१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

गुल्सनको सहरमा विजयोत्सव

एकै ओभरमा २० रन बनाई डकवर्थ लेविस पद्धतिबाट नेपाललाई विश्वकप छनोट क्रिकेट खेल्न सक्षम बनाएका गुल्सन झाको गृहसहर मलंगवामा विजयोत्सव मनाइएको छ। हरेक घरमा क्रिकेटर गुल्सनकै चर्चाले मलंगवामा खुसीको माहोल सिर्जना गरेको छ।

मलंगवा नगरपालिका-५ का पूर्व स्रोत व्यक्ति रामचन्द्र महतो कोइरीले सर्लाही सदरमुकाम मलंगवामा क्रिकेटर गुल्सन झाको चर्चा चोक, गल्ली, चिया पसल, पान दोकान, विद्यालय, क्याम्पस तथा बजार सबैतिर र सबै घरमा एउटा नायकको रूपमा रहेको बताएका छन्।

सर्लाहीका अधिकांश खेलप्रेमी, खेलाडी, खेलप्रशिक्षक, समाजसेवी, राजनीतिज्ञ, शिक्षक, प्राध्यापक, बुद्धिजीवी तथा व्यवसायीहरूले सामाजिक सन्जालमा क्रिकेटर गुल्सनको सफलतालाई उत्सवको रूपमा प्रस्तुत गरेका छन्। सबैतिर बधाई दिँदै विश्वकप छनोटमा नेपालको नाम चम्काउने शुभकामना पनि दिइरहेका छन्।

क्रिकेटर गुल्सनका बुबा अखिलेश झाले आफ्नो छोराले देशको शिर उँचो बनाउने काम गरेकोमा खुसी व्यक्त गर्दै देशका लागि उसले अझै धेरै गर्न बाँकी रहेको बताए। उनको चाहना छोरा गुल्सनले विश्वकपमा खेल्दै गरेको देख्ने छ।

क्रिकेटर गुल्सनकी आमा अन्जु झाले बच्चादेखि नै निकै अनुशासित रहेकाले छोराले चाहेको क्षेत्र क्रिकेटमा पठाइएको बताएकी छन्। अञ्जुले छोरा गुल्सनले क्रिकेट सिकोस् सँगसँगै पढोस् भनेर उसको चाहनाअनुरूप भारतीय क्रिकेटका तत्कालीन कप्तान महेन्द्रसिंह धोनीको सहर राँची पठाउँदा सफलता मिलेको बताएकी छन्।

राँचीमा रहँदा गुल्सनले निकै राम्रो प्रदर्शन गरेको र धेरै पटक त्यहाँ नै पुरस्कृत तथा सम्मानित भइसकेको मातापिता सुनाउँछन्। राँचीमा गुल्सनले जितेका पदकहरू मलंगवास्थित घरमा अझै पनि छन्।

उनीहरूले गुल्सनलाई राँचीस्थित अरूणोदय क्रिकेट एकेडेमीमा राखेर पढाउनुका साथै क्रिकेटको प्रशिक्षण दिलाएको बताएका छन्। भारतीय क्रिकेटका प्रशिक्षक अरूण विद्यार्थीले गुल्सनको प्रतिभाको प्रशंसा गरेका थिए। कोरोना महामारीको पहिलो लहरमा घर फिर्ता भएका गुल्सनले त्यसपछि घरेलु मैदानमा खेल्न सुरु गरेका हुन्।

नेपाली मैदानमा कसरी चम्के गुल्सन?

मलंगवास्थित घरेलु मैदानमा करिब तीन वर्षअगाडि क्रिकेट खेल्दा राम्रो प्रदर्शन गरेको देखेपछि सर्लाही क्रिकेट संघका अध्यक्ष एवम् क्यानका केन्द्रीय सदस्य माधव कर्माचार्यले उनलाई बारामा जारी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराएका थिए। खेलाडी तथा दर्शकबाट राम्रो प्रशंसा पाए पनि उनी प्रदेश छनोटमा पर्न सकेनन्।

प्रदेशले गुल्सनमाथि अन्याय गरेको कर्माचार्यलाई लागेपछि उनकै पहलमा नेपाल पुलिस क्लबमार्फत २०७७ फागुन २२ देखि २९ गतेसम्म काठमाडौमा आयोजित काठमाडौँ मेयर्स कपमा गुल्सनले सहभागिता जनाउने अवसर पाए।

काठमाडाैंको डेब्यु खेलमै ४ विकेट लिँदै २६ रन बनाएर उनले नेपाल पुलिस क्लबलाई जित दिलाएका थिए। नेपाल पुलिस क्लबले एपिएफविरुद्ध गुल्सनको बलिङ र व्याटिङका कारण पनि जित निकालेपछि उनको चर्चा एकैचोटि देशव्यापी हुन पुगेको थियो।

एपिएफविरुद्ध नेपाल पुलिसलाई जित दिलाएपछि गुल्सन नेपालको अन्डर नाइन्टिन क्रिकेट टोलीमा निरन्तर समावेश रहे।

कोइलाको खानीबाट हीरा निकालेका प्रशिक्षक माधव कर्माचार्य भन्दछन्, ‘मैले आफ्नो रिस्कमा गुल्सनलाई नेपाल पुलिस क्लबबाट खेलाएको थिएँ। डेब्यु खेलमा नै उनले धेरै राम्रो प्रदर्शन गरेर मेरो शिर उच्च पारे।’  

प्रकाशित: ४ चैत्र २०७९ ०३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App