१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

एसिसी प्रिमियर मेन्स कपः उत्कृष्ट लय कायम गर्ने लक्ष्य

एसिया कपको छनोटको रूपमा रहेको एसिसी प्रिमियर मेन्स कपको सेमिफाइनलमा शनिबार नेपालले कुवेतको सामना गर्दैै छ।  

पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपाल सोही लय कायम राख्दै एसिया कप छनोटमा थप एक कदम अघि बढ्नेछ भने छनोटका लागि दुई खेल मात्र टाढा छ। समूह ‘ए’ मा रहेको नेपालले समूहविजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो। कुवेतले भने समूह ‘बी’ को उपविजेताका रूपमा नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको हो।  

प्रतियोगिताको विजेता सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपका लागि छनोट हुनेछ। प्रतियोगिताको शीर्ष तीन टोली भने इमिर्जिङ कपमा छनोट हुनेछन्। प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ। जहाँ समूह ‘ए’ मा नेपाल, मलेसिया, ओमान, साउदी अरेबिया र कतार रहेका थिए भने समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका थिए। समूह ‘ए’ मा नेपालले चार खेलमा ३ जित निकालेको थियो भने एक खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो। पहिलो खेलमा मलेसियालाई ६ विकेटले हराएको नेपालले दोस्रो खेलमा ओमानलाई ८४ रनले पराजित गरेको थियो। साउदी अरेबियाविरुद्ध मूलपानीमा तय खेल भने वर्षाका कारण रद्द भएको थियो। सो खेल रद्द भएसँगै नेपालले अंक बाँडेको थियो। अन्तिम खेलमा भने नेपालले कतारलाई ६८ रनले हराएको थियो।

नेपालले ४ खेलमा ७ अंक जोड्दै समूह ‘ए’ को विजेता बन्दा ओमान ६ अंकसहित उपविजेता बनेको थियो। यता युएई र हङकङ सम्मिलित समूह ‘बी’ मा रहेको कुवेत समूह उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो। शीर्ष स्थानको युएई र दोस्रो स्थानको कुवेतको समान ६ अंक थियो। कुवेतले बिहीबार अन्तिम खेलमा बलियो टोलीका रूपमा रहेको हङकङमाथि ३० रनको जितसहित सेमिफाइनलमा स्थान बनाएको थियो। समूह ‘बी’ बाट युएई विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो। युएईले मूलपानी क्रिकेट मैदानमा हुने खेलमा समूह ‘ए’ को उपविजेता ओमानको सामना गर्नेछ।

प्रकाशित: १६ वैशाख २०८० ००:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App