२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बलियो प्रतिद्वन्द्वीविरुद्ध सुखद नतिजाको आशा

नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले महिला ओलम्पिक छनोट २०२४ मा बुधबार बलियो प्रतिद्वन्द्वी भियतनामको सामना गर्दा सुखद नतिजाका लागि खेल्ने बताएका छन्।

ओलम्पिक फुटबल २०२४ को छनोटको समूहमा दुई टोली मात्र भएपछि नेपाल र भियतनामले दुई लेग खेल्दै छन्। जनवरीमा खेलतालिका सार्वजनिक हुँदा समूह ‘सी’ मा नेपालसहित भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान थिए। तर प्यालेस्टाइन र अफगानिस्तानले आन्तरिक कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए। नेपालले शनिबार दोस्रो खेल खेल्नेछ।

यी दुई टोलीबीचका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्। प्रतियोगिताका लागि नेपालले शुक्रबार एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा टोलीको घोषणा गरेको थियो।

‘पक्कै पनि भियतनाम बलियो टोली हो,’ थापाले भने, ‘तर हामी उनीहरूलाई कठिन चुनौती दिन तयार छौं। हामीले दोस्रो चरण प्रवेशको लक्ष्य राखेका छाैं र घरेलु मैदानमा दुवै खेलमा सुखद नतिजासहित त्यो लक्ष्य प्राप्तिका लागि टोली पूर्ण रूपमा तयार छ।’

थापाले रक्षक गीता राना र मिडफिल्डर प्रीति राई चोटका कारण टोलीमा नहुँदा त्यसले केही असर गर्ने भए पनि उनीहरूको स्थानमा खेल्ने अन्य खेलाडी भएकाले टोलीले सन्तुलित प्रदर्शन गर्नेमा आशावादी गरेको बताए।

‘गीता र प्रीति टोलीका महत्वपूर्ण सदस्य हुन्। उनीहरू नहुँदा त्यसको असर त पक्कै पनि टोलीमा पर्नेछ,’ थापाले भने, ‘तर पनि हामीसँग अन्य खेलाडी पनि सो पोजिसनमा खेल्न तयार छन्। पूजा राना पनि टोलीमा फर्किएकी छिन्। समीक्षा घिमिरे र अमृता जैसी पनि टोलीमा छन्।’

छनोट चरणमा सहभागी २६ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ। जसअन्तर्गत समूह ‘ए’,‘बी’, ‘सी’, ‘डी’ र ‘ई’ मा समान ४ तथा समूह ‘एफ’ र ‘जी’ मा समान दुई टोली रहेका थिए। दुई राष्ट्र (अफगानिस्तान र प्यालेस्टाइन) ले नाम फिर्ता लिएपछि हाल छनोट चरणमा २४ राष्ट्र बाँकी छन्।

प्रत्येक समूहको शीर्ष टोली दोस्रो चरणमा प्रवेश गर्नेछ। उत्तर कोरिया,जापान, अस्ट्रेलिया, चीन र दक्षिण कोरिया गरी फिफा वरीयताको शीर्ष ५ स्थानमा रहेका राष्ट्रले भने यसअघि नै दोस्रो चरणमा स्थान बनाइसकेका छन्।

पहिलो चरण पार गरेका ७ र दोस्रो चरणमा सोझै प्रवेश पाएका ५ गरी १२ टोलीले दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन्। दोस्रो चरणमा सहभागी १२ टोलीलाई ३ समूहमा विभाजन गरिनेछ। जहाँ प्रत्येक समूहमा समान ४ टोली हुनेछन्।

तीन समूह विजेता र एक उत्कृष्ट उपविजेता गरी ४ टोलीले दोस्रो चरणमा स्थान बनाउनेछन्। तेस्रो चरणमा यी चार राष्ट्रलाई दुई समूहमा विभाजन गरिनेछ। जहाँ यी टोलीले एक अर्काविरुद्ध होम एन्ड अवे गरी दुई खेल खेल्नेछन्। दुवै समूहका शीर्ष स्थानमा रहने समान एक टोलीले २०२४ को पेरिस ओलम्पिकमा स्थान बनाउनेछन्।

‘हामीले यसै प्रतियोगिताका लागि भन्दै भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेका थियाैं। जुन टोलीका लागि निकै फलदायी रह्यो,’ उनले भने, ‘सो खेलको नतिजाले खेलाडीहरूको मनोबल बढाएको छ।’

नेपालले ओलम्पिक छनोटको तयारीस्वरूप गत महिना भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेलमा २-० ले पछि परेको स्थितिमा उत्कृष्ट पुनरागमनसहित २-२ को बराबरी खेलेको नेपालले दोस्रो खेलमा भने गोलरहित बराबरी खेलेको थियो। 

प्रकाशित: २२ चैत्र २०७९ ०१:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App