८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

आफ्नै प्रयासमा महँगो वैदेशिक प्रशिक्षण

फेन्सिङका राष्ट्रिय खेलाडी भीष्मराज दाहाल। तस्बिर: नागरिक

पछिल्लो समय उज्ज्वल भविष्य खोज्दै लाखौं युवा बिदेसिँदै छन्। झनै दुःखलाग्दो के छ भने त्यो सूचीमा खेलाडी पनि छन्। जसले देशका लागि वर्षौंदेखि अनगिन्ती सफलता दिलाए, उनीहरूले खेलक्षेत्रमा भविष्य देखेनन्। खेल पूर्ण व्यावसायिक बन्न सकिरहेको छैन। न त सरकारले नै खेलाडीलाई जीवनयापन गर्ने वातावरण नै सिर्जना गराउन सकेको छ। तर, यसबीचमा कठिन परिस्थितिका बावजुद खेलमा अझै भविष्य खोज्नेहरू पनि छन्। तीमध्ये हुन्, फेन्सिङका राष्ट्रिय खेलाडी भीष्मराज दाहाल।

सर्लाहीका भीष्मराज नवौं राष्ट्रिय खेलकुद र वीर गणेशमान सिंह स्मृति फेन्सिङ च्याम्पियनसिपका पदक विजेता समेत हुन्। उनै भीष्मराज अहिले वैदेशिक प्रशिक्षणका लागि आफ्नै खर्चमा मलेसियामा छन्। केही साताअगाडि मात्र उनी क्वालालम्पुरमा रहेको ब्लेड फेन्सिङ प्रशिक्षण केन्द्रमा केही सिक्न पुगेका हुन्। त्यहाँसम्म यात्रा गर्न पनि भीष्मराजले ठूलै संघर्ष गर्नुपर्‍यो। फुटबल र क्रिकेटका खेलाडीले जस्तो फेन्सिङका खेलाडीले सेवासुविधा पाउँदैनन्। हुन त फेन्सिङको नेपालमा लामो इतिहास पनि छैन। यस्तोमा भीष्मराजका लागि प्रायोजक या खेलकुद निकायको सहयोग पाउनु आकाशको फल बराबर थियो।

फेन्सिङका सामग्री निकै महँगा हुन्छन्। एउटा पूर्ण सेट किन्नुपर्‍यो भने नै खेलाडीले लाखौं खर्चनुपर्छ र त्यो पनि आवश्यक पर्दा सहजै किन्न पाइन्न। तर, भीष्मराजले केही नयाँ सिक्छु भनेर वैदेशिक प्रशिक्षणमा जाने अठोट लिए। प्रशिक्षणका लागि उनलाई ठूलो रकम आवश्यक पर्‍यो। प्रशिक्षण शुल्क र हवाई टिकट लगायत गरेर कम्तीमा ५/६ लाख रूपैयाँ खर्च हुन्थ्यो, जुन उनका लागि सहज थिएन। त्यसैले उनले विभिन्न कर्पोरेट हाउस र संघसंस्थासँग प्रायोजनका लागि प्रयास गरे। तर, सफल भएनन्। त्यसै पनि फेन्सिङ नयाँ खेल हो, त्यसैले प्रायोजक पाउनु उनका लागि कठिन नै हुन्थ्यो।

उनी खेलकुदका निकाय पनि धाए। त्यहाँबाट उनका लागि आश्वासन मात्र आयो। तर, उनी पछि हटेनन्। केही ऋण लिएर र व्यक्तिगत सहयोगमा उनी वैदेशिक प्रशिक्षणमा गए। ‘केही सिक्छु भनेर वैदेशिक प्रशिक्षणको लक्ष्य राखेँ। त्यसैले प्रायोजक पाइनँ भनेर बसिनँ। केही व्यक्तिगत सहयोग र ऋण लिएर म यहाँ (ब्लेड फेन्सिङ) आएको छु। संघले प्रशिक्षणका लागि कागजी प्रक्रिया र खेल सामग्री व्यवस्थापन गरिदियो,’ भीष्मराजले भने, ‘लायन्स क्लब अफ काठमाडौं साया र राजेश श्रेष्ठ दाइले केही सहयोग गरेर प्रोत्साहन गरिदिनुभयो।’

‘मेरा लागि यो प्रशिक्षणकाल पनि रह्यो। केही सिकेर आफूलाई प्रमाणित गर्न सकेँ भने अन्य खेलाडीका लागि पनि प्रशिक्षणमा जान सक्ने वातावरण बन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘नत्र खेल निकाय र संघले केही दिएनन् या प्रायोजक पाएनौं भनेर हाम्रो समय खेर जान्छ भन्ने लाग्यो।’

