्रिकेट संघका अध्यक्ष एवम् क्यानका केन्द्रीय सदस्य माधव कर्माचार्यले बारामा जारी प्रदेश स्तरीय प्रतियोगितामा सहभागी गराएका थिए। खेलाडी तथा दर्शकको राम्रो प्रशंसा पाएका तथा निकै राम्रो प्रदर्शन गरेका भएता पनि गुल्सन प्रदेशमा छनौटमा हुन सकेनन्।
प्रदेशले गुल्सनमाथि अन्याय गरेको कर्माचार्यलाई लागेपछि उनकै पहलमा नेपाल पुलिस क्लबमार्फत २०७७ फागुन २२ देखि २९ गतेसम्म काठमाडौँमा आयोजित काठमाडौँ मेयर्स कपमा गुल्सनले सहभागिता जनाउने अवसर पाए। काठमाडौँको डेब्यु खेलमै ४ विकेट लिँदै २६ रन बनाउँदै नेपाल पुलिस क्लबलाई जित दिलाएका थिए।
नेपाल पुलिस क्लबले एपिएफविरुद्ध गुल्सनको बलिङ र व्याटिङको कारण पनि जित निकालेकाले गुल्सनको चर्चा एकै चोटि देशव्यापी हुन पुगेको थियो।
एपिएफविरुद्ध नेपाल पुलिसलाई जित दिलाएपछि गुल्सन नेपालको अन्डर नाइन्टिन क्रिकेट टोलीमा समावेश भएका थिए।
आफ्नै कप्तानीमा अन्डर नाइन्टिन टोलीलाई खेलाएका गुल्सन आफ्नो उमेर समूहका क्रिकेट खेलाडीहरुमा देशमै परिचित बनिसकेका छन्।
प्रकाशित: १९ वैशाख २०८० १०:०८ मंगलबार





