आठौं संस्करणको नेपाल–पाकिस्तान मैत्रीपूर्ण ट्वान्टी–२० क्रिकेट प्रतियोगिता शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ।
पाकिस्तानी राजदूतावासको आयोजनामा हुँदै आएको प्रतियोगिताको पूर्वउपप्रधानमन्त्री सिपी मैनाली र नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष विनयराज पाण्डेले संयुक्त उद्घाटन गरे। उद्घाटन खेलपछि विनयराज पाण्डेले प्रतियोगिताबाट उदीयमान खेलाडीले अवसर पाउने बताए। प्रतियोगिताले दुई देशबीच सम्बन्ध सुधार मात्र नभई खेल क्षेत्रमा टेवा पुगेको उनले प्रतिक्रिया दिए।
दूतावासले युवालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले प्रत्येक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगितामा १२ क्लबको सहभागिता रहेको छ। प्रतियोगितामा सहभागी १२ टोलीलाई चार पोलमा विभाजन गरिएको छ। जसमा प्रत्येक पोलमा ३ टोली रहनेछन्।
पोल ‘ए’ मा पाकिस्तानी दूतावास, एचके क्रिकेट क्लब, लायन क्रिकेट क्लब, पोल ‘बी’मा स्टार क्रिकेट क्लब, बल पार्क एकेडेमी र बालुवाटार क्रिकेट एकेडेमी छन्। त्यस्तै पोल ‘सी’ मा आरएस विद्यापीठ एकेडेमी, इन्स्टिच्युट अफ इन्जिनियरिङ, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर तथा पोल ‘डी’ मा वाइवाई जिसिएचए, प्याट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टर र नेक्सस क्रिकेट एकेडेमी छन्। लिग चरणको समाप्तिपछि प्रत्येक समूहको शीर्ष स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। पाकिस्तानी दूतावास र एचके क्रिकेट क्लबबीच उद्घाटन खेल सम्पन्न भयो।
प्रकाशित: २७ फाल्गुन २०७९ ०३:०४ शनिबार