४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

आशिषको गोलमा चर्च ब्वाइजलाई सफलता

आशिष चौधरीको निर्णायक गोलमा शुक्रबार चर्च ब्वाइज युनाइटेडले राजधानीमा जारी सहिद स्मारक ‘ए’डिभिजन लिगमा लगातार तेस्रो जित निकाल्दा शुक्रबारकै अर्को खेलमा थ्री स्टारले खुमलटार युथ क्लबलाई २–० ले स्तब्ध बनाएको छ।  

त्रिपुरेश्वरस्थित दशरथ रंशालामा भएको खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई हराउँदै आफ्नो अपराजित यात्रालाई तेस्रो खेलसम्म पनि निरन्तरता दिएको हो। स्पष्ट ३ अंक बटुल्ने क्रममा आशिषले २१औं मिनेटमा गरेको गोल नै पर्याप्त भयो। आशिषको लिगमा यो नै डेब्यु गोल हो।

सुरुआती खेल प्रतिस्पर्धात्मक बन्दा दुवै टोलीले केही राम्रा अवसर बनाएका थिए। तर दुवै टोलीका अग्र्रपंक्ति अवसर खेर फाल्न पुगे। दोस्रो हाफमा हिमालयन शेर्पाले खेलमा फर्किन निकै प्रयास गरे पनि सफल हुन सकेन र अंक सुम्पिन बाध्य भयो। खेलमा आशिष चौधरीले प्लेयर अफ दी म्याच घोषित हुँदै नगद १० हजार रूपैयाँ प्राप्त गरे।  

यस जितसँगै चर्च ब्वाइजले ३ खेलबाट ९ बनाउँदै शीर्षता कायमै राखेको छ। यस्तै हिमालयन शेर्पाले भने जारी लिगमा पहिलो हार भोगेको छ। तीन खेलबाट चार अंक बनाएको हिमालयन तालिकाको सातौं स्थानमा छ।  

शुक्रबारै ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा थ्री स्टारले खुमलटार युथ क्लबलाई २–० ले पराजित गर्दै जारी लिगमा पहिलो जित निकालेको हो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा थ्री स्टारले दोस्रो हाफमा मात्र गोल निकाल्न सफल भएको थियो। थ्री स्टारको जितमा अजयी मार्टिन्सले नै दुई गोल गरेका हुन्।

पहिलो हाफमा पनि थ्री स्टारले खुमलटारमाथि दबाब दिएर खेले पनि स्कोर गर्न भने असफल भयो। दोस्रो हाफमा थप आक्रामक देखिएको थ्री स्टारका लागि ५४औं मिनेटमा मार्टिन्सले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ८३औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गर्दै थ्री स्टारलाई २–० को जित निश्चित गरेका थिए। यससँगै थ्री स्टारले आफूले खेलेको लिगको तेस्रो खेलमा पहिलो स्पष्ट जित निकाल्न सफल भएको हो। जितसँगै थ्री स्टारले ३ खेलमा ४ अंक जोडेको छ। यसै सिजन बढुवा भएको खुमलटारले भने दोस्रो हार भोगेको छ। खुमलटारले ३ खेलमा ३ अंक जोडेको छ।

प्रकाशित: २७ फाल्गुन २०७९ ०३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App