सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति स्वर्णिम वाग्लेलगायत नेताले अदालतको अवहेलना हुनेगरी बोलेको भन्दै परेको अवहेलना मुद्दामा प्रमाण भिडियो झिकाउने आदेश गरेको छ।
न्यायाधीशहरू मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले निवेदकलाई प्रमाण दिन आदेश गरेको हो। मुद्दामा रास्वपाका सांसदसहित २० जनालाई विपक्षी बनाइएको छ। अधिवक्ता अनुपम भट्टराईले रास्वपाका केन्द्रीय पदाधिकारीहरूले आन्दोलनका क्रममा पोखरामा भाषण गर्दा अदालतको अवहेलना हुने गरी बोलेको भन्दै सर्वोच्चमा निवेदन पेस गरेका थिए।
‘निवेदकले निवेदनसाथ पेस गरेको कागजातको पूर्णपाठ तथा भिडियो क्लिप तथा सो भिडियोलाई लिपिबद्ध गरी निवेदकबाट यथाशीघ्र पेस गर्न लगाई...’ सर्वोच्चले मंगलबार जारी छोटकरी आदेशमा भनेको छ।
पूर्व गृहमन्त्री लामिछाने पक्राउ परेपछि पोखरामा रास्वपाले आन्दोलन गरेको थियो। आन्दोलनको क्रममा रास्वपाका सबै सांसदहरूले अदालतको अवहेलना गरेको निवेदकको दाबी छ। विधायकहरूले नै अदालत र न्यायाधीशको विषयमा अनर्गल प्रचार गरेकाले अदालतको अवहेलना भएको निवेदकको दाबी छ।
संघीय संसद्को पदमा रहेका व्यक्तिले अदालतको अवहेलना हुने काम गरेको निवेदकको दाबी छ। उनीहरूलाई हदैसम्मको कारबाही गरी सजाय दिलाउन माग गरिएको छ।
अदालतलाई स्वतन्त्र र निष्पक्ष रूपमा न्याय निरोपण गर्नबाट बञ्चित गर्ने नियतले कसैले कुनै न्यायाधीशबारे अनर्गल प्रचार प्रसार गर्दा न्यायाधीशको मनोबल गिरी आदेश वा फैसलामा प्रभाव पर्न सक्ने प्रवल सम्भावना हुने निवेदनमा उल्लेख छ।
‘प्रमाण संलग्न रहेका कागजातहरू र मिडियामा प्राथमिकतामा रहेको हुनाले अदालत स्वयंलाई पनि यसबारे जानकारी रहेको अनुमान छ,’ रिट निवेदनमा भनिएको छ, ‘विधायक भएको र कानुन निर्माण गर्ने जनता, समाज र देशको हकहितमा काम गर्नुपर्नेमा अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने कलुषित मानसिकता राखी अदालत, सरकारविरुद्ध हुलहुज्जत, भेला, सभा, समारोह गरी स्वतन्त्र न्यायपालिकाको अवधारणालाई गम्भीर चोट पुर्याएको छ।’
‘विचाराधीन मुद्दा रहेको स्थानमा र अनुसन्धानको दायरमा रहेका व्यक्तिलाई रिहाइ गर्नुपर्ने मागसहित खडा गरेको भिडले न्याय प्रक्रियामा अवरोध सृजना गरेको छ,’ निवेदनमा भनिएको छ, ‘न्यायपालिका स्वतन्त्र छैन भन्ने भाष्य प्रयोग गरी नाराबाजी गरेकोले न्यायलयको गरिमामा नकरात्मक सन्देश प्रवाह भइरहेको छ।’
प्रकाशित: १४ मंसिर २०८१ ०९:२८ शुक्रबार