२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

ढोरपाटन भलिबलमा विदेशी खेलाडी

काठमाडौं- ब्लु स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबलमा पहिलोपल्ट विदेशी खेलाडीले सहभागिता जनाएका छन्। स्वयम्भूस्थित रिड मोडेल कलेजले प्रतियोगिताको १२ औं संस्करणमा ७ भारतीय खेलाडी अनुबन्धित गरेको छ।

भारतीय खेलाडीको साथ पाएको रिड मोडेलले बुधबार प्रतियोगितामा न्यू डाइमन्ड स्पोटर््स क्लबलाई सोझो सेटमा २५–१४, २५–६, २५–१२ ले हरायो। स्पोटर््स क्लब न्यू डाइमन्डको जुनियर टोली हो।

पछिल्लो चार संस्करणयता एपिएफले ढोरपाटन भलिबलको उपाधि जित्दै आएको छ।

न्यू डायमन्ड एकेडेमी पछिल्ला चारै संस्करणमा उपविजेतामा सीमित रहँदै आएको छ। तर भारतीय खेलाडीको आगमनले ढोरपाटनको १२ औं संस्करण विगतभन्दा प्रतिस्पर्धात्मक भएको छ। आयोजक ढोरपाटन भलिबलका अध्यक्ष मनवीर छन्त्यालले विदेशी खेलाडी आउँदा प्रतियोगिता र नेपाली भलिबलको स्तर वृद्धि हुने बताए। उनले भने, 'विदेशी खेलाडी आउनु हाम्रा लागि खुसीको कुरा हो। त्यसमाथि राष्ट्रिय टोलीबाट खेलिसकेका भारतीय खेलाडीको स्तर राम्रो छ। प्रतियोगिता विगतभन्दा प्रतिस्पर्धात्मक हुनेछ। यसले नेपाली खेलाडीको अनुभव र स्तर विकासमा पनि सघाउँछ।'

छन्त्यालले विदेशी खेलाडी आउँदा आयोजकलाई पनि प्रतियोगिताको स्तर बढाउन दबाब पर्ने बताए। उनले भने, 'खुसी छौं भारतीय खेलाडी आउँदा। विदेशी खेलाडी आउँदा हामीमाथि व्यवस्थापन, प्रतियोगिताको राशी बढाउन दबाब पर्छ। यो नेपाली भलिबलका निम्ती सकारात्मक कुरा हो।' प्रतियोगिताका लागि रिड मोडेलले ७ खेलाडी र प्रशिक्षक चेल्सेन डालालाई अनुबन्धित गरेको छ। उनलाई नेपाली प्रशिक्षक खुम गाउँलेले सघाउने छन्। खेलाडीको अनुबन्ध रकम खुलाउन नचाहे पनि रिड मोडेलले ७ खेलाडीमध्ये ३ जना कप्तान निर्मला तनुवार, मिलिमम अब्राहम र प्रियंका खेडकरले भारतीय राष्ट्रिय टोलीबाट खेलिसकेको बताएको छ।

प्रतियोगितामा प्रभाव बढाईरहेको डायमन्डकी कप्तान ललिताको लागी बुधबारको दिन विशेष थियो। बुधबार जन्म दिनको खुसीयाली सँगै ललिताको कप्तानीमा डायमन्ड प्रतियोगिताको शिर्ष स्थानमा पुगेको छ।

डायमन्डले प्रतियोगितामा अग्रतालाई जारी राख्ने क्रममा रामेछापको चण्डेश्वरी युवा क्लबलाई  २५–९, २५–११, २५–८ ले पराजित गर्‍यो। शिर्ष स्थानको डायमन्डले ५ खेलबाट १५ अंक जोडेको छ।

कप्तान ललिताले विगत भन्दा प्रतियोगितामा भिन्न दबाबका साथ खेलिरहेको बताइन। उनले भनिन, 'लगातार चार पटक हामी उपविजेता बन्दै आएको छौं। अब उपाधि जित्नु पर्ने दबाब छ। त्यसको लागी हामी मानसिक रुपमा तयार छौं। अर्को खुसीको कुरा यसपटक भारतीय खेलाडीले प्रतियोगितामा भाग लिएको छन्। जुन हाम्रो लागी अवसर र चुनौतिको कुरा हो।'

ललिताले थपिन, 'नेपाली भलिबलमा एपिएफ र डायमन्ड बाहेक अन्य टोलीले फाइनल खेल्न सक्दैनन जस्तै भैसकेको छ। तर भारतीय खेलाडीलाई खेलाउँदा अरु टोलीसँग कडा प्रतिस्पर्धा हुन्छ। यसले हामीलाई केहि दबाब बढाउँछ। रणनिति परिवर्तन गरेर खेल्नु पर्ने हुन्छ। हामीले आफनो क्षमतालाई देखाउने हो भने विगत भन्दा मेहनत गर्नु पर्छ।'

यसैगरी प्रतियोगिताका अन्य खेलमा नेपाल पुलिसले पश्चिमाञ्चल क्षेत्री भलिबल संघलाई ३–१ को सेटमा हरायो। प्रतियोगितामा ४ खेलबाट १२ अंक जोडेको साविक विजेता एपिएफ अंक तालिकाको दोस्रो स्थानमा छ।

नेपाल आर्मी र पुलिसले पनि समान १२ अंक जोडेको छन। त्यस्तै आयोजक ढोरपाटन स्पोर्टस क्लबले ८ अंक चण्डेश्वरीले ७ र पश्चिमाञ्चलले ३ अंक जोडेका छन। विजेश्वरी र न्यु डायमन्ड स्पोर्टस क्लबले खाता खोल्न सकेको छैनन।

प्रकाशित: २८ पुस २०७३ ०३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App