२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

खुमलटारलाई हराउँदै सातदोबाटो शीर्षमा

खुमलटार फुटबल क्लबलाई २–१ ले पराजित गर्दै सातदोबाटो युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिँदा संकटा क्लब हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिएको छ।

च्यासल मैदानमा अन्तिम १३ मिनेट १० खेलाडीमा समेटिएको सातदोबाटो यससँगै जारी लिगमा अपराजित यात्रा पाँचाैं खेलमा पनि पुर्‍याउन सफल भएको छ। उता खुमलटार एएफसीले भने तेस्रो हार बेहोरेको छ। सातदोबाटोको जितमा सादोर्बक माट्मुराटोभ र दीपकराज सिंह ठकुरीले गोल गरे। दुवै गोल पहिलो हाफमा भएका थिए। खुमलटारका लागि एक मात्र गोल राजीव लोप्चनले दोस्रो हाफमा गरेका थिए।

खेल सुरु भएको १३ मिनेटमै विलियम ओपोकु एसियदुको क्रसमा माट्मुराटोभले सुन्दर हेडेड गोल गरेपछि सातदोबाटोले अग्रता लिएको थियो। त्यसको १२ मिनेटपछि सातदोबाटोले अग्रता दोब्बर बनाएको थियो। दीपकले अब्दुल लतिफको क्रसमा आकर्षक गोल गरेका थिए। दोस्रो हाफको ६४औं मिनेटमा मेसोकेको क्रसमा बिनोङको हेडर पोस्टमा ठोक्किएको थियो। रिबाउन्ड बललाई राजीवले गोलमा परिणत गरेका थिए। त्यसपछिको बाँकी समयमा दुवै टोलीले केही राम्रा अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्। जितसँगै सातदोबाटोले पाँच खेलमा १२ अंक जोडेको छ भने समान खेलबाट खुमलटारको ६ अंक छ।

लिगअन्तर्गत बिहीबार एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा संकटा हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकियो। राष्ट्रिय टोलीका खेलाडी रहेको संकटाले हिमालयन शेर्पालाई सुरुआतबाट नै दबाब दिएर अंकका लागि खेलेको थियो। सो क्रममा २६औं मिनेटमा आयुष घलानको प्रयास विफल भएको थियो। ३५औं मिनेटमा सुनील श्रेष्ठको पासमा नेल्सनको प्रहार सीधै हिमालयनका गोलकिपर विवश चौधरीले बचाउँदा संकटाको अर्को अवसर खेर गएको थियो।

दोस्रो हाफ सुरु भएको तीन मिनेटमै संकटाका आयुष घलानले गोल गोल गरे पनि मान्यता पाएन। रेफ्रीले उक्त गोललाई अफसाइडको जनाउ दिएका थिए। खेल सकिन नौ मिनेट बाँकी रहँदा संकटाका रोशन पहाडीले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार पनि सीधै गोलकिपर विवशको हातमा पुगेको थियोे। हिमालयन शेर्पाको पनि खेलबाट स्पष्ट अंक लिने प्रयास विफल भयो। यस बराबरीसँगै पाँच खेलमा ६ अंक जोडेको संकटा सातौं स्थानमा रहँदा हिमालयन शेर्पा समान खेलबाट पाँच अंकका साथ १०औं स्थानमा छ।

लिगमा शुक्रबार पनि दुई खेल हुनेछन्। थ्री स्टार र जावलाखेल युथ क्लब बीच एन्फा मुख्यालयमा प्रतिस्पर्धा हुँदा चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्रबीच च्यासल मैदानमा खेल हुनेछ। दुवै खेल साढे २ बजेबाट हुनेछन्। 

प्रकाशित: ३ चैत्र २०७९ ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App