१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सर्लाहीको लगातार दोस्रो हार

बारा- आरती बिडारीको २१ रन प्रेरित काठमाडौंले कलैयामा जारी ट्वान्टी–२० महिला त्रिकोणीय क्रिकेट प्रतियोगितामा बिहीबार सर्लाहीमाथि ७ विकेटको जित हासिल गरेको छ। सोबिज मिडिया ग्रुप बिपी स्मृती कपअन्तर्गत कलैयाको सिद्धेश्वर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सर्लाहीले १८.१ ओभरमा सबै विकेट गुमाउँदा ६९ रन बनाएको थियो। टोलीका लागि सोनी मगरले सर्वाधिक १५ रन जोडिन् भने सरस्वती चौधरीले १२ तथा अनुराधा चौधरीले १० रनको योगदान गरिन्।

काठमाडौंकी शान्ति खतिवडाले ३ विकेट लिइन् भने अस्मिना कर्माचार्य र सुष्मा श्रेष्ठले २/२ विकेट लिए।

७० रनको लक्ष्य काठमाडौंले १५.१ ओभरमा ३ विकेटको क्षतिमा हासिल गर्‍यो। टोलीका लागि वुमन अफ दि म्याच घोषित आरतीले २१, रितु कनौजियाले १५ तथा रोमा थापाले ७ रनको योगदान गरे।

सर्लाहीका सन्तोषी चौधरी, अनुराधा चौधरी र शोभा आलेले १/१ विकेट लिए। खेलपछि किशोर कन्स्ट्रक्सनका प्रोप्राइटर चन्दन जयसवालले आरतीलाई वुमन अफ दि म्याचको पुरस्कार प्रदान गरेका थिए।

सर्लाही अघिल्लो दिन घरेलु टोली बारा क्रिकेट टिमसँग ९ रनले पराजित भएको थियो।

टस जितेर ब्याटिङ गरेको बाराले निर्धारित २० ओभरमा सबै विकेट गुमाइ १ सय १ रन बनाएको थियो। बाराका लागि कृति सेनले सर्वाधिक १८ रन बनाउँदा प्रभा कुमारीले १४, मनिषा चौलागाईंले ११ र अनुपमा पुडासैनीले १० रन बनाएकी थिइन्। सर्लाहीकी ममता चौधरीले २ विकेट लिइन् भने सरस्वती चौधरी, सन्तोषी चौधरी र अनुराधा चौधरीले १/१ विकेट लिएका थिए।

जबाफमा सर्लाहीले १८.३ ओभरमा ९२ रन बनाउँदा सबै विकेट गुमाएको थियो। बाराकी सीता श्रेष्ठले ३, कृतिले २ तथा पुष्पा अर्याल र आर्या अर्यालले १/१ विकेट लिएका थिए।

सर्लाहीका लागि ममता चौधरीले ३० रन, अनुराधा चौधरीले १४ र सन्तोषी चौधरीले ११ रन बनाएका थिए।सर्लाहीकी ममता वुमन अफ द म्याच भएकी थिइन्।

नेपाली कांग्रेसका सांसद लालबाबु सिंह र बाराका स्थानीय विकास अधिकारी भरतबहादुर ढुंगानाले संयुक्त रुपमा उद्घाटन गरेको प्रतियोगितामा लगातार दुई खेल हारेपछि सर्लाही उपाधि दौडबाट बाहिरिएको छ।

कलैया क्रिकेट क्लब र युवा साझेदारी केन्द्र बाराद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगितामा शुक्रबार काठमाडौं र बाराबीच खेल हुनेछ।

प्रकाशित: ७ माघ २०७३ ०३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App