८ वैशाख २०८१ शनिबार
खेल

कर्णालीमा जुम्ला‐रारा अल्ट्रा म्याराथन हुने

आगामी वैशाख ११ गते कर्णालीमा चौथो पटक जुम्ला रारा अल्ट्रा म्याराथन २०८० हुने भएको छ।

जुम्लालाई उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यले जुम्लामा निरन्तर जुम्ला रारा अल्ट्रा म्याराथन हुँदै आइरहेको छ।

जुम्ला रारा अल्ट्रा म्याराथन कर्णाली स्पोट्स क्लबले आयोजना गर्न लागेको हो। क्लबले मंगलबार पत्रकार सम्मेलन आयोजन गरि म्याराथनका बारेका जानकारी गराउँदै सम्पूर्ण तयारी पुरा भएको बताएको छ।

कर्णाली स्पोट्स क्लबका अध्यक्ष सरोज शाहीले खेलकुदको महत्त्वबारे दर्शाउन र समग्र समाजमा खेल संस्कृतिको विकास गराउन म्याराथनको निकै ठुलो भूमिका हुनेमा जोड दिए। म्याराथनले कर्णालीको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनको अपेक्षा थियो।

'अल्ट्रा म्याराथन भनेको प्रकृतिका सबै पक्षहरूमा साहसिक अनुभव बटुल्ने बाटो हो। जुन आन्तरिक रुपमा आरामदायी हुन्छ,' विश्वकृतिमानी धावक हरि बहादुर रोकायाले भने, 'अल्ट्रा दौड्नेहरुले आफ्नो सीमा र समुदायको भावना खोज्छ।'

कर्णाली स्पोट्स क्लबका अनुसार ४९ किलोमिटरको म्याराथन हुनेछ। यसै गरि म्याराथनमा प्रथम हुनेले एक लाख, द्धितियले ७५ हजार ,तृतीयले ५० हजार, सान्त्वना र पाचौं हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउने क्लबले बताएको छ।

पाँच किलोमिटर विद्यार्थी छात्रछात्रा निःशुल्क तर्फ प्रथमलाई ५ हजार, द्धितियलाई ३ हजार र तृतीय हुनेलाई २ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। पाँच किलोमिटर खुला तर्फको प्रथमलाई ५ हजार, द्धितियलाई ३ हजार र तृतीयलाई २ हजार रुपैयाँ पुरस्कार दिइने कर्णाली स्पोट्स क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए।

यस्तै १० वर्षमुनिका बालबालिका निःशुल्क तर्फ प्रथमलाई ३ हजार, द्धितियलाई २ हजार र तृतीयलाई १ हजार रुपैयाँ पुरस्कार दिइनेछ।

म्याराथनको खर्च लगभग २२ लाख हुने अनुमान गरिएको छ। प्रतियोगितालाई व्यवस्थित तथा सफल बनाउन विभिन्न चार ठाउँहरूमा चेक पोईन्ट, विभिन्न उपसमिति तथा दौड हुने रुटका बजार तथा गाउँहरूमा खेलाडीहरुको स्वागत तथा सत्कारका लागी समूहहरू बनाएर तयारी भईरहेको छ।

जुम्लाको सदरमुकाम खलंगाको चन्दननाथ भैरवनाथको आँगन, खलंगा बजार, जुम्ला वाट सुरु भई मुगु ,रारा तालको हुटु छेउमा अन्त्य हुनेछ। विगतका तिन वटा प्रतियोगिताहरुमा ३ सय देखी ४ सयको हाराहारीमा जुम्ली, मुगाली मात्र नभएर विभिन्न १८ जिल्लाका साथै बेलायत, नेदरल्याण्ड, भारत, इटाली, अमेरिका वाट खेलाडीहरु सहभागी भएका थिए।

यस वर्ष करिब २ हजारको सहभागी गराउने लक्ष्य छ। यस प्रतियोगिताका विभिन्न विधाहरूमा गरि २८ जना धावकहरुलाई नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ। 

जिल्ला खेलकुद विकास समिति जुम्लाका अध्यक्ष धनकृष्ण पाण्डेले खेल क्षेत्रको विकासमा सरकार तथा विभिन्न संस्थाको सहयोगको खाँचो रहेको औँल्याएका छन्। कर्णाली स्पोट्स क्लब २०६४ साल देखि जिल्ला खेलकुद विकास समितिमा दर्ता भई जुम्लामा खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धनमा जोड दिँदै आएको छ। खेलकुदको विकास र सामाजिक तथा बालबालिकाको उत्थानका क्षेत्रमा काम गर्दै आइरहेको क्लबले जनाएको छ।

प्रकाशित: १४ चैत्र २०७९ १४:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App