१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

डिपिएलका टोलीले किने खेलाडी

काठमाडौं- राष्ट्रिय टोलीका पूर्व सदस्य ३५ वर्षे अलराउन्डर मेहबुब आलमलाई शनिबार धनगढी प्रिमियर लिगका लागि भएको खेलाडी अक्सन (लिलाम) मा सर्वाधिक रकममा तिरिएको छ। करिब दुई वर्षयता राष्ट्रिय टोलीमा नपरेका आलम समूह ‘ए’का खेलाडीबीच उच्च मूल्य बढाबढ हुनेमध्ये सबैभन्दा पाका खेलाडी हुन्। राजविराज सप्तरीका आलमका लागि सिवाइसी अत्तरियाले १ लाख रकम खर्च गरेको थियो। आलम बाहेक तीव्र गतिका बलर सोमपाल कामी र करण केसी तथा अलराउन्डर सागर पुनको बढी मूल्यमा लिलाम भएको थियो। सोमपाल र करणलाई लिलाम बढाबढबाट भिœयाउन पनि टोलीबीच हानाथाप भएको थियो। सोमपालका लागि टिम चौराहा धनगढीबाहेक सबै टोलीले १ लाख मूल्य हाले पनि गोला प्रथामा काठमाडौं गोल्डेन्स भाग्यशाली बनेको थियो। खर्च गर्न पाउने सीमा नाघेकाले चौराहाले उनको लिलाममा बढाबढ गर्न पाएन। त्यस्तै करणका लागि काठमाडौं र चौराहाबाहेक बढाबढमा सबैले १ लाख मूल्य लगाएकामध्ये अत्तरियाले बाजी मार्‍यो। सागरका लागि कन्चनपुर आइकोनिक र चौराहाले १ लाख मूल्य लगाउँदा गोला प्रथामा कन्चनपुर भाग्यमानी साबित भयो।

समूह ‘ए’मा कम्तीमा १५ अन्तर्राष्ट्रिय खेल खेलेका राष्ट्रिय खेलाडी समावेश थिए। उनीहरूको न्यूनतम मूल्य ५० हजार रुपैयाँ तोकिएको थियो। समूह ‘बि’मा यु–१९ विश्वकप खेलेका वा राष्ट्रिय टोलीबाट १५ भन्दा थोरै खेल खेलेका खेलाडी समावेश थिए भने उनीहरूको न्यूनतम मूल्य ३० हजार रुपैयाँ तोकिएको थियो। कुनै पनि उमेर समूहबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीलाई समूह ‘सि’मा राखिएको थियो र उनीहरूको न्यूनतम मूल्य २५ हजार रुपैयाँ राखिएको थियो। अहिलेसम्म राष्ट्रिय जर्सी नलगाएका खेलाडीहरूलाई समूह ‘डि’मा राखिएको थियो। उनीहरूको  न्यूनतम मूल्य २० हजार रुपैयाँ तोकिएको थियो।

अक्सनमा न्यूनतम मूल्यको दोब्बर रकमसम्म मात्र मूल्य बढाबढ गर्न पाइने नियम थियो। प्रतियोगितामा सहभागी ६ टोलीको कप्तान यसअघि नै गोला प्रथाबाट टुंगो लगाइएको थियो। कप्तानले १ लाख ५० हजार रुपैयाँ पारिश्रमिक पाउनेछन्।

समूह ‘बि’का खेलाडीमध्ये मोहम्मद आरिफ सेख, दिपेन्द्रसिंह ऐरी, सन्दीप सुनार, भुवन कार्की, सुनिल धमला, सिद्धान्त लोहनी, विक्रम सोब, राजेश पुलामीमगरका लागि उच्च मूल्य लागेको थियो। अलराउन्डर दिपेन्द्रसिंह ऐरीका लागि ६ वटै टोलीले उच्च मूल्य लगाए पनि विराटनगर किङ्सले आफ्नो पक्षमा पारेको थियो। त्यस्तै पारस खड्काको चौराहाले लिएको आरिफ शेखका लागि  काठमाडौं र अत्तरियाबाहेक ४ टोलीले ८० हजार मूल्य लगाएका थिए। काठमाडौंका भुवन, कन्चनपुरका सुनिल र सिद्धान्त, रुपन्देहीका राजेश र विक्रम तथा अत्तरियाका सन्दीपका लागि २/२ टोलीले उच्च मूल्य लगाएका थिए।

त्यस्तै समूह ‘सि’मा आसिफ शेखका लागि मात्र उच्च मूल्य लागेको थियो। आसिफलाई रुपन्देहीबाहेक सबै टोलीले ५० हजार मूल्य लगाएका थिए। त्यसमा विराटनगर किङ्स भाग्यमानी बनेको थियो।

समूह ‘डि’का अविनाश बोहरा, दिलिपनाथ र सोनु तामाङले उच्च मूल्य पाए। सोनुलाई कन्चनपुरले लियो भने दिलिपनाथ र अविनाशका लागि अत्तरिया भाग्यमानी बन्यो।

यु–१९ का कप्तान सन्दीप लामिछानेलाई विराटनगर किङ्सले ६० हजारमा लियो। राष्ट्रिय टोलीका ओपनर नरेश बुढाएरलाई कन्चनपुरले ९५ हजारमा लियो। प्रदिप ऐरीलाई अत्तरियाले ९० हजारमा लियो।

रूपन्देही च्यालेन्जर्सका कप्तान शक्ति गौचनले नेपाली क्रिकेटमा यो एक उदाहरण भएको भन्दै राम्रो खेलाडी भए पनि मेहनत सबैभन्दा महŒवपूर्ण हुने बताए। अत्तरियाका ज्ञानेन्द्र मल्लले लिग स्थानीय खेलाडीलाई प्रतिभा देखाउन राम्रो मौका भएको भन्दै क्रिकेटलाई व्यावसायीक बनाउन प्रतियोगिताले महŒवपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले ट्वान्टी–२० मात्र नभई अन्य स्वरुपका क्रिकेटमा पनि यस्तो प्रतियोगिता भए क्रिकेट विकासमा अझ टेवा पुग्ने बताए।

यु–१९ का तीन पूर्वकप्तान एकै टोलीमा

यु–१९ टोलीका पूर्वकप्तान पारस खड्का, पृथु बाँसकोटा र राजु रिजाल एउटै टोलीमा परेका छन्। तीनै जना टिम चौराहा धनगढीबाट खेल्नेछन्। राष्ट्रिय टोलीका समेत कप्तान रहेका पारस चौराहाका कप्तान हुन्। चौराहाले पृथुलाई ९० र राजुलाई ७० हजार रुपैयाँ बोली लगाएको थियो।

बिक्री नभएका ठूला नाम

राष्ट्रिय टोलीका ओपनर महेश क्षेत्री र परेश लोहनीलाई कुनै पनि टोलीले लिएनन्। जितेन्द्र मुखिया, चन्द्र साउद, रामनरेश गिरी, यज्ञमान कुमाल, राजवीर सिंहलाई पनि सुरुमा कुनै टोलीले लिएनन्। तर पछि खेलाडी नपुगेपछि जितेन्द्रलाई विराटनगर, चन्द्र साउदलाई कन्चनपुर, रामनरेश गिरीलाई चौराहाले लिएका थिए।

प्रकाशित: २४ पुस २०७३ ०३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App