उनले त्यहाँ तीन महिना प्रशिक्षण गर्नेछन्। मलेसियाका उत्कृष्ट इपी फेन्सर तथा प्रशिक्षक जोसुआ कोहबाट भीष्मराजले प्रशिक्षण लिइरहेका छन्। ‘प्रशिक्षण राम्रै भइरहेको छ। यहाँ धेरै कुरा सिक्ने अवसर मिलेको छ। अझै मिहिनेत गर्छु,’ उनले भने, ‘एनआरएन मलेसिया तथा विभिन्न संघसंस्थाका नेपाली दाजुहरू र नेपाली दूतावासबाट अभिभावकत्व पाएको छु। एउटा खेलाडीले यति संघर्ष गरेर प्रशिक्षण गर्ने रहेछ भन्दै उहाँहरूले हौसला दिनुहुन्छ।’

अहिले मलेसियाका लागि नेपालका राजदूत डिल्लीराम पौडेलले उनको प्रशिक्षणमा आवश्यक पर्ने कुराको व्यवस्थापन गरिदिने भएका छन्।

छोटो समयमा नै सफलता

भीष्मराजले फेन्सिङ खेल्न सुरु गरेको धेरै भएको छैन। तर, छोटो समयमा उनले यसमा भविष्य देखे। फेन्सिङमा करियर सुरु गरेको एक वर्षमा उनले गणेशमान सिंह स्मृति फेन्सिङ च्याम्पियनसिपमा इपीतर्फ कांस्य पदक जिते। यो सफलता हात पार्नमा फेन्सिङका राष्ट्रिय प्रशिक्षक अभिषेक कार्कीको भूमिका अहम् रहेको उनी बताउँछन्। नेपालमा रहँदा अभिषेकले नै सुरुआत गरेको काठमाडौं फेन्सिङ एकेडेमीमा उनी दैनिक प्रशिक्षण गर्थे। भीष्मराज नेपाली तेक्वान्दोका चौथो डान प्राप्त खेलाडी हुन्।

खेलाडी नै भएकाले फेन्सिङमा जम्न उनलाई समय लागेन। १४ वर्षभन्दा बढी समय तेक्वान्दो खेलेपछि उनले फेन्सिङमा करियर अगाडि बढाएका हुन्। ‘तेक्वान्दो र फेन्सिङ दुवै मन पर्ने खेल हुन्। तर, फेन्सिङबाट व्यावसायिक करियर अगाडि बढाउँछु। यहाँबाट केही सफलता पनि पाइरहेको छु,’ उनले भने, ‘नेपालमा यो त्यति लोकप्रिय हुन सकेको छैन। किनकि यसलाई नेपालमा महँगो खेलका रूपमा हेरिएको छ। आम नेपालीले सामग्री किनेर खेल्न धेरै गाह्रो छ। हामीले नै निरन्तर मिहिनेत गरेर अन्तर्राष्ट्रिय सफलता दिलायौं भने यसको लोकप्रियता बढ्ने विश्वास छ। साथै खेलकुद निकायले अन्य खेललाई जस्तै बिनाभेदभाव अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ।’

कलाकारदेखि खेलसम्म

भीष्मराज कलाकार पनि हुन्। वीरविक्रम–२ मा महत्वपूर्ण भूमिकामा अभिनयसमेत गरेका छन् उनले। पल शाह र नाजिर हुसेनलाई संरक्षण गर्ने भूमिका उनले निर्वाह गरेका थिए। त्यसबाहेक भीष्मराज १०/१२ वटा नाटक तथा थुप्रै टेलिसिरियलमा पनि अभिनय गरिसकेका छन्। मनबहादुर मुखियाको ‘अनि देउराली रुन्छ’ भन्ने चर्चित नाटकमा पनि उनको अभिनय छ। त्यसैबीच झ्याइँकुटी झ्याइँमा अभिनय गर्ने क्रममा उनको भेट तेक्वान्दोकै खेलाडी तथा त्यो टेलिसिरियलकी प्रमुख पात्र नन्दा बस्यालसँग भयो।

नन्दाले नै उनलाई तेक्वान्दो खेल्न रंगशालामा रहेको केन्द्रीय तेक्वान्दो डोजाङसँग पुर्‍याइन्। त्यसपछि खेलतर्फ लागेको उनललाई यसैमा मोह जाग्यो र कलाकारिता यात्राबाट विस्तारै टाढिँदै गए। ‘कहिलेकाहीँ फुर्सदको समयमा नाटकमा काम गर्थें। तर, अधिकांश समय खेलमै व्यस्त भएँ। फेन्सिङमा नै केही गर्छु भन्ने लाग्यो,’ भीष्मराजले भने, ‘त्यसैले यसैमा लागेँ। निरन्तर मिहिनेत गर्छु र फेन्सिङमा सफल पनि हुन्छु भन्ने विश्वास छ।’

प्रकाशित: २५ चैत्र २०७९ ०३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App