झापा- कर्ण लिम्बुको ह्याटि्रक प्रेरित घरेलु टोली रमपम झापा–११ मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबारको सेमिफाइनल १० खेलाडीमा सिमित भएर अन्त्य गरेको रुपन्देही–११ माथि ४–० को जित निकाल्दै झापाले उपाधि भिडन्तमा स्थान पक्का गरेको थियो।
पछिल्ला तीन प्रतियोगितामा झापा सेमिफाइनलबाट अगाडी बढन सकेको थिएन। झापाले सुरुङ्गा गोल्डकप, शरणामति गोल्डकप र सुनसरीको दुहबी गोल्डकपमा पनि सेमिफाइनल खेलेको थियो।
पछिल्लो पटक झापा तीन महिना अघि भारत सिक्किमको गर्भनर्स गोल्डकपको फाइनलमा पुगेको थियो। बुधबारको जित पछि झापाका प्रशिक्षक सञ्जय राईले उपाधि खडेरीलाई तोडने लक्ष्य नजिक पुगेको बताए। उनले भने, 'हामीले आज राम्रो खेलेका थियौं। जित हकलाग्दो छ। अब हामी उपाधिको खडेरीलाई तोडने कोसिस गर्छौ।'
बुधबार कर्णको उत्कृष्ट प्रदर्शनसँगै अर्को रोचक पाटो दुइ दाजुभाईबीचको प्रतिस्पर्धा थियो। चर्चित फुटबलर विजय धिमाल तथा उनका भाई राष्ट्रिय टोलीका सदस्य रजिन झापाबाट खेलेका थिए। जीत भने भाईको टोलीले हासिल गर्यो।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा कप्तान योगेश गुरुङले ३६औं मिनेटमा गोल गर्दै झापालाई अग्रता दिलाएका थिए। बुद्धले एकल प्रयासमा बल अघि बढाएर गोल गर्द विपक्षी खेलाडीहरु भने अफसाइड कल गर्नमै मस्त रहे। योगेशले घरेलु टोलीलाई अग्रता दिलाएपछि रुपन्देहीले आत्मविश्वास गुमाएको थियो। जसले रुपन्देहीका खेलाडीको प्रदर्शनलाई सोझै अशर गरेको थियो। योगेशले गोल गरेपछि भने दुवै टोलीले गोलका केही राम्रा अवसर गुमाए। ४२औं मिनेटमा रुपन्देहीका लक्ष्मण रुचालको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो। लगत्तै ४३ औं मिनेटमा झापाका कर्ण लिम्बुले वान भर्सेस वानमा गोल गर्न सकेनन। कर्णको प्रहार रिबाउन्ड भएपछि विशाल राईले पाएका थिए। तर विशालले पनि गोल गर्न सकेनन।
दोस्रो हाफको सुरुमै रुपन्देहीका मुख्य स्ट्राइकर अरमाण्ड दोस्रो पहेलो कार्ड सामना गर्दै मैदानबाट बाहिरिए। ४७औं मिनेटमा झापाका रजिन धिमाललाई लडाएपछि फिफा रेफ्री लव खत्रीले अरमाण्डलाई दोस्रो पहंलो कार्ड सहित रातो कार्ड देखाएका थिए। अरमाण्ड बाहिरिएपछि रुपन्देही थप दबाबमा पर्यो र झापा खेलमा अझै हावी हुन थाल्यो।
'एक गोलले पछि पर्दासम्म हामी खेलमा फर्कने सम्भावना थियो', रुपन्देहीका व्यवस्थापक जग्गुनाथ खड्काले भने, 'तर, अरमाण्डले रातो कार्ड सामना गरेपछि अरु खेलाडी आक्रोशित भएर खेले। जुन हाम्रो लागी दुर्भाग्य सावित भयो।'
५१ औं मिनेटमा झापाका नरेन्द्रमणि लिम्बुले दिएको पासमा गर्दै कर्ण लिम्बुले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। ७५ औं मिनेटमा कर्णले दोस्रो व्यक्तिगत गोल गर्दै झापाको अग्रता थप फराकिलो पारे। समय सकिन १३ मिनेट बाँकी रहँदा कर्णले ह्याटि्रक पूरा गरेका थिए। रञ्जित श्रेष्ठको प्रहार रुपन्देहीका गोलरक्षक दिलिप क्षेत्रीलाई लागेर फर्किँदा कर्णले तेस्रो गोलको अवसर पाएका थिए।
झापाका लागि ह्याटि्रक गरेका कर्ण लिम्बु म्यान अफ दी म्याच घोषित भए।
खेलमा झापाका कर्ण लिम्बु, नरेन्द्रमणि लिम्बु र विशाल राईले केही राम्रा अवसर खेर फालेका थिए। यसैगरी रुपन्देहीका लक्ष्मण रुचाल र दिपक राईले गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेनन।
प्रतियोगिता अन्तर्गत बिहीबार अर्को सेमिफाइनलमा आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र एपीएफबीच हुनेछ।
प्रकाशित: २१ पुस २०७३ ०४:४२ बिहीबार