१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

१८ खेलका राष्ट्रिय प्रतियोगिता हुँदै

मदन भण्डारी स्पोटर्स एकेडेमीले विभिन्न १८ खेलको राष्ट्रयव्यापी प्रतियोगिताका साथै प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।

एकेडेमीले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो राष्ट्रव्यापी खेल प्रतियोगिता सार्वजनिक गरेको हो। एकेडेमीले भलिबल, फुटसल, तेक्वान्दो, टेबल टेनिस, बास्केटबल, फुटबल, फुल कन्ट्याक्ट, कराते, रेस्लिङ, ब्याडमिन्टन, क्रिकेट, शारीरिक सुगठन, रोड रेस, चेस, आर्चरी, कबड्डी, छेलो र हक्की खेलको राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ।

यी खेल आयोजनामध्ये एकेडेमीले तेक्वान्दो, फुल कन्ट्याक्ट, कराते, रेस्लिङ, शारीरिक सुगठन, चेस र हक्कीमा महिलाको प्रतिस्पर्धा गर्ने जनाएको छ। रोड रेसमा यु–२० र यु–१६ उमेरसमूहमा प्रतिस्पर्धा हुने भएको छ।

क्रिकेटको प्रतियोगिता भने केपी ओली नामबाट गर्ने एकेडेमीले उल्लेख ग¥यो। पोखरा वा काठमाडौंमा चैत २५ देखि आगामी वर्षको वैशाख ३ सम्म केपी ओली कप राष्ट्रिय पुरुष क्रिकेट हुने भएको छ। यस प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले पाँच लाख र सेमिफाइनलिस्टले समान दुई लाख पाउनेछन्। बेस्ट प्लेयरले ३० हजार रूपैयाँ प्राप्त गर्नेछन्।

सबैभन्दा पहिला पुरुष भलिबलबाट एकेडेमीले तय गरेको राष्ट्रव्यापी प्रतियोगिता सुरु हुनेछ। एकेडेमीको १६औं स्थापना दिवसको अवसरमा मदन भण्डारी कप इन्डो नेपाल पुरुष भलिबल प्रतियोगिता हुने भएको हो।

उक्त प्रतियोगिता बुटवलमा आगामी पुस १७ देखि २४ गतेसम्म आयोजना हुने तय छ। यस प्रतियोगिताको विजेताले सात लाख ५० हजार, उपविजेताले तीन लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख ५० हजार र सान्त्वना हुने टोलीले एक लाख रूपैयाँ पाउनेछन्। बेस्ट प्लेयरले भने २५ हजार रूपैयाँ प्राप्त गर्नेछ।

भारतको रेलवे टोलीले भलिबलमा प्रतिस्पर्धा गर्ने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए। यी कार्यक्रम आयोजना गर्न करिब १० करोड ६६ लाख ९७ हजार ७ सय ७४ रूपैयाँ अनुमानित लागत लाग्ने आयोजकले जनाएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दुई करोड रूपैयाँ प्रदान गर्ने भएको छ।

प्रकाशित: १४ मंसिर २०८१ ०९:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App