coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

गण्डकी प्रदेश सरकारबाट क्रिकेट खेलाडी नगदसहित पुरस्कृत

गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्ने चार जना क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गरेको छ।

गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक सदस्य तथा १९ वर्ष मुनिको राष्ट्रिय टिमका तीन सदस्य गरी कुल चार जना क्रिकेट खेलाडीहरूलाई नगद ५०/५० हजारसहित सम्मान पत्र र खादा ओढाएर सम्मान गरेको हो।

सम्मानित हुनेमा आईसिसी लिग डिभिजन लिग टु खेलेर नेपाललाई आईसिसी वल्र्डकप २०२४ को क्वालिफाईङमा पुर्‍याउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी तथा १९ वर्ष मुनिको वल्र्डकपमा पुर्‍याउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अर्जुन कुमाल, दीपक डुम्रे र सुवास भण्डारी रहेका छन्।

सम्मानित केसी बागलुङ नगरपालिका वडा नम्बर–८ सिगानाका हुन् भने गुल्मीमा जन्मिएका कुमाल पोखरा महानगरपालिका वडा नम्बर–६ बैदाम, डुम्रे स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नम्बर–१४ मा जन्मी हाल गण्डकी प्रदेशकै नवलपुर जिल्ला बर्दघाट तथा भण्डारी बागलुङ जिल्ला काठेखोलाका हुन्।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम तमुलगायतले सम्मान गरेका थिए।

सम्मान कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले खेलाडीलाई हौसला दिँदै प्रोत्साहन गर्नका लागि नगदसहित सम्मान गरिएको बताए। नगद सम्मानलाई सुदामाको कनिकासँग तुलना गर्दै उनले भने, 'हामी यो कम रकम हो तर हौसला र प्रोत्साहनका लागि मात्र थोरै रकमले मात्रै भएपनि सम्मान गरेका हौं।’

उनले खेलाडीलाई सगरमाथा र लालीगुराँससँग तुलना गर्दै उनले भने, 'खेलाडी राष्ट्रका गहना होइनन्। गहना त टल्किन्छ र सुरक्षा गर्न लुकाएर राख्नुपर्ने हुन्छ। बरु खेलाडी त सम्पत्ति हो।’

सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम तमुले गण्डकीले क्रिकेटको नेतृत्व गर्न सक्ने हैसियत बनाउनुपर्ने बताए। त्यसका लागि प्रदेश सरकारले अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने तयारी स्वरूप योजना अगाडि बढाईरहेको उल्लेख गरे।

सम्मानित खेलाडी करण केसीले सम्मानले थप राम्रो खेल्ने हौसला मिलेको बताए। तर सम्मान मात्रैले नपुग्ने बताउँदै उनले भने, 'हामीले डोमेस्टिक क्रिकेटलाई थप माथि लैजानुपर्ने चुनौती छ, त्यसका लागि हाम्रोमा पूर्वाधार बनेको छैन। अभ्यास गर्न अझै पनि भारत जानुपर्ने बाध्यता छ। यसको अन्त्यका लागि क्रिकेट रंगशाला बनाइदिनुस्। तत्काललाई अहिले भइरहेकै रंगशालाको स्तरोन्नति गरिदिनुस्।’

क्रिकेट संघ गण्डकीका अध्यक्ष देवेन्द्रबहादुर प्रजूले क्रिकेटको विकासका लागि पोखरामा वैकल्पिक क्रिकेट रंगशाला आवश्यक रहेको बताए। अहिलेको रंगशालामा प्रतियोगिता भए वैकल्पिक क्रिकेट रंगशाला नहुँदा अभ्याससमेत गर्नसमेत नपाउने बाध्यता रहेको उल्लेख गरे।

प्रकाशित: १४ चैत्र २०७९ १४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App